पाथीभरा पैदलमार्ग अन्तिम चरणमा

आनन्द गौतम

ताप्लेजुङ — वार्षिक दुई लाख बढीले यात्रा गर्ने पाथीभराको पैदलमार्ग स्तरोन्नतिको काम अब छ सय मिटर मात्रै बाँकी छ । पाथीभरा क्षेत्र विकास समितिले यो आर्थिक वर्षमा छ सय ६५ मिटर निर्माण गरेको हो ।

पाथीभरा पैदलमार्ग अन्तिम चरणमा

ठाडो उकालो बाटोलाई ढुंगा सोलिङ गरेर तेर्सो र हिँड्न सहज बनाइएको छ । वृद्धवृद्धा र बालबालिकालाई हिँड्न असहज भएकाले सिंढी नबनाई तेर्सो बनाइएको पाथीभरा क्षेत्र विकास समितिका सदस्य गोपाल न्यौपानेले बताए ।

न्यौपानेका अनुसार आगामी आर्थीक वर्षमा बाँकी पैदलमार्ग निर्माणको काम सम्पन्न हुनेछ । त्यसका लागि वार्षिक कार्यक्रममा बजेट व्यवस्था गरिएको उनले बताए । अबको मार्गमा ढुंगा कम पाइने र उच्च क्षेत्र पनि भएकाले यति नै बजेटमा सक्न भने कठिन हुने ठेकदारले बताएका छन् ।

क्षेत्र विकास समितिले भक्तजनालाई प्रतक्ष लाभ हुने गरी गरेको या उदाहरणीय कार्य हो । पैदलमार्ग तीन मिटर चौडाइको छ । दुईतर्फबाट ओहोरदोहोरमा सहज होस् भन्ने उद्धेश्यले चौडाइ फराकिलो बनाइएको समितिका अध्यक्ष पुष्प बडुवालले बताए । क्षेत्र विकासले भालुगौंडेमा सार्वजनिक शौचालय पनि निर्माण गरेको छ ।

पुरुषका लागि दुई र महिलाका लागि दुई गरी चारवटा कोठा हुने गरीको शौचालय निर्माण गरेको हो । कम्तीमा दुई हजार लिटरको ट्यांकी राखेर नियमित पानी आपूर्ति गर्ने शौचालय व्यवस्थित सञ्चालन गर्ने योजनामा समिति छ । यहाँसम्म मोटरबाटो पुगेको छ ।

सार्वजनिक शौचालय नहुँदा यहाँ पुगेका यात्रुले कि त होटलमा चिया पिउन पस्नुपर्ने कि त जंगलतिर दौडनुपर्ने बाध्यता थियो । होटलको शौचालय प्रयोग गर्न अप्ठेरो हुने भएकाले चियाखाजा खाने गरी पस्नुपर्ने बाध्यता रहेको र यसले यात्रुलाई लाख पुर्‍याउने झापा चारपानेबाट आएका तीर्थयात्री महेन्द्र सिग्देलले बताए ।

मोटरबाटोबाट ओर्लिएर पाथीभरासम्मको पैदलमार्ग पाँच किलोमिटर छ । यसअघि नेपाली सेनाले काफ्लेपार्टीदेखि ४ सय ५० मिटर निर्माण गरेको थियो । पाथीभरा संरक्षण समितिसँगको सहकार्यमा निर्माण गरेको हो । पर्यटनबोर्डले बनाएको सडक भने सिंडी बनाएकाले कठिनको भएको छ । अहिले बनाइएको मार्गले कम्तीमा १५ वर्ष टिक्ने न्यौपानेको दाबी छ ।

प्रकाशित : असार २८, २०७५ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?