खानेपानी शुद्ध पार्न उपकरण
ओखलढुंगा — खानेपानी शुद्ध पार्न यहाँका तीनवटा ठूला खानेपानी योजनामा ‘ट्रिटमेन्ट प्लान्ट’ निर्माण गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले उपभोक्तालाई शुद्ध पानी वितरण गर्ने उद्देश्यले आधुनिक प्रविधि ‘ट्रिटमेन्ट प्लान्ट’ निर्माण गरेको हो ।
ओखलढुंगा सदरमुकाम, रूम्जाटार र कुन्तादेवीमा सञ्चालित खानेपानी योजनामा ट्रिटमेन्ट प्लान्ट निर्माण गरिएको डिभिजन प्रमुख किरण आचार्यले बताए ।
सदरमुकामका लागि २ करोड २० लाख लागतमा निर्माण गरिएको योजना सम्पन्न हुने चरणमा पुगेको छ । त्यसैगरी रुम्जाटारमा २ करोड ६७ लाख लागतमा निर्माण भइरहेको छ । कुन्तादेवीमा भने २ करोड ९७ लाख लागतमा काम सुरु भएको छ ।
जिल्लालाई सन् २०३० सम्ममा पूर्ण सरसफाइयुक्त घोषणा गर्ने लक्ष्य पूरा गर्न यो प्रविधिको निर्माण थालिएको हो । ट्रिटमेन्ट प्लान्ट प्रयोगमा आएपछि ‘खानेपानी गुणस्तर मापदण्ड २०६२’ ले तोकेको मापदण्डअनुसारको शुद्ध पानी उपभोक्ताले पिउन पाउने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।
‘ट्रिटमेन्ट प्लान्ट’ भनेको पानीलाई शुद्धीकरण गर्ने आधुनिक र भरपर्दो प्रविधि हो । हाल निर्माण भएका तीन खानेपानी यो काम सम्पन्न भएपछि जिल्लाभित्रका अन्य योजनाहरूमा पनि यो प्रविधि लागू गरिने डिभिजन प्रमुख आचार्यले बताए ।
प्रकाशित : श्रावण १६, २०७५ ०९:३३