कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युवा पशुपालनतर्फ

रमेशचन्द्र अधिकारी

धनकुटा — गाउँघर छोडेर अन्यत्र बस्दै आएका युवा फर्किंदैछन्, त्यो पनि खेतीकिसानीका लागि । जिल्लामा पछिल्लो समय पशुपालनमा लगानी हेर्दा युवाको आशलाग्दो उपस्थिति देखिन्छ । यसरी लाग्नेमध्येका एक हुन्– धनकुटा नगरपालिका ६ खाल्डेका ३६ वर्षीय टीकाराम कार्की । उनी जिल्लाको अग्रणी गाईपालक कृषकका रूपमा चिनिएका छन् ।

युवा पशुपालनतर्फ

८ वर्ष विभिन्न मुलुकमा रोजगारका लागि गएका थिए । दुई वर्षअघि फर्केर आएपछि थालेको गाई पालन नमुना बनेको छ ।

२०५७ मा जग्गा बन्धकी राख्ने क्रममा १३ लाख ऋणमा फसेपछि वैदेशिक रोजगार अन्तिम विकल्प बनाएका कार्कीले आफ्नै जन्मथलो फर्किएर गाई पालन थाले । यसैबाटै सबै ऋण तिरेर राम्रो पैसा पनि कमाएका छन् । १ वर्ष मलेसिया, ५ वर्ष अफगानिस्तान र २ वर्ष इराक बसेर आएपछि उनले सहरमा ठूलो महल बनाउने सपना बुनेनन् । बरु आफ्नै पुख्र्यौली थलोमा नै गाई पालन व्यवसाय थालेको बताए । साहुकोमा सबै जग्गा जमिन बन्धकी राखेपछि घरबारविहीन बन्ने अवस्थामा विकल्पका रूपमा वैदेशिक रोजगार गएको बताए ।

‘बरु जिउज्यानको पर्वाह नगरी जटिल युद्धरत मुलुकमा गएर जोखिम मोलेर केही कमाइ गरें’, उनले भने, ‘त्यहींको कमाइलाई व्यावसायिक गाई पालन गर्दै साहुको ऋणबाट समेत मुक्त बनिसकें ।’ अफ्रिकन मुलुक जोहनसवर्ग जान लाग्दा ६ लाख रुपैयाँ दलालले खाइदिएपछि आफू नेपाल फर्किएको बताए ।त्यहाँबाट फर्किएर आएपछि छिमेकी उद्धव वाग्लेको सल्लाहमा उनले २२ लाख रुपैयाँमा गाई पालन थालेका हुन् । माइदेवी कृषि फर्म दर्ता गरेसँगै उन्नत जातको गाईबाट दैनिक ६८ लिटर दूध ४० मिनेट दूरीको बजारमा आफंैले बोकेर बिक्री गर्दै आएका छन् । उनलाई पत्नी देवीले पनि साथ दिएकी छन् । खोले कुडो, घाँस तथा गोबर सोर्न देवीले साथ दिएको बताइन् । १ सन्तानका साथमा यी दम्पतीले केही वर्ष अघिसम्मको कष्टदायी जीवन पछिल्लो समय सुखमय बन्दै गएको दंग पर्दै सुनाए ।

छथर जोरपाटी गाउँपालिका ६ नाम्जाङका भरत गुरुङ पनि अर्का सफल कृषक हुन् । उनले घरमै पालेको गाई फार्मबाट उत्पादन भएको दूध नजिकै रहेको कामधेन दुग्ध सहकारी संस्थाको दूध संकलन केन्द्रमा बिक्री गर्दै मासिक २ लाख हात पार्दै आएका छन् । वैदेशिक रोजगारमा गुरुङ २०५६ तिर कतार गएका थिए ।

करिव ७ वर्षको बसाइका क्रममा कमाएको रकमले २०६३ सालमा गाउँ फर्किएर उनले गाई पालन थालेको बताए । २०७० सालमा नाम्जाङमा करिव २ करोड लगानीमा व्यावसायिक दूध उत्पादनका लागि मकालु काउ फार्म सुरु गरे । गोठमा उन्नत जातका ३० वटा गाई छन् । ती सबै इलाम र गोरखाबाट ल्याइएका हुन् । खरिद गरेर घरसम्म ल्याउँदा एउटा उन्नत गाईको लागत २ लाखसम्म खर्च भयो ।

उनको लगानी ३ करोडभन्दा बढी पुगिसकेको गुरुङले बताए । करिव १ सय ५० रोपनीमा उन्नत जातको घाँस खेती लगाएका छन् । ५० रोपनी जग्गा पुख्र्याैली हो भने १ सय रोपनी जग्गा पछि खरिद गरेका हुन् । उनले अम्लिसो, नेपियर सियो थ्री र सियो फोर तथा डाले घाँस लगायतका घाँस खेती लगाएका छन् । दूध र गाईवस्तुलाई खुवाइने आहार ओसारपसार गर्न दुईवटा टयाक्टर किनेका गुरुङले किसानको घरमा दूध लिन जाँदा गाईवस्तुलाई खुवाइने दाना नि:शुल्क रूपमा ढुवानी गर्दै आइरहेका छन् । उनले घरमै करिव १० लाख रुपैयाँको लागतमा १ हजार दूध अट्ने क्षमताको भ्याट मेसिन राखेका छन् ।

जिल्लाका सफल युवा कृषकको पंक्तिमा लेखनाथ पौडेल पनि छन् । उनले पनि महालक्ष्मी नगरपालिकास्थित चानुवामा करिब ४० लाखको लगानीमा उन्नत जातको बाख्रा पालन गर्दै आएका छन् । यस्तै चौबिसे गाउँपालिका कुरुलेतेनुपाका दिपक दाहालले पनि लाखौं रुपैयाँको लगानीमा बाख्रा पालन गर्दै आएका छन् ।

दुवै युवा जिल्लाका सफल कृषकमा दरिएका छन् । धनकुटा नगरपालिका ३ का विजय घिमिरे, मोहन खान ठकुरी लगायतले पनि निगाले बाख्रा फारम दर्ता गरेर ३० लाखको लगानीमा बोयर जातको बाख्रा समेत ल्याएर व्यावसायिक रूप दिएका छन् । स्थानीय कुलबहादुर कार्की, भक्तबहादुर कार्की पनि गाई पालक कृषकमा अग्रणी छन् । युवा स्वरोजगार कार्यक्रममार्फत व्यावसायिक कृषकलाई प्रोत्साहन गरिने धनकुटा नगरपालिका ३ का वडाध्यक्ष विकास घिमिरेले बताए । जिल्लामा पछिल्लो समय उन्नत पशुपालनतर्फ आकर्षण बढेसंगै दूध तथा दुग्धजन्य उत्पादन बढ्न थालेको छ ।

आर्थिक वर्ष ०७३/०७४मा १३ हजार मेक्ट्रिक टन अर्थात् ५२ करोड बराबरको दूध उत्पादन भएको थियो । अघिल्लो वर्ष करिव ५० करोड रुपैयॉ बराबरको १२ हजार ५ सय मेट्रिकटन दूध उत्पादन भएको थियो । अहिले दैनिक २० मेट्रिक टन दूध उत्पादन हुन्छ । करिब ८० प्रतिशत जिल्ला बाहिर खपत हुने गरेको छ । गत वर्ष दूध बिक्रीबाट २९ करोड २० लाख जिल्लामा भित्रिएको थियो ।

प्रकाशित : श्रावण ६, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?