कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

औषधि पुग्दैन गाउँमा

आनन्द गौतम

ताप्लेजुङ — सदरमुकाम फुङलिङको शेर्पाशेर्पाटोलमा बस्दै आएकी दोर्ची शेर्पाको बसाइ जिल्ला अस्पतालनजिकै छ । फक्तालुङ गाउँपालिका ६ लेलेपदेखि यहाँ आएर बसेकी उनी फुङलिङ नगरपालिका ९ हाङदेवाको पहिरो आसपासमा ढुंगाबाट गिटी बनाउने काम गर्छिन् ।

औषधि पुग्दैन गाउँमा

कहिलेकाहीँ बिरामी हुँदा उनी जिल्ला अस्पताल होइन हाङदेवाको स्वास्थ्य चौकी जान्छिन् । अस्पतालमा गए डाक्टरले जाँच्छन्, स्वास्थ्य चौकीमा अहेवले । उनलाई भने डाक्टरमा भन्दा औषधिमा महत्त्व छ । हाङदेवा गए नाम दर्ता शुल्क लाग्दैन भने औषधि पनि सबै नि:शुल्क पाइन्छ । अस्पताल गए नाम दर्ता गराउँदैदेखि पैसा बुझाउनुपर्ने उनको बुझाइ छ ।


स्थानीय तहको निर्वाचनपछि औषधिको क्षेत्रमा सामान्य प्रगति भएको छ । जनप्रतिनिधिले औषधि अभाव हुन नदिन निगरानी बढाएका छन् । तर सरकारले घोषणा गरेजस्तो सबै प्रकारका औषधि भने स्वास्थ्य संस्थादेखि जिल्ला अस्पतालमै पनि पाइँदैन । सिटामोल, पारासिटामोल, परिवार नियोजनका अस्थायी साधन मात्रै पाइन्छ । हाङदेवा स्वास्थ्य चौकीका प्रमुख प्रमिला निरौलाले पहिलाको जस्तो अभाव र ढुवानीको समस्या नभएको बताइन् । यहाँका वडाध्यक्ष तारा बरालले ढुवानी नभए आफूले खल्तीबाट निकालेर दिने तर औषधि अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई भनेका छन् । हप्तामा कम्तीमा दुई/तीन दिन स्वास्थ्यमा निस्किएर औषधिको अवस्थाबारे जानकारी लिने गरको स्वास्थ्यकर्मी बताउँछन् ।


जिल्लाका २७ वटा स्वास्थ्य संस्थामा सामाजिक लेखा परीक्षण गरेको संस्था महिला उद्यमी संघले तयार पारेको प्रतिवेदनअनुसार सरकारले उपलब्ध गराउने भनेका ७१ प्रकारका औषधि अधिकांश स्वास्थ्य संस्थामा छैनन् । तर अत्यावश्यक औषधि जो दैनिन्दीय रूपमा आवश्यक हुन्छ, त्यस्ता औषधि भने पाइएको छ । सकिएको अवस्थामा पनि लामो समयसम्म अभावको अवस्था नरहेको लेखा परीक्षणमा खटिएका मोहन निरौला बताउँछन् । स्थानीय सरकार गठनपछि आफ्नो आलोचना नहोस् भनेर जनताका अत्यावश्यक विषयमा चासो राख्न थालेको स्वास्थ्यकर्मी बताउँछन् ।


२८ वडामा स्वास्थ्य चौकी छैन
उदयपुरका ८ स्थानीय तहका ७५ वटा वडामध्ये २८ वडामा प्रथामिक स्वास्थ्य चौकी छैनन् । टुक्रिएर बनाइएका वडा स्वास्थ्य चौकीविहीन छन् । जनस्वास्थ्य कार्यालयका अनुसार ४७ वटा वडामा मात्र स्वास्थ्य चौकी छन् ।


‘भौगोलिक हिसावले पहिलादेखि नै विकट ग्रामीण क्षेत्रमा स्वास्थ्य चौकी छैन,’ जनस्वास्थ्यका निमित्त प्रमुख यादवले भने, ‘स्थानीय निकायबाट स्थानीय तह भएयता धेरै वडामा स्वास्थ्य चौकी छैनन्, स्वास्थ्य चौकी नभएका वडाका बासिन्दा छिमेकी वडामा उपचारका लागि जान्छन् ।’ कटारी नगरपालिकाका १४ मध्ये २, ३, ५, ६ र ११ नम्बर वडामा सामान्य उपचार हुने स्वास्थ्य चौकी छैन । यसैगरी चौदण्डीगढी नगरका १० वडामध्ये २, ३ र ६ वडामा छैन । जनस्वास्थ्य कार्यालयका अनुसार बेलाका नगरपालिकाको जम्मा ९ वटा वडामध्ये २, ४, ५, ८ र ९ नम्बर वडामा स्वास्थ्य चौकी छैन । सदरमुकाम गाईघाट रहेको त्रियुगा नगरपालिकाको १६ मध्ये १, ३, ४, ५, ६, ७, ९, ११, १२, १३ नम्बर वडामा स्वास्थ्य चौकी छैनन् । तर, निजी स्वास्थ्य संस्था धेरै छन् भने जिल्ला अस्पतालको पहुँचभित्रै पर्छन.। रौतामाई गाउँपालिकाको जम्मा ८ वडामध्ये ६ र ८ मा छैन । सुनकोसी र ताप्ली गाउँपालिकाको जम्मा ५ वटै वडामा स्वास्थ्य चौकी छन् । उदयपुरगढी गाउँपालिकाको ८ मध्ये २, ५, ६ र ७ नम्वर वडामा स्वास्थ्य चौकी नभएको जनस्वास्थ्यले जनाएको छ ।

प्रकाशित : श्रावण १८, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?