सुनसरीमा बढी अपराध

देवनारायण साह

माेरड. — प्रदेश १ का १४ जिल्लामध्ये सबैभन्दा बढी सुनसरीमा आपराधिक घटना भएका छन् । सबैभन्दा कम तेह्रथुममा आपराधिक घटना भएको प्रहरीले जनाएको छ ।प्रदेशभरका जिल्लामा गत आर्थिक वर्षमा ७ हजार ६ सय ९१ घटना भएका छन् ।

सुनसरीमा बढी अपराध

प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक केदार रिजालले प्रदेशभरमा भएका घटनाबारे ७ हजार ६ सय ९१ उजुरीमध्ये ४ हजार १ सय ५९ पछ्र्यौट भइसकेको छ । ३ हजार ५ सय ३२ मुद्दा कारबाही प्रक्रियामा रहेको उनले बताए ।

‘यस प्रदेशमा गत वर्ष शुक्रबारका दिन र असार महिनामा अपराधका घटना बढी भएको छ,’ उनले भने, ‘सबैभन्दा बढी घटना भएको जेठ र असारको शुक्रबार दिनमात्रै २ सय ५६ वटा घटना भएको छ भने असार महिनमा ८ सय ७७ वटा घटना भएको हो ।’ प्रहरीको तथ्यांकले समयका आधारमा मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्मको समयमा अपराधका घटना बढी हुने गरेको छ ।

प्रदेशभर गत आर्थिक वर्षको साउनमा ५ सय ७७, भदौमा ६ सय, असोजमा ५ सय ९४, कात्तिकमा ५ सय ४५, मंसिरमा ५ सय ५२, पुसमा ५ सय १, माघमा ५ सय ३७, फागुनमा ६ सय ६७ र चैतमा ६ सय ९४ वटा घटना भएको प्रहरीको तथ्यांक छ ।सबैभन्दा बढी सुनसरीमा र सबैभन्दा कम तेह्रथुममा घटना भएका छन् । सुनसरीमा १ हजार ९ सय ९० र तेह्रथुममा १ सय घटना भएको छ ।

यस्तै, झापामा १ हजार ६ सय ८७, मोरङमा १ हजार ६ सय २७, उदयपुरमा ५ सय ३५, पाँचथरमा २ सय ८१ वटा घटना भएको प्रहरीको तथ्यांक छ ।इलाममा २ सय ४२, संखुवासभामा २ सय १८, ताप्लेजुङमा १ सय ६७, भोजपुरमा १ सय ६६, खोटाङमा १ सय ६०, धनकुटामा १ सय ४७, सोलुखुम्बुमा १ सय ३१ र ओखलढुङ्गामा १ सय ३० घटना भएको हो ।

प्रदेश १ मा अन्य आपराधिक घटनाभन्दा जबर्जस्ती करणीका घटना बढी भएको छ । चैत र वैशाखको तथ्यांकअनुसार ७७ र जेठ र असारको तथ्यांकअनुसार ७० वटा जबर्जस्ती करणीको घटना भएको छ ।प्रदेश प्रहरीले असार १ गतेबाट सुरु गरेको गुण्डागर्दी नियन्त्रण अभियानअन्तर्गत अहिलेसम्ममा १ सय ४३ जनालाई पक्राउ गरेको छ भने १ सय ३३ जनामध्ये ‘क’ वर्गमा १२, ‘ख’ २० र ‘ग’ १ सय १ जनालाई वर्गीकरण गरेर निगरानीमा राखेको प्रहरी रिजालले बताए ।

‘जनतासँग प्रहरी कार्यक्रमअन्तर्गत प्रत्येक घरमा स्टिकर टाँस्ने अभियानअन्तर्गत प्रदेश १ स्थित ११ लाख १४ हजार ९ सय २६ घरमध्ये १० लाख ६५ हजार ७ सय ८५ घरमा टाँस गरिसकिएको र अन्यमा टाँस्ने क्रम जारी रहेको छ,’ उनले भने, ‘यो कार्यक्रमले आपराधिक घटनाको जानकारी आउने संख्यामा ३७ प्रतिशतले वृद्धि भएको छ ।’

प्रदेशस्थित कुल ६ सय ५२ प्रहरी एकाइमा यसअघि दैनिक ४ हजार ६ सय ५७ सूचना आउने गरेको थियो भने स्टिकर टाँसेपछि दैनिक ६ ३ सय ८० सूचना आउने गरेको उनले सुनाए । स्टिकर टाँसेपछि सर्वसाधारणले दिएको सूचनाका आधारमा प्रहरीको आचरणविरुद्ध कार्य गर्ने ५ जनालाई निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाएको उनले बताए ।

उनले प्रदेश सरकारको सहयोगमा सडक अनुशासन कायम गर्न कोसी गाउँपालिकाको कोसी कटानमा पुनर्ताजगी केन्द्र निर्माण गर्ने कार्य भइरहेको बताए । ‘लामो दूरीको सवारी साधनलाई पुनर्ताजगी केन्द्रमा रोकेर स्वास्थ्य जाँच, चिया, नास्ता खाने, शौचालय, रेस्ट हाउसको व्यवस्था हुन्छ,’ उनले भने, ‘यसले सडक दुर्घटना न्यूनीकरणमा मद्दत पुग्छ ।’

प्रकाशित : श्रावण १२, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?