कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बुहारीलाई घर प्रवेशमा रोक

अर्जुन राजवंशी

दमक — सासू–ससुराले घरमा प्रवेश गर्न नदिएपछि इलाम चुलाचुली गाउँपालिका १ हात्तिलेदाकी २५ वर्षीया लक्ष्मी थापा समस्यामा परेकी छन् । घरायसी विवादले ठूलो रूप लिएपछि लक्ष्मीलाई सासू–ससुराले घर प्रवेशमा रोक लगाएका हुन् ।

बुहारीलाई घर प्रवेशमा रोक

आफ्नै घरमा प्रवेश नपाएपछि लक्ष्मी अहिले दमकस्थित माइतीको शरणमा छिन् । ११ महिनादेखि माइती घरमा बस्दै आएकी लक्ष्मीलाई उनको घरमा पुर्‍याउन शुक्रबार चुलाचुली गाउँपालिकाको जनप्रतिनिधिसहितको टोली हात्तिलेदा गएको थियो । तर, उक्त टोली पनि लक्ष्मीलाई घरमा छाडेर आउन असफल भएको छ ।

गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक निर्मला दाहालको नेतृत्वमा वडा नम्बर ४ का वडाध्यक्ष कालिप्रसाद भट्टराई, गाउँपालिकाका कानुनी सल्लाहकार विक्रम बस्नेत, प्रहरी चौकी पेल्टीमारीका इन्चार्ज प्रहरी नायव निरीक्षक देवराज केसी, माइती पक्ष र चुलाचुली १ र २ का समेत गरी २०–२५ जनाको टोली लक्ष्मीलाई लिएर उनको घर गएको थियो ।

तर, उक्त टोलीलाई लक्ष्मीकी सासू बुद्धमाया थापाले अपशब्द प्रयोग गर्दै तथानाम गालीगलौज गरेकी थिइन् । जनप्रतिनिधि, प्रहरी र माइतीकै अगाडि सासूले गालीगलौज गर्दै लक्ष्मीलाई घरमा प्रवेश गर्न रोक लगाएकी थिइन् । लक्ष्मीका श्रीमान् रेवती थापा वैदेशिक रोजगारीको सिलसिलामा हाल दुबईमा छन् । रेवती र लक्ष्मीको ०६८ मंसिरमा मागी विवाह भएको थियो । उनीहरूको ४ वर्षकी छोरी छन् । दोस्रो सन्तानका रूपमा ०७४ पुस ११ मा जन्मिएका छोराको गत असार १० गते निधन भएको थियो । छोराको निधन भएपछि लक्ष्मीको घर झगडाले ठूलो रूप लिएको हो ।

लक्ष्मीका अनुसार छोरा जन्मिएदेखि नै बिरामी भइरहन्थ्यो । स्वास्थ्य परीक्षणका क्रममा बच्चाको मुटुमा समस्या देखिएको उनले बताइन् । चिकित्सकले बच्चाको मुटुको शल्यक्रिया गर्नुपर्ने बताएका थिए । शल्यक्रिया गर्नुपर्ने भएपछि लक्ष्मी छोराको जन्म दर्ता प्रमाणपत्र बनाउन गाउँपालिका कार्यालय पुगेकी थिइन् ।


बच्चाको बुबा उपस्थिति नभएको तथा लक्ष्मीको नागरिकता समेत नभएकाले जन्म दर्ता बनाउन आमासँगै घरको अभिभावक पनि आउनुपर्ने गाउँपालिकाले बताएको थियो । बच्चाको जन्म दर्ताका लागि आग्रह गर्दा सासू–ससुरा गाउँपालिका आएनन् ।

‘जन्म दर्ता भएको भए मुटुको शल्यक्रिया गर्न छोरालाई मुटु अस्पताल लाने थिएँ । चाँडै अस्पताल लान पाएको भए, मेरो बच्चा बित्ने थिएन,’ लक्ष्मीले भनिन्, ‘तर, मेरा सासू–ससुराले आफ्नै नातिको जन्म दर्ता समेत बनाइ दिएनन् । जन्म दर्ताकै कारण मेरो बच्चाको प्राण गयो ।’बच्चाको निधन भएपछि गाउँपालिकाको न्यायिक समितिको पहलमा दुवै पक्षबीच छलफल भएको थियो । छलफलका आधारमा असार २८ गते दुवै पक्षबीच लिखित सहमति भएको थियो ।

गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक दाहालका अनुसार लक्ष्मीलाई सासू–ससुरासँगै एउटै घरमा नभए पनि अर्को घरको व्यवस्था गरेर बस्न दिने, घर खर्च स्वरूप मासिक ३ हजार रुपैयाँ लक्ष्मीलाई उपलब्ध गराउनुपर्ने, सबै घरायसी सामग्री उपलब्ध गराउनेलगायत सहमति भएको थियो । उक्त सहमतिमा लक्ष्मीका ससुरा मेघराज थापाले हस्ताक्षर गरेका छन् ।

उक्त सहमतिअनुसार नै शुक्रबार उपाध्यक्ष दाहालको नेतृत्वको टोली लक्ष्मीलाई उनको घरमा पुर्‍याउन गएको थियो । तर, जनप्रतिनिधि, प्रहरी र माइती पक्षलाई नै लक्ष्मीकी सासूले तथानाम गालीगलौज गर्दै लक्ष्मीलाई घरमा प्रवेश गर्न नदिएको प्रहरी नायव निरीक्षक देवराज केसीले बताए ।लक्ष्मीकी सासू बुद्धमाया थापाले भने आफूले रिसको आवेशमा बुहारीलाई गाली गरेको बताएकी छन् । उनले भनिन्, ‘हो मैले गाली गरेकै हो । तर, अरूलाई होइन, मेरी बुहारीलाई गाली गरेकी हुँ । रिसको झोकमा सासू भए पनि आमा समान भएकाले गाली गरेकी हुँ ।’

उनले बुहारी आफंै घर छाडेर हिँडेको दाबी गरिन् । ‘उनी आफैं भदौमा घर छाडेर गएकी हुन् । माइतमै बसेर हामीमाथि अंश र सम्बन्ध विच्छेदको मुद्दा पनि हालेकी थिइन् । पछि अदालतमा उपस्थित नभएर त्यो मुद्दा त्यसै रहेको छ,’ बुद्धमायाले भनिन् । उनले पुलिस थाना, अदालतसम्म गरेर झगडिया बनेकाले बच्चाको जन्म दर्ता गराउन आफूहरू जान नसकेको बताइन् ।

प्रकाशित : असार ३१, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?