कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

उपमहानगरमै छैन मोबाइल नेटवर्क

सुनसरी — धरान उपमहानगरका कतिपय क्षेत्रमा नेपाल टेलिकमको नेटर्वकले काम गर्दैन । लापर्बाहीका कारण यस्तो समस्या भोग्नुपरेको भन्दै सेवाग्राहीहरूले सेवा सुधार्न माग गरेका छन् ।

उपमहानगरमै छैन मोबाइल नेटवर्क

धरानकै अग्लो डाँडा विजयपुर क्षेत्रमा टेलिकमको नेटवर्कले काम नगरेको धरानमा मोबाइल सेवा सञ्चालनमा आएदेखि नै हो । विजयपुर क्षेत्रका टेलिकमका सेवाग्राहीहरू ५ हजारभन्दा बढी छन् । विजयपुर क्षेत्र भौगोलिक बनावट उच्च ठाउँमा छ । मोबाइल फोन नलाग्ने समस्याले विजयपुरवासी हैरान छन् ।

टेलिकमको टावर नभएर मोबाइल नेटवर्कले काम नगरेको होइन, विजयपुरको विजयपुर चौकमा नेपाल टेलिकमले उपभोक्ताका लागि टावर राखेको छ । तर उक्त टावर प्रभावकारी नभएकाले नेटवर्क कमजोर भएको ठम्याइ स्थानीय सेवाग्राहीहरूको छ ।

उपभोक्ताबाट फोन बीचैमा काटिए पनि पैसा लिने टेलिकमले सेवा सुधार्न पहल नगरेको विजयपुर मण्डप चोकका हरिनारायण बाँस्कोटाले बताए । उनका अनुसार टेलिकमको कमजोर फ्रिक्वेन्सीका कारण मोबाइल चलाउन आसपासका अग्लो ठाउँ खोज्दै फोन गर्नुपर्छ । उनले भने, ‘विजयपुरमा मोबाइलमा कुरा गर्न चाहेको बेला फोन नलाग्नु र फोन गर्दा फोन नजाने र नो नेटवर्क कभरेज जस्ता म्यासेज आउनु सामान्य हुन थालेको छ ।’

पूर्वकै प्रसिद्ध धार्मिक मठमन्दिरहरू बुढासुव्वा, दन्तकाली, पिण्डेश्वर बाबाधाम, विजयपुर दरवारलगायत रहेको क्षेत्रमा मोबाइल राम्रो नचल्दा विजयपुरवासी मात्रै होइन टाढा टाढाबाट घुम्न आउने धार्मिक पर्यटकहरूलाई समेत समस्या हुने गरेको उनले बताए ।

टावर राखिएको विजयपुर चोक आसपासमा मात्र मोबाइल सेवा राम्रो चल्ने गरेको छ । विजयपुरको डाँडागाउँ, दन्तकाली लाइन, मण्डप चौक, पिण्डेश्वर मन्दिर परिसर र बुढासुव्बा मन्दिर क्षेत्रमा मोबाइल सेवा प्रभावकारी छैन । बास्कोटाले मोबाइल नेटवर्क प्रभावकारी नभएकाले ल्यान्डलाइन टेलिफोनको भर पर्नु परेको बताए । जतिसुकै महँगो मोबाइल बोके पनि बोल्नका लागि घरमा राखिएको ल्यान्डलाइन टेलिफोन डायल गर्नै पर्ने अवस्था रहेको उनले बताए ।

मोबाइलको नेटवर्क प्रभावकारी बनाउन सेवाग्राहीहरूले पटकपटक नेपाल टेलिकमसँग माग गरे पनि सुनुवाइ नभएको अर्का सेवाग्राही सागर सुवेदीले बताए । उनले भने, ‘विजयपुर क्षेत्रमा टेलिकमको नेटवर्क प्रभावकारी बनाउनका लागि हामीले टेलिकम र नेतालाई जानकारी गराइयो तर समाधानको पहल गरिदिएनन् ।

विजयपुर बस्ने काशीनाथ पौडेलले दन्दकाली मन्दिरको दक्षिणी क्षेत्रमा मोबाइल नेटवकले कामै नगर्ने समस्या रहेकाले मोबाइल नै बोक्न छाडेको बताए । उनले भने, ‘यसो काम परेको बेला कसैलाई फोन गर्नुपर्‍यो भने मोबाइल लाग्ने ठाउँ खोज्दै घर बाहिर जानुपर्ने अवस्था छ । बल्ल तल्ल नेटवर्क आउँछ बीचैमा काटिन्छ । बोलेको नसुनिने, सुनिदा पनि एकतर्फी मात्रै वबेलेको सुनिने दोहोरो कुराकानी नहुने समस्याले आजित भएको वर्षाैं भएको उनले बताए ।

पछिल्लो समयमा विजयपुरमा मोबाइल सेवालाई प्रभावकारी वनाउन टोल विकासमार्फत वडा कार्यालयलाई समेत निवेदन दिएको सागरमणी सुवेदीले बताए । धरानस्थित नेपाल टेलिकमका प्रमुख सन्जिव घिमिरेले विजयपुर धार्मिक पर्यटकीय केन्द्र भएकाले उक्त क्षेत्रमा नेपाल टेलिकमको जुनसुकै सेवा प्रभावकारी बनाउन आफूहरू लागि परेको बताए ।

उनले भने, ‘विजयपुरमा नेटवर्कको समस्या समाधानका लागि सर्भे गर्न विराटनगरस्थित टेलिकम पूर्वाञ्चल क्षेत्रिय कार्यालयसँग कुरा गर्ने र मोबाइल फोन नलाग्ने ठाउँलाई लक्षित गरेर मोबाइलको टावर राख्ने पहल गर्ने छौं ।’ यसैगरी धरान–इटहरी सडक खण्डअन्तर्गत पर्ने चारकोसे जंगलमा पनि मोबाइल नलाग्ने समस्या रहेकोले उक्त क्षेत्रमा केही दिनमै टावर राखेर मोबाइल सेवा प्रभावकारी बनाउने बताए ।

विराटनगरस्थित टेलिकमको पूर्वाञ्चल क्षेत्रीय कार्यालयका निर्देशक अमरनाथ झाले विजयपुर र चारकोशे जंगलमा टावर राख्न सर्वेका लागि प्राविधिक पठाउने बताए । उनले भने, ‘प्रमुख झाले अर्काे सातासम्ममा विजयपुरमा पनि प्राविधिक पठाएर सर्भे गर्ने छौं । सर्भे गरेपछि विजयपुरमा मोबाइल नेटवर्कको समस्याको समाधान हुनेछ ।’

प्रकाशित : असार २७, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?