२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

छथर ‘ग्रिन’ गाउँपालिका बन्दै

शुक्रवारे (तेह्रथुम) — छथर गाउँपालिकालाई जिल्लामै पहिलो हरित (ग्रिन) गाउँपालिका बनाउने अभियान सुरु गरिएको छ । गाउँपालिका केन्द्र शुक्रबारे बजारबाट यो सुरु गरिएको हो । बजार क्षेत्रलाई सफा र सुन्दर बनाएर व्यवस्थित सहर निर्माण गर्ने अभियानस्वरूप काम अगाडि बढाइएको गाउँपालिका अध्यक्ष सन्तविर लिम्बूले बताए ।

छथर ‘ग्रिन’ गाउँपालिका बन्दै

त्यसका लागि बजार क्षेत्रका सबै घरमा निलो रङले रंग्गाउने काम भइरहेको छ ।

अब गाउँपालिका केन्द्र शुक्रबारे बजारमा रहेका सवै घर, छाना र बार्दलीको समेत रङ एकै प्रकारको हुनेछ । गाउँपालिकाले निलो रङ छनौट गरी घरधनीलाई लगाउन दिएको छ । बजार क्षेत्रका घरधनीलाई पहिलोपटक सहयोगस्वरूप रङ खरिद गर्न ५ लाख अनुदान दिएको गाउँपालिका अध्यक्ष लिम्बूले बताए । यो रकमबाट बजार क्षेत्रका करिब ३ सय घर रंग्गाउने योजना छ ।

बजार क्षेत्रका अधिकांश घरको जग्गाधनी प्रमाण पुर्जा छैन । यो बजार लामो समयदेखि अव्यवस्थित छ । अव्यवस्थित बजारलाई व्यवस्थित बनाएर प्रत्येक घरधनीलाई करको दायरामा ल्याउन पहिलोपटक गाउँपालिकाले नै बजारवासीलाई रङ खरिद गर्न अनुदान दिएर सहयोग गरेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।

‘आगामी आवदेखि सवै बजारवासीलाई करको दायरामा ल्याउने हो,’ प्रवक्ता नेपालीले भने, ‘त्यसका लागि बजार क्षेत्रका घरधनीलाई गाउँपालिकाले थोरै भए पनि सहयोग गरेको हो ।’ आगामी साउन १ गतेदेखि बजार क्षेत्रका सवै घरको रङ एकै प्रकारको हुनेछ । ५० बढी घरमा चालु आवमै निलो रङ लगाउने काम सम्पन्न भएको बजार व्यवस्थापन समिति सचिव धामबहादुर कार्कीले बताए ।

आगामी आवदेखि गाउँपालिकाले तोकिदिएको रङ नलगाउने घरधनीलाई कारबाही गरी जरिवाना समेत असुल गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकाभित्रका सवै घरको छाना र रङ एकै प्रकारको भएपछि बाहिरबाट हेर्दा सुन्दर र आकर्षक देखिनुका साथै घरकै कारण धनी र गरिबजस्तो समेत नदेखिने गाउँपालिकाको भनाइ छ ।


निलो रङको छाना र घरको रङ समेत लगाउने काम सम्पन्न भएपछि बजार क्षेत्रका दुवैतर्फ वर्षभरि नै हरियो रहने जातका बिरुवा र फूल रोप्ने तयारी भइरहेको प्रवक्ता नेपालीले बताए । गाउँपालिकाले बजार क्षेत्रका विपन्न घरधनी छनोट गरी रङ खरिद गर्न अनुदान उपलव्ध गराएको जनाएको छ ।


पहिलो चरणमा बजार क्षेत्रमा यो काम सम्पन्न भएपछि ग्रामीण क्षेत्रका घर र छानाको रङ यस्तै बनाउने योजना गाउँपालिकाको छ । आगामी आवदेखि ग्रामीण क्षेत्रमा यस्तै प्रकृतिको लगानी केन्द्रित गरिने अध्यक्ष लिम्बूले बताए । गाउँपालिकाभित्र रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्थाका भवनको छाना र घर अगाडिको रङ पनि निलो नै बनाउने गरी काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : असार ३१, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?