१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बन्दाले मनग्य आम्दानी

धनकुटा — बिहान ओछ्यानबाट उठेदेखि साँझसम्म उनको दैनिकी तरकारी बालिको स्याहारसुसारमा नै बित्ने गर्छ । उनले लगाएको तरकारी बालि नियाल्दा नलोभिने शायदै होलान् । झन्डै २ हजार मीटर उचाइको लेकाली भागमा रहेको तरकारी बालिले उनलाई मनग्य आम्दानी समेत दिने गरेको छ ।

बन्दाले मनग्य आम्दानी

धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकाको संगमस्थल गुराँसे नजिक बस्दै आएकी टिका सारुले १५ रोपनी जग्गामा तरकारी खेति गर्दै आएकी छिन् । पति बिदेशिएको वर्षौ भयो । तर सारुले आफ्नै प्रयासमा गर्दै आएको तरकारी खेतिबाट वर्षको झन्डै ६ लाख रुपैयाँ आम्दानी हुने गरेको छ । यति बेला अगौटे बन्दा कोपी बाली उनको घरबाट नियाल्दा रमणिय देखिन्छ ।

गत वैशाखमा रोपेको बन्दा यति बेला बिक्री गर्ने अवस्थामा पुगिसकेको छ । पति टेकबहादुर वैदेशिक रोजगारको सिलसिलामा विदेशिएको ६ वर्ष बित्यो । उनको एक्लो प्रयासबाट मनग्य आम्दानी मिल्ने गरेको छ । गाउँमा पर्म लाउने चलन छ । त्यसैको भरमा छिमेकीलाई पर्म लगाउने र छिमेकीले पर्म तिर्ने गरेपछि तरकारी खेतिको काम पनि सहज बन्दै गएको उनले बताइन् ।

एकपटक तरकारीको बिरुवा रोप्दा अधिकांश पर्म लगाउने खेताला आउने गरेका छन् । तर पर्मबाहेकको खेताला लाउँदा खर्चिलो हुने गरेको छन् । प्रतिदिन ३ सय रुपैयाँका दरले खेताला लाउने गरेको सारुले बताइन् ।

साउनमा अगौटे बालिको रुपमा रहेको बन्दा बिक्री गरिसकेपछि लगत्तै पछौटे बन्दा फलाउन उनी जुटिहाल्ने बताउँछिन् । यसैगरी केही जमिनमा आलु तथा मटर कोसासमेत रोप्ने गरेकी छिन् । वर्षैभरी आलोपालो गर्दै तरकारी उत्पादन गरी बिक्रि गर्दा सन्तुष्टि मिल्ने गरेको सुनाइन् ।

‘मलाई बारीमा तरकारीमा मल बिउ, गोडमेल गर्दागर्दै दिन बितेको समेत पत्तो हुँदैन’, उनले भनिन्, ‘स्याहार पनि धेरै गर्नैपर्छ, तर आम्दानी पनि सन्तोषजनक नै छ ।’ उत्पादन गरेको तरकारी बिक्री गर्न पसिना चुहाएर बजार लैजानु पनि पर्दैन । घरैमा तँछाडमछाड गर्दै खरिदेहरू आउने उनले सुनाइन् । भनेजस्तै भाउ मिल्दा आम्दानी राम्रै हात लाग्ने उनको अनुभव छ ।

आफूले उत्पादन गर्ने तरकारीमा अन्य विषादीभन्दा कुखुराको मललाई प्राथमिकतामा राखेको उनले बताइन् । तरकारी खेतिको आम्दानीबाटै २ छोराको विद्यालयको पढाइखर्च र खान लाउन खर्चेर पनि मनग्य बचत हुने गरेपछि सारु दंग छिन् । जेठो छोरा सनम १० र कान्छो छोरा निरज ८ कक्षामा अध्ययनरत छन् । जम्मा २० रोपनीमध्ये १५ मा तरकारी खेती र ५ रोपनीमा उत्तिसको बन लगाएकी सारु अग्रणी कृषकको रुपमा परिचित बन्दै गएकी छन् ।

अघिल्लो वर्ष भने जस्तो भाउ नपाएपछि निकै चिन्तित रहे पनि मेहेनत खास खेर नगएको उनको भनाइ छ । तर प्रतिकेजी ३ रुपैयाँमा बन्दा बिक्री गर्नु पर्दा उनीलगायत त्यस क्षेत्रका कृषकले आत्तिएको बताए । उनका छिमेकी पहलमान सारु, एकबहादुर सारुलगायतले पनि तरकारी खेतीबाटै मनग्य आम्दानी गरेका छन् ।

प्रकाशित : असार २८, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?