१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बैंक नहुँदा सर्वसाधारणलाई सास्ती

दीपेन्द्र शाक्य

संखुवासभा — स्थानीय तहमा जनप्रतिनिधिले कार्यभार सम्हालेको १ वर्ष बित्यो । १० स्थानीय तहमध्ये ६ तहमा आर्थिक कारोबारका लागि अझै वित्तीय संस्था बैंकहरू पुग्न सकेका छैनन् ।

बैंक नहुँदा सर्वसाधारणलाई सास्ती

‘बैंकहरूले वित्तीय सेवा छिटो प्रवाह गर्ने प्रतिबद्धता गरेको ६ महिना बढी भयो,’ भोटखोला गाँउपालिकाका अध्यक्ष तेम्बा भोटे भन्छन्, ‘अहिलेसम्म बैक गाउँमा छैन ।’ प्राविधिक र व्यवस्थापनको समस्याका कारण सेवा दिन नसकेको बैकले बताउँदै आएको उनले गुनासो गरे ।

‘बैंकहरूको स्थानीय तहको केन्द्रमा पक्की भवनको अभाव पहिलो बहाना बनाएका छन्,’ उनले भने, ‘दुर्गममा कहाँबाट सिमेन्ट बालुवा लैजानु अनि पक्कि घर बनाउनु, पक्की घर र सुविधासम्पन्न स्थानमा मात्रै बैकले सेवा दिएको पायौं ।’ स्थानीय तहको केन्द्रमा सुरक्षा, अन्य व्यवस्थापन र प्राविधिक कारण सेवा दिन नसकिएको भन्दै बैंकहरू पन्छिएको उनले बताए । अधिकांश बैंकले आव ०७५/७६ बाट सेवा दिने आश्वासन दिएको उनले बताए । बैंक नहुँदा सदरमुकाम आएर सेवा लिन सर्वसाधारण बाध्य छन् । ५ दिनसम्म हिँडेर भोटखोलावासी सदरमुकाम आउने गर्छन् ।

‘उपभोक्ता समितिले गरेको कामको भुक्तानी लिन पनि यहीँ आउनुपर्छ,’ उनले भने, ‘बंैकिङ कारोबारका लागि एउटा हस्तारक्षर गरेर चेक लिन खाँदबारी आएका छौं ।’ जिल्लाका ५ गाउँपालिका र ३ नगरपालिकामा निजी तथा सरकारी बैंकले वित्तीय सेवा दिनका लागि शाखा विस्तार गर्ने प्रतिबद्धता गरेका थिए । सदरमुकाममा ११ वटा बैंक छन् । ‘गाउँ जान कुनै बैंकले मन गरेको छैन, सुविधा भोगी कर्मचारीका कारण बैंक स्थापना हुन सकेन,’ उनले भने ।

अहिले बैंकिङ सेवा नभएका स्थानीय तहले सदरमुकामबाट आर्थिक तथा अन्य वित्तीय कारोबार गर्दै आएका छन् । सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामकुमार कुलुङ आर्थिक कारोबार गर्ने ठूला र साना बैंक सदरमुकाममै बस्न चाहने बताउँछन् । ‘सडक सञ्जाल र इन्टरनेटको पहुँच नभएको स्थानमा दुर्गम भन्दै बैंक आउन आनाकानी गर्छन्,’ उनले भने, ‘सरकारको लिस्टमा परेका बैंकले गाउँमा गएर सेवा दिनुपर्छ । हामी कति दिन सदरमुकाम धाउनु ? सानो कामका लागि ठूलो रकम खर्चेर खाँदबारी आउजाउ गरिरहनुपरेको छ । गाउँमै बैंक भए ७० प्रतिशत काम यहीँबाट हुने थियो ।’

स्थानीय चुनाव भएको केही महिनामै बैंक आउने हल्ला चले पनि १ वर्षसम्म नआएको गुनासो गरे । सिलिचोङबाट सदरमुकाम आउन ८ घण्टाभन्दा बढी हिँड्नुपर्ने भएकाले नगद बोकेर हिँड्न समस्या रहेको उनले सुनाए ।

पाँचखपन नगरपालिका र मकालु गाउँपालिकामा भने निजी बंैकका शाखा खुलेका छन् । ‘वित्तीय कारोबार सहज बनाउन स्थानीय तहमा सेवा दिन्छौं भन्ने बैंकहरू सदरमुकाममा केन्द्रित छन्,’ उनले भने, ‘उपभोक्ता समिति र स्थानीय तहले वित्तीय कारोबारका लागि दु:ख पाउनु परेको छ ।’ १० स्थानीय तहमध्ये सदरमुकाम खाँदबारीमा दर्जन बैंक र उत्तिकै संख्यामा लघुवित्त कम्पनीहरू सञ्चालनमा छन् । नयाँ आवदेखि सेवा विस्तार गर्ने दाबी गरेका बैंकहरूको असार मसान्तसम्म पत्तोपत्तो छैन ।

प्रकाशित : असार ३२, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?