कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विराटनगर महानगरमा कर वृद्धिको विरोध

देवनारायण साह

मोरङ — विराटनगर महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी गरेको कर वृद्धिको विरोधमा आइतबार ज्ञापन पत्र बुझाएका छन् । 

विराटनगर महानगरमा कर वृद्धिको विरोध

नेकपा महानगरका संयोजक सागर थापा नेतृत्वमा महानगर प्रमुख भीम पराजुलीलाई ज्ञापन पत्र बुझाएका हुन् । साउन ७ गतेसम्ममा नगरसभाले वृद्धि गरेको १००० प्रतिशतसम्मको कर तत्काल नसच्याए कडा आनेलनमा उत्रिने ज्ञापन पत्रमार्फत चेतावनी दिएको छ ।


विराटनगर उपमहानगरका तत्कालिन कार्यकारी अधिकृत गोपाल रेग्मीले घरजग्गा कर वृद्धि गर्दा तत्कालिन नगरको बोर्ड सदस्य र कांग्रेस नगर सभापतिको हैसियतमा प्रमुख पराजुलीले विरोध गर्दै आन्दोलनमा उत्रिनु र आफू पदमा आएपछि सोही कार्य गरेको भन्दै ज्ञापन पत्रमार्फत विरोध जनाएको छ ।


ज्ञापनपत्रमा व्यक्तिगत घटना दर्ता, सिफारिस जस्ता सामान्य शिर्षकमा समेत पाँचसयदेखि हजार प्रतिशतसम्म कर वृद्धि हुनु हास्यास्पद भएको उल्लेख छ । एकवर्षको अवधीमा प्रमुखको हैसियतले कार्यन्वयन गरेका विकास निर्माणको कामको प्रगति २५ प्रतिशत पनि नदेखिएको ज्ञापन पत्रमा उल्लेख छ ।


नगरका सडक हिलाम्य र धुलाम्य, अस्तव्यस्त, सेवा प्रवाहमा ढिलासुस्ती, निर्माणका काममा अनियमितता जस्ता समस्या यत्रतत्र रहेको उल्लेख छ ।


महानगरले गर्ने विकास निर्माणका कामहरु कोटेशनको भरमा प्रमुखको तोक आदेश अनुसार मात्रै हुने गरेकोले विराटनगर महानगर ‘कोटेशन नगर’ भएको नेकपा महानगर संयोजक थापाले आरोप लगाए ।


ज्ञापन पत्र बुझाएपछि संयोजक थापाले एकवर्षसम्म यूवा नेतृत्वलाई काम गर्ने अवसर दिएका थियौँ तर १ करोड ७५ लाख रुपैयाँको गिट्टी हाल्दा गरिएको भ्रष्टचारले आफैँलाई लज्जाबोध भएको बताए । ‘तीनपैनी–अस्पतालचौक–घोघापैनीसम्मको ४ किलोमिटर दुरी सडक कालोपत्रेमा १२५ कोटेशन मगाएर प्रमुखको तोक आदेशमा काम भएको छ,’ उनले भने, ‘महानगरको हरेक काम हुँदा कोटेशनबाट गराईनुले २० प्रतिशत कमिसनको खेल भएको छ ।’


संयोजक थापाले प्रमुख पराजुलीले महानगरको बजेटमा गरेको कमिशनको खेलले युवा नेतृत्वको खिल्ली उडाएको गुनासो पोखे । ‘पछिल्लो एक महिना भित्रै जेसीभी प्रयोग गरिए बापत महानगरको आर्थिक शाखाले १० लाख रुपैयाँ भुक्तानी गरेको, धुलो उड्न नदिन ट्याङकरबाट सडकमा पानी हाल्न ७ लाख भुक्तानी गरिएको छ,’ उनले भने, ‘प्रमुख पराजुलीले आफूखुशी कमिशनको खेल खेल्दै जथाभावी जनताको विकासको बजेट गरेको खर्च महानगरवासीलाई सहय हुँदैन र यसको विरोधमा भण्डाफोर गर्छौँ ।’


महानगरको बोर्ड बैठकले दश जना स्वास्थ्य सहयोगी पदमा कर्मचारी भर्ना गर्ने निर्णय विरुद्ध १९ जनालाई नियुक्ति दिएकोप्रति पनि थापाले प्रमुख पराजुलीको ध्यानाकर्षण गराए । पराजुलीले दशजनाको दरबन्दी कायम गरेर १९ जना कर्मचारी नियुक्ति गर्नुको रहस्य महागनरलाई पार्टीको भर्ती केन्द्र बनाउने योजना देखिएको उनले गुनासो पोखे ।


नेकपाको ज्ञापनपत्र बुझेपछि प्रमुख पराजुलीले सबैसँग बसेर मिलाउनु पर्ने विषयलाई मिलाउनतर्फ लाग्ने प्रतिबद्धता जनाए । उनले करको दर नभएर दायरा फराकिलो पारिएको बताए । महानगर भएकोले वार्षिक आन्तरिक आम्दानी एक अर्ब पुर्‍याउनु पर्ने बाध्यात्मक परिस्थितिमा कर वृद्धि भएको उनले स्वीकारे ।


‘विज्ञ र वडा अध्यक्षको परामर्शबाट कर वृद्धि गरिएको हो,’ उनले भने, ‘अस्पताल, कलेज, मल, औद्योगिक प्रतिष्ठानसँग कर लिनुपर्ने भएकोले व्यवसाय क्षेत्रमा कर वृद्धि गरेका छौँ ।’ उनले कर वृद्धि नभई समायोजन गरेको र स्वास्थ्य सहयोगी आवश्यकता अनुसार राखेको बताए । स्वास्थ्य मन्त्रालयले दिइएको ९८ लाख रुपैयाँ बजेटबाट तलब खुवाउने गरी आवश्यक कर्मचारी दरबन्दी कायम गराएर अन्तवार्ताको माध्यमबाट कर्मचारी राखिएको बताए ।


आगामी दिनमा विराटनगरको विकास देखिने गरी झापा बैजनाथपुरमा ५ बिघाहा जमिनमा दुई हजार पाँच सय क्षमताको सम्मेलन हल निर्माणका लागि ३५ करोड विनियोजन गरेको पराजुलीले बताए । उनले उपभोक्ता समिति बन्न नसकेको क्षेत्रमा कोटेशनबाट काम भएको स्वीकारे ।

पराजुलीले आफूले एक रुपैयाँ पनि कमिशन लिएको प्रमाण भए तत्काल कारबाही भोग्न तयार रहेको बताए । उनले भ्रष्टचार हटाउनका लागि सबैको सहयोग आवश्यक रहेको र कुनै कर्मचारीले कमिसन लिएको प्रमाण भए दिन समेत आग्रह गरेका थिए ।

प्रकाशित : असार ३१, २०७५ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?