४ करोड ५० लाखको नास्पाती निकासी

कान्तिपुर संवाददाता

सुनसरी — दुई महिनामा नेपाली नास्पाती करिब ४ करोड ५० लाखको भारतमा निर्यात हुने गरेको छ । उपभोक्ताको तहमा नेपाली नास्पातीको माग बढे पनि निर्यात सम्झौता नभएको कृषिउपज बजार व्यवस्थापन समितिले जनाएको छ ।

४ करोड ५० लाखको नास्पाती निकासी

सिजन सुरु भएसँगै भारतीय बजारमा नास्पातीको माग अत्यधिक बढेको छ । पूर्वी पहाडी भेगमा नास्पातीको व्यावसायिक खेती छैन । कृषकहरूको खेतबारीमा पहिले नै रोपिएको नास्पातीको बिरुवा हुर्केर फल उत्पादन हुँदै आएको छ । भारतीय बजारमा आधिकारिक रूपमा निर्यात हुन नसके पनि २० रुपैयाँ किलोका दरले चलेको बिक्रीका आधारमा एउटै बोटबाट डेढ लाखदेखि २ लाख रुपैयाँसम्मको नास्पाती उत्पादन हुने गरेको छ ।

धनकुटा, तेह्रथुम, संखुवासभा लगाायत पहाडी जिल्लामा उत्पादित नास्पाती व्यापारीहरूले संकलन गरेर धरानको कृषि बजारमा ल्याउने गरेका छन् । भारतीय बजारमा आधिकारिक रूपमा निर्यात नभए पनि धरानमा आइपुगेका भारतीय व्यापारीहरूले साउन र भदौ भरमा ४ हजार १ सय मेट्रिकटन अर्थात् करिब ४ करोड ५० लाख रुपैयाँको नास्पाती लैजाने गरेको समितिले जनाएको छ ।

नास्पाती व्यापारी ज्ञानबहादुर बस्नेतले भने, ‘भारतमा माग बढे पनि भन्सार मार्फत आधिकारिक रूपमा निर्यात गर्न सकिएको छैन । अदुवालाई छुट दिएजस्तै भारतीय बजारमा निर्यात हुने नेपाली नास्पातीलगायत फलफूल र तरकारीको सहज निर्यात हुन सके भारतीय उपभोक्ताले अर्गानिक खान पाउने र नेपाली कृषक र व्यापारीहरू पनि लाभान्वित हुने थिए ।’

नेपालको पहाडी भेगमा नास्पाती कमैमात्र खपत हुन्छ । पूर्वमा धरानमा कृषि उपज बजार स्थापना भएसँगै ०५८ देखि नास्पातीको व्यावसायिक बिक्री सुरु भएको हो । बजार व्यवस्थापक लक्ष्मण भट्टराईले भने, ‘कोसी करिडोरका किसानबाट सस्तोमा नास्पाती किनेर चोरी पैठारीको भरमा कहिलेसम्म नास्पाती भारत पठाउने ? भारतले नेपाली नास्पाती रोके पनि चोरीपैठारीको भरमा निर्यात भइरहेकाले त्यस्तो कार्य रोक्नका लागि विहार सरकार र नेपालको प्रदेश १ को सरकारबीच समन्वय, सहकार्य गर्न सम्झौता हुनुपर्‍यो ।’

चोरी पैठारीका भरमा २ महिनामा करिब साढे ४ करोड रुपैयाँको कारोबार हुन्छ भने आधिकारिक निर्यात सम्झौता हुने हो भने कोसी करिडोरबाट कम्तीमा १० हजार मेट्रिकटन नास्पाती उत्पादन हुने र प्रतिकिलो २५ रुपैयाँमात्र कायम गरे २५ करोड रुपैयाँको निर्यात गर्न सकिने भट्टराईले बताए ।

नेपाली नास्पातीको सिजन सकिन लाग्दा नेपाली बजारमा चिनियाँ नास्पाती आउने गरेका छन् । तर ती केही सेता देखिने चिनियाँ नास्पातीको प्याकेजिङ, ब्रान्डिङ र मार्केटिङका कारण प्रतिकिलो १ सय ५० रुपैयाँमा उपभोक्ताले किनेर खाने गरेका भट्टराईले बताए । उनले भने, ‘भारतमा आधिकारिक निर्यात हुन नसकेको अवस्थामा नेपाली नास्पातीका लागि शीतभण्डारमा राखेर ब्रान्डिङ, प्याकेजिङ र मार्केटिङ गर्न सके वार्षिक कम्तीमा ५० करोड रुपैयाँको कारोबार गर्न सकिन्छ । तर यतातिर सरकारको ध्यान गएको छैन । हामीले भनेर मात्र हुँदैन ।’

प्रकाशित : श्रावण २०, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?