कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तटबन्धमा २५ करोड सकियो

बाढी गाउँ पस्ने जोखिम उस्तै
विनोद भण्डारी

विराटनगर — पूर्वी मोरङमा बग्ने बक्राहाखोला हरेक वर्षायाममा आसपासका बासिन्दाका लागि विपत् लिएर आउने गरेको छ । मध्यवर्षामा बाढीले कहाँनेर बाँध भत्काएर बस्ती पस्ने हो भन्दै स्थानीय बासिन्दा त्रसित हुने गरेका छन् ।

तटबन्धमा २५ करोड सकियो

यही समस्या हटाउने उद्देश्यले गत वर्ष र यसपालि खोलाको मधुमल्लादेखि झुरकीयासम्मका विभिन्न ८ स्थानमा करिब २५ करोडको लागतमा ५ किलोमिटर तटबन्ध बनाइएको छ ।

जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय प्रमुख देवनारायण साहका अनुसार खोलाको दुबैतर्फको बाँध होचो भएकाले बाढी कुनै पनि समय ओभरफल्ओ भई बस्तीमा पस्ने चिन्ता अझै छ । बाँधको कुल लम्बाइ ५१ किलोमिटर छ । ‘अघिल्लो र यसवर्ष मधुमल्ला, जयनगर, उर्लावारी, लेटी, इटहरा, बरडंगा, झुरकीया र गोविन्दपुरमा भत्किएको ५ किलोमिटर बाँध २५ करोडको लागतमा पुनर्निर्माण भइसकेको छ,’ साहले भने, ‘तर त्यसको जोखिम कायमै छ ।’

यो नदीमा गतवर्ष आएको बाढीले मधुमल्ला, हसन्दह, अमरदह, गोविन्दपुर, डाइनिया र राजघाटका सयांै परिवारलाई घरविहीन बनायो । हजारभन्दा बढी परिवार डुबानमा परे । १० हजार हेक्टरभन्दा बढी धान खेत बगरमा परिणत भएको सुरक्षा संयन्त्रको तथ्यांक छ । मधुमल्लामा बस्तीभन्दा माथि नदी भएका कारण हरेक वर्ष बाढीले बाँध फुटाई पानी पस्ने गरेको हो । गतवर्ष र अघिल्लो वर्ष आएको बाढीले बाँझो खेत, खामेझोडा, शान्ति टोली, वेतेनी र कसेनीको नयाँ बस्तीमा बाढी पस्दा मधुमल्लाका १ सय २ परिवार घरविहीन बने ।

मिक्लाजुङ गाउँपालिकाका प्रमुख देवी आचार्यका अनुसार यसपालि पनि त्यहाँको जोखिम कायमै छ । बाढीले भत्काएको बाँधमा तटबन्ध गरिएको छ । कुनै पनि समय बाढी बस्तीमा पस्ने खतरा उस्तै छ । भत्किएको बाँध तटबन्ध गरेपछि केही परिवार बाढीले बगर बनाएको स्थानमा र केही परिवार जंगलको आसपास टहरा बनाएर बस्दै आएका छन् ।

यही बक्राहा खोलो मधुमल्लादेखि झन्डै १५ किलोमिटर दक्षिण हसन्दहको जयनगरमा बाँध फुटेर बस्तीमा पस्दा हसन्दह, अमरदह, गोविन्दपुर, डाइनयाँ, वरडंगा, टकुवा र आमगाछीका करिब ७ सय परिवार डुबानमा परेका थिए । त्यहाँको ७ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाएको धान बाली बगरमा परिणत भएको दैवी प्रकोप उद्धार समितिको तथ्यांक छ । उक्त क्षेत्र हाल पथरी शनिश्चरे, सुनवर्षी र रतुवा नगरपालिकामा पर्छ ।

जयनगरमा भत्किएको करिब दुई सय मिटर बाँध १ करोड २ लाखको लागतमा तटबन्ध गर्ने काम सकिएको छ । सुनवर्षी नगरपालिका २ का अध्यक्ष प्रताप तामाङका अनुसार माटोको बाँध बाँधेर त्यसमाथि जालीमा ढुंगा भरेर गरिएको तटबन्ध खोलामा आएको सामान्य बाढीले नै भत्काउन सुरु गरेको छ ।


यो क्रम जारी रहे ठूलो बाढी आउँदा पुन: पानी बस्तीमा पस्ने स्थितिले आसपासका बासिन्दामा यसपालि पनि त्रास कायमै रहेको तामाङको भनाइ छ । त्यहाँबाट बाढी पुन: बस्तीमा पसे पथरी शनिश्चरे ५ सहित सुनवर्षी र रतुवामाई नगरपालिकाका सवै क्षेत्र प्रभावित हुने तामाङका भनाइ छ । उनका अनुसार सोमबार आएको बाढीले भर्खरै निर्माण गरिएको तटबन्धको माटो बगाउन थालेको छ ।

गतवर्ष बक्राहा र रतुवा खोलामा आएको बाढीले रतुवामाई नगरपालिका क्षेत्रमा मात्र ३० करोडभन्दा बढीको क्षति पुर्‍याएको थियो । नगर प्रमुख रविन राईका अनुसार यसपालि पनि त्यो त्रास नगरवासीमा कायमै छ । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय र नगरपालिकाले बढी जोखिम भएका क्षेत्रमा दुवै खोलामा तटबन्ध गरे पनि पानी पर्न सुरु भएपछि स्थानीयवासीमा बाढीको त्रास बढ्ने गरेको राईको बुझाइ छ ।

त्यसैगरी रेडक्रस शाखाले मोरङमा रहेका विभिन्न एक दर्जन खोलामा आउने बाढीका कारण जिल्लाका चार दर्जनभन्दा बढी स्थानलाई बाढीको उच्च जोखिम क्षेत्रका रूपमा वर्गीकण गरेको छ । शाखाका अध्यक्ष सुवोधकुमार सिंहका अनुसार मोरङमा बग्ने केसलीया, सिंघिया, लोहन्द्रा, चिसाङ, वक्रहा, रतुवा, मावा र तेली खोलाका कारण मधुमल्ला, उर्लाबारी पथरी शनिश्चरे, सुनवर्षी, रतुवामाई नगर, सुन्दर दुलारी, सिसवनी वडरा, हात्तीमुढा, विराटनगर महाननगर, डंग्रहा, बुधनगर, कटहरीलगायत ४३ स्थान बाढीको उच्च जोखिममा छन् ।

प्रकाशित : श्रावण १, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?