‘दुई तिहाइको दम्भ देखियो’

प्रमुख प्रतिपक्षीको आरोप
प्रदेश ब्युरो

विराटनगर — प्रमुख प्रतिपक्षी दल कांग्रेसले विराटनगरलगायत प्रदेशभरका जिल्लामा मंगलबार सरकारविरुद्ध प्रदर्शन र सभा गर्‍यो । सरकारले दुई तिहाइको दम्भ देखाएको, महँगी बढाएको, भ्रष्टाचार संंस्थागत गरेको लगायत विषयमा कांग्रेसले प्रदर्शन गरेको हो ।

‘दुई तिहाइको दम्भ देखियो’

विभिन्न स्थानमा आयोजित सभामा बोल्दै केन्द्रीय नेताहरूले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाए । जनताको हितमा काम गर्ने भन्दै सरकारले जनविरोधी काम गरिरहेको दाबी उनीहरूको थियो ।

विराटनगर महानगरका विभिन्न स्थानमा प्रदर्शन गर्दै जनआन्दोलन चोक पुगेर सभा आयोजना गरिएको थियो । सभाका वक्ताहरूले सरकार अधिनायकवादी शैलीमा अघि बढिरहेको आरोप लगाए । उनीहरूले सरकार प्रजातान्त्रिक मूल्य र मान्यता समाप्त पार्न लागेको बताए ।मोरङका विभिन्न गाउँबाट भेला भएका कार्यकर्ताले सरकारविरुद्ध नारा लगाएका थिए । सभामा बोल्दै पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले सरकारको चरित्र र व्यवहार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाए । ‘दुई तिहाइको दम्भ देखाएर सरकारले जनहितविरोधी कामलाई प्रश्रय दिइरहेको छ,’ उनले भने ।

केन्द्रीय सदस्य अमृत अर्यालले जनताका लागि काम गर्ने भनेर सरकार उल्टै जनविरोधी काममा सक्रिय भएको आरोप लगाए । यसअघिको कांग्रेस सरकारले गरेका लोकप्रिय कार्यक्रमलाई समेत कटौती गर्न सरकार लागिपरेको उनले बताए । केन्द्रीय सदस्य तथा सांसद डिला संग्रौलाले महिलाको विषयमा जथाभावी अभिव्यक्ति दिएर मानमर्दन गर्ने मन्त्रीले राजीनामा दिए पनि त्यसमा संलग्न अन्य व्यक्तिलाई कारबाही हुन नसकेको भन्दै असन्तुष्टि जनाइन् ।


नेता अशोक कोइरालाले कम्युनिस्ट सरकारले जनताको पक्षमा काम गर्न नसक्ने दाबी गरे । प्रदेशसभा सदस्य केदार कार्कीले कम्युनिस्ट सरकारबाट जनताले राम्रा कामको अपेक्षा गर्न नसक्ने बताए । तेह्रथुम सदरमुकाम पनि कांंग्रेसले प्रदर्शन र सभा गर्‍यो । जिल्लाका कांग्रेस नेता, कार्यकर्ता र जनप्रतिनिधि समेत सहभागी प्रदर्शनमा उनीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए । र्‍याली बजार परिक्रमा गरी रेडक्रस चोकमा पुगेर सभामा परिणत भएको थियो ।

प्रदर्शनमा सहभागीहरूले ‘मूल्य वृद्धि फिर्ता गर, अवैज्ञानिक कर प्रणाली खारेज गर, संविधान विरोधी क्रियाकलाप तत्काल बन्द गर, प्रेस स्वतन्त्रता कामय गर, जनविरोधी काम बन्द गर’ जस्ता नारा लगाएका थिए । सभालाई सम्बोधन गर्दै नेताहरूले सरकार तानाशाही बनिरहेको आरोप लगाए । उनीहरूले सरकार प्रजातान्त्रिक मूल्य मान्यता समाप्त पार्न लागिरहेको आरोप पनि लगाए । उदयपुर सदरमुकाम गाईघाटमा पनि कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकारले सर्वसत्तावाद लादेको, सवैधानिक रूपमा सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने मान्यता उल्लंघन गरेको, महँगी बढाएको र भ्रष्टाचार संंस्थागत गरेको भन्दै प्रदर्शन गरेको हो ।

संगम टोलमा रहको पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन सदरमुकाम गाईघाटको विभिन्न भाग परिक्रम गर्दै सभामा परिणत भएको थियो । सरकारले कानुनी शासनको खिल्ली उडाउन लागिपरेको आरोप लगाउँदै संखुवासभा कांग्रेसले सदरमुकाम खाँदबारीमा प्रदर्शन गर्‍यो । पाटी कार्यालय खाँदबारीबाट निस्केको विरोध जुलुसले टुँडिखेल, पोखरीबजार, देवकोटा चोक हुँदै नयाँबजार पुगेको थियो ।


विरोध सभालाई सम्बोधन गर्दै पूर्वराज्यमन्त्री दीपक खडकाले सरकार अधिनायकवादतर्फ अघि बढदै गए कांग्रेस चुप लागेर नबस्ने बताए । यसैगरी इलाम, पाँचथर, झापा, सुनसरी, धनकुटालगायत जिल्लामा पनि कांग्रेसले प्रदर्शन र सभा आयोजना गर्‍यो ।

प्रकाशित : श्रावण १६, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?