३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सडक विस्तारसँगै फेरिँदै गाउँ

दीपेन्द्र शाक्य

संखुवासभा — सडक विस्तारसँगै यहाँका ग्रामीण क्षेत्रमा बजार पनि विस्तार भएको छ । गाउँबस्तीमा नयाँ बजारहरू स्थापना भएका छन् । सडक सुबिधा पुगेपछि गाउँको भौतिक विकास निर्माणले गति लिएको छ ।

सडक विस्तारसँगै फेरिँदै गाउँ

स्थानीयको आर्थिक उन्नतिमा योगदान दिने भएकाले जिल्लाका अधिकांश गाउँपालिकामा मोटरबाटो पुर्‍याइएको छ । डहके धुपु हुँदै बाह्रबीसेसम्म मोटर पुगेपछि यस क्षेत्रमा विभिन्न स्थानमा बजार विस्तार भएका छन् ।

बाह्रबीसेका जितेन्द्र वनेम सडक विस्तारपछि गाउँको मुहार फेरिएको बताउँछन् । कच्ची सडक भएपनि गाउँसम्म आउआउ गर्न धेरै सहज भएको छ । उनले भने, ‘२ घण्टामा सदरमुकाम पुगिन्छ, काम सकेर बेलुकी यतै फर्कन्छौं ।’

सडक पुगेपछि खाद्यान्नको मूल्य सस्तो भएको उनले बताए । ‘दैनिक उपभोग्य सामग्रीका लागि सदरमुकामको भर परिन्थ्यो,’ उनले भने, ‘अचेल धरानबाट सिधैं सामान ल्याउछौ र बिक्री गर्छौं ।’मोटर पुगेपछि गाउँमा चहलपहल बढेको उनको भनाइ छ । वर्षातले सडक हिलो भएर समस्या हुने भएपनि अरु बेला यातायातका साधन सहज चल्ने गरेको उनले बताए । गाउँमै मनिटान्सफर खुलेपछि विदेशबाट आएको रकम पनि झिक्ने व्यवस्था यतै हुन्छ, उनले भने, सबै सेवा सुविधा गाउँमा थपिंदै गएका छन् । सञ्चार सुविधा पुगेकाले पनि आधा समस्या हटेको उनले बताए । टेलिकमले यो क्षेत्रमा लाइन फोनसमेत विस्तार गरिसकेको छ ।

पछिल्लो समय स्थानीय तहको निर्वाचनपछि गाउँमै सदरमुकामको सेवा पाउन थालेको उनले बताए । ‘गाउँमै सदरमुकामको सेवा पाउन थाल्यौं, उनले भने, ‘अधिंकाश सरकारी कार्यालय गाउँपालिकामा आएका छन्, सानो कामका लागि सदरमुकाम धाउन परको छैन ।’ सदरमुकाम खाँदबारीबाट बाह्रबीसेसम्मको करिब ३० किलोमिटरको दूरीका चार स्थानमा नयाँ बजार विस्तार भएका छन् ।कच्ची मोटरबाटो भए पनि हलुका र ठूला गरी दैनिक दुई दर्जनभन्दा बढी सवारीसाधन आवतजावत गर्ने भएकाले बर्डेनी, डहके, धुपु, बाह्रबीसेमा बजार विस्तार भएका छन् । मोटरबाटो बनेपछि होलसेल पसल खुलेका छन् । खाद्यान्न, बीउबिजन, कपडाका पसल र होटलले ढाकेका छन् । बाह्रबीसेमा पनि सुविधा सम्पन्न होटल खुल्न थालेको छ । लाखौंको लगानीमा त्यहाँ भवनहरू निर्माण भइरहेका छन् ।

स्यावुन, बिहीबारे, वानामा पनि बजार विस्तार भएको छ । मोटरबाटो निर्माण भएपछि गाउँगाउँका कृषकले उत्पादन गरेको कृषि उपज, कृषिजन्य वस्तु यही बजारमा ल्याएर बिक्री गर्ने गरेका छन् । मोटरबाटो निर्माण नहुँदासम्म बाँझो राखेका कृषकले अहिले तरकारी खेती गर्न थालेका छन् । यस क्षेत्रका बासिन्दाले विगत दुई वर्षदेखि आलु, काउली, मूला, केराउ र बन्दाकोपी उत्पादन गरेर बिक्री गर्न थालेको स्थानीय बद्री सापकोटाले बताए । कृषकको पनि जीवनशैलीमा व्यापक परिवर्तन आएको छ, उत्पादन भएका सामान खेर गएको छैन, बिक्री हुन थालेको छ । मोटरबाटोले यस क्षेत्रका बासिन्दाको आम्दानी मात्र बढाएको छैन, उनले भने, ‘खानपिन र रहनसहनमा परिवर्तन ल्याएको छ ।’

प्रकाशित : श्रावण ३, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?