१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विद्युत गृह पुरिँदा बिजुली अवरुद्ध

कान्तिपुर संवाददाता

संखुवासभा — चैनपुर नगरपालिका १ मा पर्ने याङ्सीजुङमा पहिरोले लघु जलविद्युत योजनाको संरचना पुरिएपछि बिजुली अवरुद्ध भएको छ ।

विद्युत गृह पुरिँदा बिजुली अवरुद्ध

साउन पहिलो साता पहिरोले निदुवा खोला लघु जलविद्युत् आयोजनाको संरचना पुरेको थियो ।


यहाँबाट १२ किलोवाट बिजुली उत्पादन हुँदै आएको थियो । पहिरोले विद्युतगृह पुरिएपछि बिजुली आपूर्ति ठप्प छ । लघुजलविद्युत आयोजना बगाउँदा करिब ४५ लाख क्षति भएको आयोजनाका पूर्वअध्यक्ष लक्ष्मीकुमार लिम्बूले बताए ।

बिजुली आपूर्ति बन्द भएपछि १ सय २३ घरका बासिन्दा प्रभावित छन् । स्थानीयको सक्रियतामा पहिरोले पुरिएका टर्बाइन, जनेरेटर जस्ता केही उपकरण बाहिर निकालिए पनि काम नलाग्ने अवस्थामा रहेको लिम्बूको भनाइ छ ।


‘पहिरोले आयोजनाको कुलो पनि बगाएको छ, उनले भने, ‘समस्यामा परेका छौं, यहाँ केन्द्रीय प्रसारण लाइन पुगेको छैन ।’ आयोजनाको सुरक्षाका लागि लगाएको ग्याभिङसहित ३ सय ५० जाली पनि पहिरोले बगाएको छ । २०६७ मा तत्कालीन जिल्ला विकास समिति, ऊर्जा विकासको अनुदान र स्थानीयको लगानीमा लघु जलविद्युत् योजना सञ्चालनमा ल्याएका थियौं,’ उनले भने, ‘अब लगानी कहाँबाट जुटाउने पत्तो छैन ।’

त्यसबेला ऊर्जा विकासको ११ लाख ६९ हजार, जिविसको २, अन्य सहयोगी र स्थानीय उपभोक्ताबाट रकम संकलन गरी करिब ३० लाखमा बिजुली उत्पादन गरिएको थियो । योजनाले बेलुकी ५ देखि बिहान १० बजेसम्म दैनिक बिजुली दिँदै आएको थियो ।


‘यहाँ केन्द्रीय प्रसारण लाइन कहिले आउने थाहा छैन, गाउँमै सानो भए पनि उत्पादन गरेको बिजुली बगायो, फेरि पहिलेझैं कष्टकर जीवन बिताउनु पर्नेभयो,’ उनले भने, ‘यसको मर्मत स्थानीय तह र सांसदले गरिदिनुपर्छ ।’

गाउँ अन्धकार भएपछि आयोजना पुनर्निर्माणका लागि चैनपुर नगरपालिकासहित सहयोगी निकायको खोजीमा उपभोक्ता लागेको लाक्पासाङ्गे शेर्पाले बताए । जनप्रतिनिधिलाई उनीहरूले सहयोगको अपिलसमेत गरेका छन् ।

प्रकाशित : श्रावण १३, २०७५ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?