१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सर्पदंशको बिगबिगी

कुम्भराज राई

ओखलढुंगा — जेठ १९ गते राति कटारी नगरपालिका ४ उदयपुरमा विषालु सर्पले डसेपछि ५० वर्षीया हजुरआमा टीकामाया बस्नेत र ११ वर्षीया नाति सुमन बस्नेतले सँगै ज्यान गुमाए ।

सर्पदंशको बिगबिगी

साउन ६ गते कटारी २ गराँसका १० वर्षीया विपन कार्कीलाई सर्पले टोकेपछि उपचारका लागि बेल्सोत सर्पदंश उपचार केन्द्र पुर्‍याए पनि उनको निधन भयो । परिवारका सदस्यले चिकित्सकको लापर्वाही भएको आरोप लगाए ।

गत मंगलबार बिहान घरको लिपपोत गर्न गोठमा गोबर लिन गएकी कटारी २ गिद्धवरकी २३ वर्षीया यसोदा कट्टेललाई सर्पले डस्यो । उनलाई बेल्सोत केन्द्रले सिरहा चोहर्वास्थित सैनिक क्याम्पमा रेफर गर्‍यो । तर उनको बाटोमै ज्यान गयो । दुई महिनाको अवधिमा कटारी नगरपालिकाभित्र सर्पको टोकाइबाट ४ जनाले ज्यान गुमाए ।

यो घटना दुई महिनाको मात्रै हो । अघिल्ला वर्षहरूमा कैयनले सर्पको टोकाइको कारण ज्यान गुमाउँदै आएका छन् । सर्पदंशका लागि निकै जोखिम मानिने उदयपुरको कटारी, सिन्धुलीको कमलाखोँच क्षेत्रमा यो वर्ष पनि सर्पको बिगबिगी बढेको छ । तर उपचारका लागि आवश्यक औषधि र उपकरण अभावले गर्दा अकालमा सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् ।

नेपाली सेना मातहत कटारीको ताराघारी र बेल्सोतमा दुईवटा सर्पदंश उपचार केन्द्र छन् । तर उपचारका लागि आवश्यक पूर्वाधार र औषधि अभावमा बिरामीहरूलाई उपचारमा समस्या भएको हो ।‘सेनाको विभागले ३०–४० भाइल स्नेक एन्टीभेनम यहाँ उपलब्ध गराउँदो रहेछ ।’ ताराघारीस्थित सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य अमित श्रेष्ठले भने, ‘जबकि कुनैकुनै एकै जना बिरामीलाई ५–१० भाइलसम्म औषधि दिनुपर्ने हुन्छ ।’

गत जेठयता मात्रै ताराघारीमा सर्पदंशको टोकाइको आशंकामा ६५ जना उपचारका लागि आइसकेका छन् । स्नेक एन्टीभेनम जथाभावी किन्न नपाइने भएकाले पनि केन्द्रमा व्यवस्थापन गर्न कठिनाइ भएको व्यवस्थापन समितिको भनाइ छ । सेनालाई आफ्नै विभागले उपलब्ध गराउने र बाँकी नेपाल सरकार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउनुपर्नेमा सहज नभएको गुनासो छ ।

स्थानीय तह लागू भएपछि सोही मातहत औषधि उपलब्ध गराइनुपर्ने व्यवस्थापन समितिको माग छ । तर कटारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामनारायण चौधरीले अझै आफ्नो शाखा जिल्ला स्वास्थ्य मातहत रहेकाले जिल्ला स्वास्थ्यमार्फत विभाग र केन्द्रमा माग गरिएको बताए ।

‘हामीले माग गरेका छौँ । आशा गरौं उपलब्ध हुनेछ ।’ प्रमुख चौधरीले भने, ‘यो औषधि सजिलै उपलब्ध गराउन सकिने नभएकाले प्रक्रिया झन्झटिलो छ ।’ बेल्सोतमा समेत सेनाकै क्याम्पमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छ ।यहाँ स्नेक एन्टी भेनम पर्याप्त भए पनि ‘भेन्टिलेटर’ प्रमुख आवश्यकता देखिएको व्यवस्थापन समिति अध्यक्ष नवराज पोख्रेलले बताए । ‘बिरामी गम्भीर अवस्थामा आइपुग्छन् । उनीहरूलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था हुन्छ ।’ उनले भने, ‘तर त्यो हामीसँग अभाव छ ।’

बेल्स्रोत सर्पदंश उपचार केन्द्रमा गत वैशाखयता ७६ जना उपचारका लागि आइसकेका छन् । गम्भीर अवस्थाका कतिपय बिरामीलाई सिरहास्थित सेनाको क्याम्पमा रहेको सर्पदंश उपचार केन्द्रमा रेफर गरिने गरिएको छ । सिरहामा उपचारका लागि आवश्यक पूर्वाधार केही व्यवस्थित रहेको जनाइएको छ । सिन्धुलीको दुधौली नगरपालिकामा सर्वसाधारणले प्रतिपरिवार पैसा संकलन गरेर सर्पदंश उपचार केन्द्र सञ्चालन गरिरहेका छन् ।

सर्पदंश उपचारको अवस्था नाजुक देखिए पनि सरकारले गम्भीर रूपमा नलिएको स्थानीयको गुनासो छ । सर्पदंशको जोखिम रहेको क्षेत्रमा कम्तीमा ५ किलोमिटर क्षेत्रभित्र पर्ने गरि पर्याप्त पूर्वाधार सहितको उपचार केन्द्र सञ्चालन गरिनुपर्ने उनीहरूको माग छ ।‘विषालु सर्पको विष यति खतरा हुन्छ कि पाँच मिनेटभित्र उपचारका लागि पुर्‍याइसक्नुपर्ने हुन्छ ।’ स्थानीय ऋषि राईले भने, ‘तर अहिले भएको उपचार केन्द्र टाढाका बिरामीलाई समय लाग्ने र त्यसमाथि आवश्यक उपकरण, औषधि अभावले गर्दा ज्यान गुमाउने गरेका छन् ।’

सरकारी स्तरबाटै घर वरपर सर्प आउन नदिन विभिन्न किसिमका विषादी वितरण गर्न सके घटनामा कमी आउने स्थानीयको भनाइ छ । विज्ञहरूका अनुसार नेपालमा ७९ प्रकारका सर्पहरू पाइन्छन् । त्यसमध्ये सबैभन्दा बढी करेट र गोमन सर्पको टोकाइबाट व्यक्तिको ज्यान जाने गरेको छ । यी सर्प सबैभन्दा विषालु सर्पमध्येमा पर्छन् ।

तापक्रम वृद्धिसँगै पहाडी भूभागमा समेत सर्पदंशको बिरामी अस्पताल आउने गरेका छन् । ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा समेत वर्षेनी यस्ता बिरामी देखिन थालिएको अस्पताल प्रशासनले जनाएको छ । तर औषधि सरकारले उपलब्ध नगराउने कारण उपचार सम्भव नभएपछि फर्काउने गरिएको प्रशासन प्रमुख बुद्ध श्रेष्ठले बताए ।

तराईका २६ जिल्ला सर्पदंशका लागि उच्च प्रभावित मानिन्छन् । स्वास्थ्य मन्त्रालयको ‘इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखा’का अनुसार प्रत्येक वर्ष ८५ देखि १ सय २० जनाले नेपालमा सर्पदंशकै कारण ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित : श्रावण १९, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?