२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बीपी स्वास्थ्य प्रतिष्ठानमा सेवा शुल्क बढ्यो

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले शल्यक्रिया, बेड शुल्क, ल्याब टेस्टलगायत शुल्क १० प्रतिशतले बढाएको छ । साउन पहिलो सातादेखि लागू हुने गरी शुल्क वृद्धि गरिएको हो ।

बीपी स्वास्थ्य प्रतिष्ठानमा सेवा शुल्क बढ्यो

प्रतिष्ठानले ओपीडी, इमर्जेन्सी कार्डको ११०, जनरल बेड प्रतिदिन २२०, सेमी जनरल प्रतिदिन ६५०, एसीबिनाको प्राइभेट बेड १ हजार ७ सय, एसिसहितको प्राइभेट बेड प्रतिदिन २२ सय र नर्सरी बेड २ सय ५० रुपैयाँ तोकिएको छ । शल्यक्रियातर्फ सामान्यको २ हजार ८ सय, मध्यमस्तरको शल्यक्रियाको ६ हजार ५ सय, ‘मेजर शल्यक्रिया’ को १२ हजार, ल्याप्रोस्कोपिक सर्जरीको १५ हजार, ल्याप्रोस्कोपिक एपेन्डेक्टोमीको १४ हजार प्रोस्टेटको जाँच तथा उपचार टीयूआरपी, ओआईसीलगायतको १६ हजार ५ सय तोकिएको छ ।

हाडजोर्नी विभागका प्राडा तथा प्रवक्ता पशुपति चौधरीले ३ वर्षदेखि शुल्क वृद्धि नगरिएकाले यो आवदेखि १० प्रतिशत बढाइएको बताए । उनले अन्य निजी अस्पतालका तुलनामा प्रतिष्ठानको शुल्क अति कम रहेको दाबीसमेत गरे । ‘प्रतिष्ठानमा शल्यक्रिया गर्दा अधिकतम १५ हजार रुपैयाँ पर्छ । तर निजीमा गर्दा बिरामीले ६० हजार रुपैयाँदेखि १ लाखसम्म तिर्नुपर्ने हुन्छ,’ उनले भने ।

निजी अस्पतालमा बिरामीको चाप कम हुने भएकाले तत्कालै उपचार पाउने गरेका छन् । प्रतिष्ठानमा चाप धेरै हुँदा सेवा पाउन सर्वसाधारणले पालो कुर्नुपर्ने बाध्यता छ । ‘प्रतिष्ठानमा १० प्रतिशतले प्रत्येक वर्ष उपचार सेवा शुल्क वृद्धि गर्ने हो भने १० वर्षमा शतप्रतिशत हुने भएकाले हामीले ३ वर्ष प्रक्रिया रोकेका थियौं,’ उनको दाबी छ । पछिल्लो समय सामाजिक स्वास्थ्य सुरक्षा बिमा पनि लागू भएकाले सर्वसाधारणलाई आर्थिक भार कम हुने प्रवक्ता डा. चौधरीको विश्वास छ ।

शुल्क तिर्नै नसक्ने बिरामीका लागि आधिकारिक रूपमा गाउँपालिका, नगरपालिकाले दिएको सिफारिसका आधारमा नि:शुल्क उपचार दिँदै आएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले नि:शुल्क उपचार सेवामा वार्षिक करिब साढे २ करोड खर्च भएको जनाएको छ ।

प्रतिष्ठानमा ७ सय बेड छन् । दैनिक ३ हजार नयाँ बिरामी उपचारका लागि आउने गर्छन् । बिरामीको उपचारबाटै प्रतिष्ठानले दैनिक सरदर ३० लाख रुपैयाँ आम्दानी गर्छ ।

प्रकाशित : श्रावण ७, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?