कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

हरिया चुरा र मेहन्दीको व्यापार बढ्याे

दीपेन्द्र शाक्य

संखुवासभा — साउन लागेयता खाँदबारीकी लक्ष्मी कार्कीले दुबै हातका पाखुराभरि हरिया चुरा लगाइन् । चुरा मात्रै होइन उनले दुबै हत्केलामा बुट्टेदार मेहन्दी पनि लगाएकी छन् । लक्ष्मी मात्रै हैन, अधिकांश युवतीहरूको हत्केलामा मेहन्दी र पाखुरामा हरियो चुरा देखिन थालेको छ ।

हरिया चुरा र मेहन्दीको व्यापार बढ्याे

धेरैलाई सामान्य जानकारी भए पनि अहिलेका नयाँ पुस्ता भने अर्काको देखासिकी गरेर साउनमा मेहन्दी र हरियो चुरा लगाउने गरेको उनले बताइन् । साउनभरि नारीले हरियो, पहेंलो, रातो रंगका पहिरन, चुरापोते, मेहन्दी लगाउने चलन बढ्दै गएको छ, उनले भनिन्, ‘यी शृंगारका सामग्रीको व्यापार चकाचक छ ।’ साउन लागेसँगै सदरमुकाम खाँदबारी र आसपासका बजारका कस्मेटिक पसलमा नारीको भरिभराउ देखिन्छ ।

साउने संक्रान्तिका दिन परम्परादेखि चलिआएको लुतो फाल्ने चलन बिस्तारै हराउँदै गएको छ, उनी भन्छिन्, ‘तर हरियो चुरा र मेहन्दी लगाउनेको संख्याचाहिँ वर्षैपिच्छे बढ्दै गएको छ ।’परिवारमा भएका सदस्यका हत्केला र पाखुरामा मेहन्दी र चुरा देखेपछि सबैले रहरले लगाउने गरेका छन्, उनले भनिन्, ‘घरैभरि सबैले लगाएका छन्, कसैको हात खाली छैन ।’ खासगरी महिलाले साउन महिनाभर हातमा हरिया चुरा र मेहन्दी लगाउँछन्, उनले भनिन्, ‘एक त साउन महिना प्राकृतिक रूपमा पनि हरियो महिना हो ।’ यो समयमा वनजंगल खेतबारी जताततै हरियाली पनि देख्न पाइन्छ ।

साउन धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ, हरियो रङ्ग प्रेम र वातावरणको प्रतीक मानिन्छ, उनले भनिन्, ‘हरियो चुराको महत्त्व साउनमा बढिरहेको छ ।’ धेरैले साउनमा विशेष रूपमा मनाउने सोमबारको व्रत बस्ने गरेका छन्, त्यसैले रङ्गीचङ्गी पहिरनसँगै बजारमा चुरा, मेहन्दी र कपडाहरूको व्यापार बढेको पाइन्छ, लक्ष्मी भन्छिन्, ‘यसले राम्रो बजार पाएको छ ।’ हरियो, पहेंलो रङ्गको चुराका साथै मेहन्दी र हरियो रातो कपडा र शृङ्गारमा सजिए हिँड्नेहरूको पनि कमी नभएको उनले बताइन् ।

पछिल्लो समय चुरा र महेन्दीलगायत शृङ्गारका सामानको बिक्री बढेको पाथीभरा कस्मेटिक्सका सञ्चालक बिक्रमरत्न शाक्यको भनाइ छ । अरू बेलाभन्दा अहिले यस्ता सामग्रीको कारोबार बढेको छ, उनले भने, ‘साउनभरि यस्तै सामग्रीको मात्र माग हुन्छ ।’ मनग्गे आम्दानी हुँदै आएको व्यापारीको भनाइ छ । नागरिक सप शृंगार पसलका योगेन राईको पसल पनि भीडभाड छ ।

उनका अनुसार दैनिक ५ देखि २० हजारका मेहन्दी र चुरा बिक्री हुँदै आएको छ । स्टक रहेको पनि रहँदैन, उनले भने,‘यो महिनाका लागि भनेर जेठको अन्तिम सातादेखि नै सामानको जोहो गर्न थाल्नुपर्छ ।’ यो महिना हरियो चुरा र महेन्दी नलगाउने महिला तथा युवती भेटिँदैन, उनले भने, ‘यो संस्कार अब एउटा कुनै भूगोल र जातजातिमा मात्रै सीमित देखिएन ।’

हिन्दु संस्कार मान्ने मात्रै हैन, अन्य जातजातिका युवती पनि आकर्षित छन् । साउन महिनामा खासगरी हिन्दु धर्मावलम्बीहरूले भगवान् शिवको पूजाआराधना र व्रत बस्ने परम्परा छ । यो एउटा धर्म र संस्कृतिका लागि पवित्र महिना हो ।

प्रकाशित : श्रावण ६, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?