विदेशको सीपले ‘पिज्जा घर’

विर्तामोड — झापा मेचीनगरका यामकुमार खरेलले जीवनको करिब ६ वर्ष खाडीको सस्तो श्रममा व्यतीत गरे । दुई वर्षअघि घर फर्किए । विदेशमा सिकेको सीपलाई आफ्नो ठाउँमा कसरी लागू गर्ने भन्ने सोच्दासोच्दै अरू दुई वर्ष बित्यो ।

विदेशको सीपले ‘पिज्जा घर’

वर्ष दिनअघि मसला उत्पादन गर्ने सोचका साथ व्यवसाय सुर गरे । तर, सोचेजस्तो नभएपछि विकल्प खोजे । अन्तत: यिनले नाताले ज्वाइँ गर्ने युवा व्यवसायी ३३ वर्षीय यामकुमार ढुंगानासँगको साझेदारीमा पिज्जा घर सञ्चालन सुरु गरे ।

पिज्जा घर पूर्वका पिज्जा पारखीका लागि नौलो हो । राजधानी र भारतीय सहरहरूमा पिज्जाको व्यवसाय मज्जाले फष्टाएकै छ । तर, पूर्व र खासगरी झापामा यो बिलकुल नयाँ हो । बढदो सहरीकरण र आधुनिकतासँगै फास्टफुट पारखीहरूको मुख्य खान्कीमध्ये पर्छ पिज्जा । यसका पारखी बढिरहेका छन् । त्यसैलाई मध्यनजर गर्दै यी दुई तन्नेरीले पिज्जा व्यवसायमा हात हाले ।

‘झापामा पिज्जाको बजार बुझेरै लगानी गरेका हाैं’, याम खरेल भन्छन्, ‘झापामा फास्ट फुडको सबै आइटम थियो तर पिज्जा थिएन, त्यसैले यो व्यवसाय चल्छ भन्ने लाग्यो लगानी गरियो ।’ हुन त यामले विदेशवाट फर्किने वित्तिकै झापामा पिज्जाको सम्भावना देखेका थिए । तर, उनलाई लगानी गरिहाल्ने आँट थिएन । याम ढुंगानाले आँट दिए ।

सीमा सहर झापामा पिज्जाका पारखीहरू भारतीय सहर सिलिगुडी, वागडोग्रासम्म पुगेर पिज्जाको स्वाद चाख्दै आएका थिए । ती पारखीलाई लक्षित गरी उनीहरूले बिर्तामोडको शनिश्चरे रोडमा पिज्जा घर सञ्चालनमा ल्याएका हुन् । ‘सिलिगुडीका सिटी सेन्टरमा पिज्जाका नेपाली पारखीहरूको भीड देखेपछि झापामा यो चाहिन्छ भन्ने लागेको हो’, सञ्चालक याम ढुंगाना भन्छन्, ‘पिज्जाका लागि मात्रै मासिक हजारांै रुपैयाँ बाहिरिरहेको छ ।’

सञ्चालक ढुंगानाका अनुसार पिज्जा घरका लागि करिब ६० लाख रुपैयाँ लगानी गरिएको छ । यहाँ करिब १० जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन् । पिज्जा, बर्गर, सेन्डविच आदि १४ प्रकारका भेज ननभेज आइटम यहाँ बन्छ । न्यूनतम २ सय ९० देखि ५ सय १५ रुपैयाँसम्मका अन्तर्राष्ट्रिय स्वाद र गुणस्तरका पिज्जाहरू पाइन्छ ।

लामो समय भारतको बैंगलोरमा काम गरेर फर्किएका आदित्य भट्टराई र कमल निरौलाले किचनको कमान्ड सम्हालेका छन् । ‘अमेरिका, युरोपको स्ट्यान्डरमा पिज्जा बन्छ’, निरौलाले सुनाए । नेपालमा पिज्जालाई खाजाका रूपमा खाने चलन बढेको छ । ‘यसलाई लन्च वा डिनरका रूपमा पनि खान सकिन्छ भन्ने कुरा स्थापित गर्नु हाम्रो उद्देश्य हो’, सञ्चालक खरेलले भने, ‘इटालीबाट सुरु भएको पिज्जा एउटा कम्प्लिट खाना पनि हो ।’

‘पिज्जा घर’ मा विभिन्न १४ स्वादका पिज्जा पाइन्छन् । सात प्रकारका बर्गर, नौ प्रकारका सेन्डविज यहाँ उपलब्ध छ । स्मार्ट किचन, स्मार्ट रेस्टुरेन्ट छ । पिज्जा घरले पारखीका लागि होम डेलिभरीको प्रबन्ध पनि मिलाएको छ । ‘पारखीको मागबमोजिम घरघरमै पिज्जा पुर्‍याउने पनि व्यवस्था छ’, ढुंंगानाले भने, ‘अर्डरअनुसार सुरुङगादेखि काँकडभिट्टासम्म होम डेलिभरी गरिन्छ ।’ बिर्तामोडको दुई किलोमिटर आसपासमा भने नि:शुल्क ‘होम डेलिभरि’ हुन्छ । त्योभन्दा बाहिर लागत हेरेर अतिरिक्त शुल्क लाग्छ ।

प्रकाशित : असार ३१, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?