२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

‘पुरानै दिनचर्यामा फर्केँ’

विश्वकप २०१८
जितेन्द्र साह

विराटनगर — ‘पुरानै दिनचर्यामा फर्केँ,’ सामाजिक अध्ययन विषयका शिक्षक महेश गौतमले सोमबार बिहान भने । उनले आपसी संवादका लागि अब नयाँ चौतारी खोज्ने बताए । फुटबलप्रेमी विराटनगरका यी शिक्षकको दैनिकीमा एक महिनासम्म विश्वकपकै प्रतिस्पर्धा प्राथमिकतामा रह्यो ।

‘पुरानै दिनचर्यामा फर्केँ’

उनले सामाजिक सञ्जालमा बढी यहससम्बन्धी रोचक र घोचक पोस्ट गरिरहे । गौतम र उनका मित्रहरूबीच सार्वजनिक बहसको विषयमा फुटबल हाबी रह्यो । ‘अन्तिम खेल विश्वकप स्तरको लागेन, राम्रै खेलेको हुनाले फ्रान्सले जित्यो,’ उनले भने, ‘तर, क्रोएसियाले आफंैले सोचेभन्दा राम्रो प्रदर्शन गर्‍यो ।’

गौतमले कुनै प्रतिस्पर्धा नछुट्टयाए पनि दैनिक काममा त्यसको असर पर्न नदिएको बताए । ‘साढे ४ घण्टा सुत्दा पुगेकै थियो,’ उनले भने, ‘विश्वकपले दैनिक कार्यमा असर परेन ।’ उनले घरमा एक्लै वा मित्रजनलाई भेला पारेर खेलको मजा लिए । सन् १९८६ को विश्वकपदेखि अर्जेन्टिनाका डियागो माराडोनाको प्रशंसक उनलाई सुरक्षात्मकभन्दा आक्रामक खेल मन पर्‍यो । ‘तर म यो र ऊ मुलुकभन्दा खेलको प्रशंसक हो,’ उनले भने, ‘एक गोल भए वा गरेपछि रक्षात्मक रणनीति अपनाउनेभन्दा परिणाम जे आए नि सुरुदेखि अन्तसम्म समान लयमा खेल्ने टिम मन पर्‍यो ।’

फुटबल मात्र यस्तो खेल हो जुन हरेक मुलुकमा खेलिन्छ र हेरिन्छ । विभिन्न अध्ययनअनुसार विश्वभरका ९० प्रतिशत देशहरूमा यो सबैभन्दा लोकप्रिय खेल पनि हो । झनै विश्वकप त संसारमै सबैभन्दा बढी हेरिने प्रतियोगिता हो । नेपालीहरू त झनै अछुतो रहने कुरै भएन । त्यो स्वभावअनुरूप सार्वजनिक थलो, घर र सामाजिक सञ्जालमा विश्वकपको सेरोफेरोमा फुटबलका सौखिनमाझ सामाजिक सञ्जालमा रमाइलो वाकयुद्ध चलिरह्यो ।


हरेक तप्कालाई यसले छोयो । उनीहरूले भोक र निद्राको समेत परवाह गरेनन् । बरिष्ठ मानसिक रोग विशेषज्ञ डा.रोशन पोखरेलकै मनोस्थिति विश्वकपले गर्दा निकै खलबलियो । उनी आफूसँग भेट्न आउनेलाई सबैभन्दा पहिले विश्वकपकै बारेमा जिज्ञासा राख्ने गरेको बताए । खेल कतिखेर सुरु हुने र कसले जित्ने बैचेनीमा
उनी रहन्थे ।

‘पहिलो प्रतिस्पर्धाको आनन्द मित्रजनसँग लिन्थेँ, बाँकी खेल परिवारजनसँग हेर्थेँ,’ डा. पोखरेलले भने, ‘घर पनि जानै पथ्र्यो, नत्र फेरि फुटबलले गर्दा परिवार भाँडिएला भन्ने डर ।’ कुनै भिडन्त छुटाउन नचाहने उनका लागि निद्राको व्यवस्थापन ठूलो समस्या भएको थियो । ‘ढिलोसम्म सुतियो, खानपिनमा असर परेकै थियो,’ उनले भने, ‘म उसै पनि खेलप्रेमी हो, फुटबल त झनै सबैभन्दा मनपर्ने भएकाले छुटाउनै सकिनँ ।’ बरु खाना ढिलो खाए पनि र एक घण्टा कम सुते पनि पूरा खेल अवधिको कुनै पनि क्षण नछुटाएको उनले बताए ।

विश्वकपले गर्दा सक्दो चाँडो काम सकेर आलैपालो साथीहरूकोमा र त्यसपछि घरतिर लाग्ने गरेको अनुभव डा.पोखरेलले सुनाए । हुन त उनी कसैको कडा समर्थक होइनन् तर इंग्ल्यान्ड र बेल्जियमको टिम मन पर्ने गरेको उनले बताए । डा.पोखरेलले नयाँ मुलुकले विश्वकप लगोस् भन्ने चाहना राखेको तर पूरा नभए पनि सन्तोस गरेको बताए ।

यो खेलको प्रभावबाट न्याय क्षेत्रका कर्मचारी पनि बच्न सकेनन् । जिल्ला अदालत मोरङका डिठ्ठा भवानी अधिकारीले निद्राकै कारणले राति प्रत्यक्ष प्रसारण छुटाइहाले पनि बिहान उठ्न बित्तिकै मुख्य अंश (हाइलाइट्स) हेरेको बताए । सानैदेखि हल्काफुल्का खेलेको कारणले मजाले बुझिने हुनाले फुटबल मनपर्ने खेल भएको उनले बताए ।

केवल आनन्दका लागि विश्वकप हेरेको अधिकारीले बताए । ‘जानकारी पनि भयो,’ उनले भने, ‘कार्यालय त कहिले छाडिनँ, काम र रुचीबीच तालमेल मिलाएर मात्र हेर्ने गरेको थिएँ ।’ विराटनगरको सडकहरूमा सिठी बजाउँदै सवारी व्यवस्थापनमा लागिरहेको भेटिने ट्राफिक प्रहरी जवान सुवोध यादवले खल्तीमा हरेक दिनको खेलको सूची राख्थे । ‘जागिरले गर्दा साँझबिहान हेर्न नसकेपछि मन छटपटिन्थ्यो, रातिको खेलभने अवश्य हेर्थेँ,’ उनले भने, ‘साथीहरूसँगै हेरेँ ।’

मस्तीका लागि मित्रजनसँग बाजी लगाएको र प्राय: आफूले नै जितेको यादवले बताए । उनले भने, ‘नगदी बाजी लगाइन, हार्नेले चियाखाजा खुवाउनेसम्ममै सीमित भयो ।’ युवा व्यवसायी महेश यादवलाई व्यापार र गृहिणी सीमा खड्कालाई भान्छाको भन्दा विश्वकपको चिन्ता बढी भइरह्यो । दुई मुलुकको टिमबीच हुने प्रतिस्पर्धामा मान्छेको जीवनझैं सुखदु:ख, तनाव एवं आरोहअवरोह देखिने गरेको यादवले निजी अनुभव बखाने । ‘सहजै बुझ्न सकिने यो खेल सपरिवार हेरिने हुनाले राम्रो लाग्छ,’ खड्काले भनिन् । विश्वकपले गर्दा बिहानीको डुलाइ, व्यायाम र योगा छुट्ने गरेको यादवले औंल्याए भने रातिको निद्रा दिउँसो पूरा गरेको खड्काले सुनाइन् ।

प्रकाशित : श्रावण १, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?