जता सडक त्यतै पहिरो
ताप्लेजुङ — मंगलवार राति फक्तालुङ गाउँपालिका ३ लिंखिममा बग्ने तावा खोलामा आएको बाढीले गाउँपालिका केन्द्रबाट सदरमुकाम फुङलिङसँगको पैदलमार्ग विच्छेद गरिदिएको छ । तावा सिरानबाट सुरु भएको बाढीले सिंवा–तावा जोड्ने सडकमा पुगेपछि ठुलो रूप लिएको थियो ।
स्थानीय सामाजिक कार्यकर्ता जगन पौडेलका अनुसार बाढी सडकतिर पसेर बग्न थालेपछि त्यसमुनिको भागले पहिरोको आकार लिएको हो । यसै वर्ष ट्रयाक खोलिएको सडकको खोलो बग्ने क्षेत्र नछोडिएका कारण पानी सडकतिर पसेको स्थानीय बताउँछन् ।
गत वर्ष पाथीभरा क्षेत्रको भालुगौंडेमा खनेको सडक भत्किंदा त्यसैको डिलमा रहेका दुईवटा घर भत्किएका थिए । सडक क्षेत्रको पूर्वतर्फको ढिस्कनो झर्न थालेपछि त्यहाँका परिवार विस्थापित भए । दुई वर्षअघि फुङलिङ नगरपालिका ८ दोखुमा सडकबाट पसेको भेलले पहिरोको रुप लिंदा तामाङ परिवारका दुई बालकको ज्यान गयो । आँपडाँडाबाट खोदम्बु जाने सडकमा बर्से झरीको भेल पस्दा घरको तल्लो तला भत्काएको थियो । त्यही तला भत्काएर पसेको पहिरोले सुतिरहेका बालबालिकालाई मृत्युको मुखमा पुर्यायो ।
विकासका नाममा खनिने सडकले दिनानुदिन विनाश निम्त्याइरहेको छ । आफैंले खनेको सडकले आफैंलाई पिरोलेको जानकारी उपभोक्ता समिति, निर्वाचित जनप्रतिनिधिलाई पनि छ । नियन्त्रणमा भने कसैले आवाजसम्म उठाएका छैनन् ।फुङलिङ नगरपालिका ३ का वडाध्यक्ष युवराज बराल यस विषयमा उपभोक्तालाई विज्ञ राखेर कक्षा सञ्चालन गर्नु आवश्यक भएको बताउँछन् । ‘योजना छान्ने बेलामा भोलि के होला कसैले पनि सोच्दैन, मेरो टोल, क्षेत्रमा बाटो चाहियो भनेर सबै पाखुरा सुर्केर आउँछन्,’ बरालले भने, ‘परेको आफैं बेहोर्छाैं सडक चाहियो भन्ने धेरै हुन्छन् ।’ आगामी आर्थिक वर्षदेखि भने यस्ता चुनौतीलाई चिरेर पनि वातावरण अध्ययनका क्षेत्रमा लगानी गर्ने बरालको दाबी छ ।
स्नातकोत्तर क्याम्पस विराटनगरका पारिस्थितिक पद्धति र वातावरण विज्ञानका उपप्राध्यापक रमेशचन्द्र अधिकारी हेलचेक्रयाइका कारण धेरै बाढीपहिरो गएको बताउँछन् । सडक निर्माण गर्दा माटोको बनावट, भिरालोपनाको अवस्था अध्ययन गरिँदैन, उनले थपे, ‘एक करोडको डोजरले सडक खनाउँदा कम्तीमा १० लाख रुपैयाँ मात्रै लगानी गरे वातावरणको अध्ययन हुन्छ, तर त्यो कहींकतै कसैले गर्दैन ।’
भाइब्रेसनले जमिन थर्काउने र ठूलो भाग भत्काउने भएकाले अधिक स्थानमा डोजर प्रयोग गर्नु नै घातक भएको अधिकारी बताउँछन् । अझ पहाडी क्षेत्रमा सडक घरघरमा घुमाउने र छोटो घुम्ती बनाउँदा पनि पहिरोलाई राहत भएको उनको तर्क छ । मेसिनको प्रयोगले पानीका मुहान सुकाउने र पुरिएको पानी जमिनभित्र थिलथिलो भएर जमेर बस्ने र त्यो एकैचोटि बाहिर निष्कँदा पहिरोको रुप लिएको पनि अधिकारीको तर्क छ । सरकारले वातावरण प्रभाव मूल्यांकनमा अनिवार्य बजेट विनियोजन गर्न र त्यसको प्रतिवेदनका आधारमा मात्रै काम गर्न कडाइ नगरेसम्म यो क्रम रोकिने अवस्था भने देखिएको छैन ।