१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बदलिए छाना, बिक्न छाड्यो खर

आनन्द गौतम

तेह्रथुम — फुङलिङ नगरपालिका ८ खोदम्बुका सोमनाथ पौडेल दशक अघिसम्म हिउँदभरि व्यस्त हुन्थे । पुसदेखि ‘खर’ को खेतीमा लाग्ने उनले जेठ अन्तिममा बल्ल फुर्सद पाउँथे । भीर, जंगल र बारीमा हुने खर बटुल्न परिवारका सबै सदस्य लाग्नुपर्थ्याे ।

बदलिए छाना, बिक्न छाड्यो खर

मंसिर अन्तिम सातादेखि काट्न थाल्ने खर माघ अन्तिम सातासम्ममा जंगलबाट बाहिर निकाल्थे र घर वा बारीमा ल्याएर थुपार्थे । यो खर लिन सदरमुकाम फुङलिङदेखि सुकेटार बुङकुङ, नाङखोल्याङदेखिका मानिस आउँथे । ती बस्ती सहरी र लेकाली क्षेत्रमा पर्छन् ।

बिहान रिमरिम उज्यालोमा आइपुग्ने ग्राहकलाई मुठा गनेर दिनुपथ्र्यो । कसले कति बोक्न सक्छ त्यहीअनुसार भारी बनाउन सहयोग गर्नुपथ्र्यो । हातमा नाम्लो बोकेर आउनेलाई चोया बनाइदिने, भारी बाँध्न सघाउनुपर्थ्याे ।

उमेर अनुसार एक जनाले १० देखि ३० वटासम्म मूठा बनाएर बोक्थे । सोमनाथले प्रतिमुठा चार आनादेखि १३ रुपैयाँसम्ममा बेचे । जंगलमै लिन आउनेलाई सस्तो र घरबाट लानेलाई केही महँगो पथ्र्यो ।तर अचेल खर बिक्न छाडेको छ । यही कारण उनी तराईतिर बसाइ झर्दैछन् ।

यातायातले नजोडिँदासम्म जिल्लामा प्रत्येकजसो घरका धुरीमा खरको छानो हुन्थ्यो । सरकारी कार्यालय, विद्यालय र धनाढ्यका घरमा मात्रै जस्तापाताको छानो लगाइन्थ्यो । त्यो पनि २०१५ सालपछि मात्रै सुरु भएको हो । त्यसअघि इँटाको छानो हुन्थ्यो । धरानबाट बोकाएर ल्याउने जस्तापाताको छानोलाई स्थानीय भाषामा ‘टिनको छाना’ भनिन्थ्यो । अचेल खरको छानो भएर घर बिरलै देखिन्छ । सोमनाथ मात्र होइन औल (तल्लो) क्षेत्रका अधिकांशको आम्दानीको स्रोत खर थियो । जंगलको खर जोगाउने र बारीमा खर लगाउने र काटेर बेच्थे ।

आफैं काटेर लैजानेले ठेक्कामा खर रहेको भीर नै लिन पाउँथे । एउटा घरले एक सिजनमा ५० हजारदेखि पाँच लाखसम्म कमाउँथे । सोमका अनुसार अहिले जंगलबाट काट्नै छाडिएको छ । खरको यति धेरै कारोबार गरेका उनी आफैंले पनि घरमा जस्तापाताको छानो लगाएका छन् ।

पहिला हुर्केर छिप्पिन छाडिने खर अचेल भदौ, असोजमा काटेर गाई, भैंसीलाई खुवाइन्छ । गाउँघरमा कमैले मात्रै गुवालीमा खर लगाएका छन् । भेदवारीका चन्द्र घिमिरेका अनुसार आफूलाई हुने खाने देखाउन र आगलागीको त्रासबाट बच्न जस्तापाता लगाउन थालिएको हो । ‘अचेल खरै पाउन छोडियो,’ घिमिरेले भने, ‘बारीको पनि खेर गइरहेको छ, जंगलमा गएर कसले काट्ने र ?’ उनको अनुभवमा जस्तापाता र खरमा धेरै अन्तर छ ।

उनको बुझाइमा जस्तापाता भन्दा खर राम्रो हो । खरको छानो भएको घरमा चिसोमा चिसो र गर्मीमा तातोको पीर हुँदैन । यसले मौसम अनुकूलनमा सहयोग पुर्‍याउँछ । दर्कने पानी पर्दा ठूलो आवाज नदिने भएकाले आनन्दले सुत्न पाइन्छ । खरले शीत सोस्ने भएकाले तिसोमा शीत घरमा पस्न पाउँदैन ।

एकपटक राम्ररी मिलाएर छापे त्यसले २० वर्षसम्म थाम्छ । एकाध वर्ष टालटुल पारेर पनि घरलाई चुुहुनबाट बचाउन सकिने विशेषता खरको रहेको घिमिरेले बताए । एउटा तीनतले घरमा २० भारीसम्म खर खपत हुने गरेको थियो ।

प्रकाशित : श्रावण १९, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?