१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

डीएसपीले ‘वाकिटाकी’ प्रहार गर्दा महिला घाइते

पर्वत पोर्तेल

काँकडभिट्टा — इलाका प्रहरी कार्यालयका डीएसपी टंक भट्टराईको कुटपिटबाट झापा मेचीनगर-६ की एक महिला घाइते भएकी छन् । डीएसपीले ‘वाकिटाकी’प्रहार गर्दा स्थानीय लक्ष्मी आचार्य मिश्रको टाउकोमा  चोट लागेको हो । 

डीएसपीले ‘वाकिटाकी’ प्रहार गर्दा महिला घाइते

‘घरमा आएर लछारपछार गर्दै टाउकोमा हिर्काए’, लक्ष्मीले कान्तिपुरसँग भनिन्,‘बिना कारण प्रहरीको कुटपिटबाट घाइते हुन परेँ ।’


बिहीवार राति स्थानीय कमला ठाकुर र लाइमा वेगमबीच सामान्य विवादपछि गम्भीर रुप लिएको थियो । लाइमामाथि कमलाका छोरा राहुललगायतले आक्रमण गरी घाइते बनाएका थिए । उनको विर्तामोडस्थित एक अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनापछि लक्ष्मीका पति रविन्द्र मिश्रले प्रहरी गुहारेका थिए । प्रहरी समयमा नआएको भन्दै फोनबाट आक्रोश व्यक्त गरेपछि डीएसपीकै नेतृत्वमा आएको टोली लक्ष्मीमाथि जाइलागेको थियो । ‘फोन गर्ने मान्छे खोइ ? भन्ने घरमा छिरे’, लक्ष्मीले दुखेसो पोखिन्,‘श्रीमान्‌लाई नभेटेपछि मलाई लछारपछार पार्दै कुटपिट गरियो ।’


लक्ष्मी स्थानीय मनिषा मेडिकलमा उपचार पछि घर फर्किएकी छन् । ‘टाउको दुखी रहेको छ सिटी स्क्यान गर्न पाएकी छैन’, लक्ष्मीले भनिन् ।


कुटपिट घटनापछि स्थानीय राजनीतिक दलका कार्यकर्ताहरु र पीति परिवारबीचको छलफलमा प्रहरीले घटना कसैलाई नसुनाउन र मिल्न दबाब दिएको थियो । डीएसपी भट्टराईले गल्ती स्वीकारेको लक्ष्मीका पति रविन्द्रले बताए । ‘प्रहरीबाट ज्यादती भएकै थियो’, रविन्द्रले भने,‘दबाबमा मिल्नुपऱ्यो ।’


प्रकाशित : असार २९, २०७५ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?