कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘आँखा उपचारमा मनाउनै गाह्रो’

२ हजारको आँखा शल्यक्रिया
आनन्द गौतम

ताप्लेजुङ — दुई दशकअघि मोतीविन्दुका बिरामी खोज्न फक्तालुङ गाउँपालिका ३ लिङखिम पुगेका हिरालाल धामी र काजी गुरुङलाई गाउँलेले मन पराएनन् । डिचेन डोङगला आँखा उपचार केन्द्रमा नेत्र सहायक रहेका गुरुङको काम मोतीविन्दुका बिरामीको नाम संकलन गर्ने र उपचारका लागि सदरमुकाम फुङलिङ आउन मनाउने थियो ।

‘आँखा उपचारमा मनाउनै गाह्रो’

सेवा फाउन्डेसनको सहयोगमा सञ्चालित भैरहवा नेत्रविज्ञान प्रतिष्ठानबाट आएका धामीको पनि उस्तै काम थियो । त्यसका लागि उनीहरूले कम्तीमा ५० जना तयार गर्नुपथ्र्यो । संयोग, एउटै टोलका ११ जना दुवै आँखा देख्न नसक्ने भेटिए । सदरमुकाम फुङलिङबाट पाँच घण्टाको पैदल दूरीमा घर भएका उनीहरू हिंडेर आउन सक्ने उपाय थिएन । ढाकर वा स्ट्रेचरमा बोकेर ल्याउनुपथ्र्यो ।

तीमध्ये दुईजना शल्यक्रियाका लागि तयार भए । सदरमुकाम फुङलिङमा सञ्चालित शिविरमा शल्यक्रिया भयो । एकजनाको जलविन्दु भइसकेकाले उपचार लागेन । एक जनाको मात्रै सफल भयो । अप्रेसन गर्नुपर्ने भन्नेबित्तिकै गाउँले रिसाउने गरेको गुरुङ सम्झन्छन् । यातायातले नजोडिएको जिल्लामा एकातिर शिविर सञ्चालनका लागि चिकित्सकसहितको प्राविधिक टोली ल्याउन र खर्च जुटाउन कठिन थियो । अर्कातिर गाउँभरि जालोले आँखा टालिएर बसेका बिरामी सदरमुकाम ल्याउनै कठिन । यस्तो अवस्थामा पूर्वको अन्तिम हिमाली जिल्लाका लागि तराईमा रहेको भैरहवा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान वरदान साबित भयो जसले २०५४ सालमा पहिलो पटक नि:शुल्क शल्यक्रिया शिविर सञ्चालन गरिदियो । अहिले पनि प्राविधिक सहयोग गरिरहेको छ ।

अहिलेजस्तो आधुनिक प्रविधि नभएको त्यो बेला पाँच दिनको शिविर सञ्चालन गर्नुपथ्र्यो । बिरामीमा कुनै संक्रमण भए पुन: उपचारका लागि बाहिर जान कठिन हुने र त्यसको प्रभावले अरु बिरामीलाई उपचारको पहुँचमा ल्याउन नसकिने अवस्था थियो । त्यही भएर थप दुई दिन प्राविधिक टोली निगरानीका लागि बस्नुपथ्र्यो । कच्ची सडकका कारण औषधिसहितको चिकित्सक टोली भैरहवाबाट ताप्लेजुङ आइपुग्न मात्रै चार दिनसम्म लाग्थ्यो । काजीका अनुसार एउटा शिविरका लागि कम्तीमा १५ दिनको समय छुट्याउनुपथ्र्यो । चिकित्सकका लागि यो धेरै नै महँगो समय हो । तर यस्तो सहयोग नपाएको भए धेरैले आँखाको पर्दा नउघारेरै ज्यान गुमाउनुपर्ने नेत्रज्योति संघका अध्यक्ष मुक्ति पौडेल बताउँछन् ।


मोतीविन्दुले आँखा देख्न नसक्ने एक बिरामीको आँखा जाँच गर्दै स्वास्थ्यकर्मी । तस्बिर : आनन्द गौतम


भैरहवाको टोलीले मात्रै अहिलेसम्म १ हजार ८ सय ५२ जनाको शल्यक्रिया गरेको संघले जनाएको छ । प्राविधिक टोलीले १६ हजार चार सय नौ जनाको थप उपचार गरेका छन् । सुरुका वर्ष निकै कठिन भए पनि शल्यक्रिया सफल बन्दै गएपछि र गाउँमा त्यसको सन्देश फैलिएपछि प्रत्येक छ महिनामा हुने एउटा शिविरका एक सय २७ जनासम्म मोतिबिन्दुका बिरामीले शल्यक्रिया गराएको काजी बताउँछन् । यसको प्रभावसँगै सहरबाट गाउँमा गएर पनि शल्यक्रिया सुरु गरेको पौडेलको दाबी छ । पूर्वको सिरिजंगा गाउँपालिकाको सिनाम, ताप्लेजुङको सादेवा, कालीखोलासमेतलाई केन्द्र पारेर पाँचथरको च्याङ्थापु, ताप्लेजुङको सिंवालगायत स्थानमा शिविर सञ्चालन गरिएको छ ।अहिले स्कुल स्केनिङ पोग्रामअन्तर्गत विद्यालयमा विद्यार्थीको, वडामा गएर युवा र वृद्धवृद्धाको आँखा परीक्षण गर्न थालिएको छ ।

प्रकाशित : श्रावण १७, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?