कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सुस्त गतिमा वैकल्पिक मार्ग

डिल्लीराम खतिवडा

बेल्टार (उदयपुर) — धरान–चतरा–हेटाैंडा सडक योजना निर्माणको काम सुस्त भएको छ । सरकारले राष्ट्रिय गौरवको योजनाका रूपमा लिइए पनि सडक निर्माणका लागि आवश्यक ढुंगा, गिटी र बालुवा अभाव लगायत कारणले काम ढिलाइ भएको हो ।

सुस्त गतिमा वैकल्पिक मार्ग

सडक योजना ३ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्यसाथ काम भइरहेको छ । सडक विस्तारका लागि आवश्यक पर्नेमा कच्चा पदार्थ रोडा, ढुंगा, बालुवा र ग्राभेल खोलाबाट झिक्न रोकिँदै निर्माणमा समस्या भएको हो ।

काम सुरु भएको डेढ वर्ष बितिसकेको छ । बाँकी डेढ वर्षमा सडक निर्माणको महत्त्वपूर्ण काम कालोपत्र गर्नुपर्ने हो । तर कालोपत्रेका लागि तयारी अवस्थामा पुर्‍याउन अहिले नै विस्तार भएको क्षेत्रमा ग्राभेल हाल्नुपर्ने निर्माण कम्पनीले जनाएको छ । असारअघि नै भण्डार गरिएको ग्राभेल प्रयोग भइसकेको पूर्वी खण्ड निर्माण गर्न ठेक्का लिएको कम्पनी जेडआइइसी लामा एन्ड शर्मा जोइन्ट भेन्चरका प्रोजेक्ट म्यानेजर निर्माण पोखरेलले बताए । ‘पहिले भण्डारण गरिएको सामग्री सकियो,’ प्रोजेक्ट मेनेजर पोखरेलले भने, ‘थप भण्डारण र प्रयोगका लागि स्थानीयदेखि प्रदेश र संघीय सरकारले रोक्दा काम गर्न समस्या भएको छ ।’

स्थानीय तहले राष्ट्रिय गौरवको योजना भएकाले खोलाबाट ग्राभेल उठाउन दिने भने पनि अन्योल भएकाले कामले गति लिन नसकेको उनले बताए । त्रियुगा नगरपालिकाले सरकारले संरक्षित क्षेत्रमा ३ महिना (असार, साउन र भदौ) नदीजन्य पदार्थको निकासीमा रोक लगाए पनि राट्रिय गौरवको योजनामा पर्ने धरान–चतरा–हेटांैडा सडक योजना लगायतलाई पहिले नै वातावरणीय असर मूल्यांकन भएका खोलाबाट निकासी गर्न दिने निर्णय गरेको थियो ।

नगरपालिकाले जिल्ला समन्वय समितिले तोकेकै दर रेटमा निकासी गर्न गर्न दिने भनिए पनि संघीय कानुनले रोक लगाएपछि ढुंगा, गिटी, बालुवा अभाव भएको छ । नदीजन्य पदार्थको प्रयोग पूर्ण अधिकार स्थानीय तहलाई भएको भनिएको छ । चालु आर्थिक वर्षमा नदीजन्य पदार्थको निकासीलगायत बन्दोबस्त स्थानीय तहले गर्ने भनिएको छ । यता सरकारले राष्ट्रिय गौरवको योजना भएकाले तोकेको समयमा सक्नुपर्ने भन्दै पटकपटक ताकेदा गर्ने गरेको छ । समयावधि तोकेर ठेक्का दिए पनि सरकारी सहयोग नपाउँदा अपेक्षित गतिमा काम नसकेको निर्माण कम्पनीले जनाएको छ ।

अधिकारको दुरुपयोग बढी हुने भएकाले पनि ढुंगा, गिटी, बालुवा झिक्न समस्या भएको सडक योजना पूर्वी खण्ड गाईघाटका आयोजना प्रमुख उमेशविन्दु श्रेष्ठले बताए । ‘अहिले बर्षातको समय पनि भएको त्यसैले नदीजन्य पर्दाथको भण्डारण पहिले नै गर्नुपर्ने थियो ।’ पूर्वी खण्डको १ सय ३४ किलोमिटर सडक विस्तार डेढ वर्षता भइरहेको छ । विभिन्न खोलामा निर्माण हुने पक्की पुलबाहेक ६ अर्बको लागतमा ३ वर्षभित्र सम्पन्न गर्ने गरी सडक निर्माणको काम सुरु गरिएको हो । यस खण्डमा पर्ने ४३ ओटा पुल निर्माणको ठेक्का कोभेक/रसुवा/टुन्दी जेभी कन्स्ट्रक्सनले लिएको छ । २०७६ सालसम्म निर्माण सक्ने गरी कार्य योजना तयार भएको छ ।

सवारी साधनका लागि ७ मिटर र दायाँबाँया सोल्जर क्षेत्र २/ २ मिटर गरी ११ मिटर सडक कालोपत्रे गरिने सडक योजनाले जनाएको छ । पूर्वीलाई मुलुकका विभिन्न भागसग जोड्ने पूर्व पश्चिम लोकमार्गको विकल्पमा यो राजमार्गको निर्माण सुरु गरिएको हो ।पुलपुलेसा, कल्भर्ट र अन्य संरचना निर्माणसँगै सडक चौडा पार्ने काम पनि सँगै हुने भएकाले राट्रिय गौरवको योजना मानिएको सडक निर्माण कार्य ठेक्का सम्झौता अवधिमै सम्पन्न हुने सर्वसाधारणले विश्वास लिएका छन् ।

प्रकाशित : श्रावण १९, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?