स्थानीय तहमा छैनन् कर्मचारी

कान्तिपुर संवाददाता

सुनसरी — धरान उपमहानगर वडा १५ को कार्यालयमा बिहीबार ११ बजेर ४५ मिनेटमा खुल्यो । सेवाग्राही १० बजेदेखि नै भेला भइसकेका थिए ।धरानको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको वडाको कार्यालय ढिलो खुल्नुमा कर्मचारी अभाव कारण थियो ।

स्थानीय तहमा छैनन् कर्मचारी

स्थानीय तहको चुनाव हुनु अगाडि उक्त वडा कार्यालयमा एक सचिव, एक सहायक सचिव र तीन जना अन्य सहयोगी कर्मचारीहरू थिए ।

अधिकार सम्पन्न भनिएको स्थानीय तहको सरकार बनेपछि एक सचिव र एक जना सहयोगीमात्र वडा कार्यालयमा राखिएकाले कार्यालय ढिला खोलियो । ढिला आइपुगेका सचिव हिरा खत्रीले भने, ‘कर्मचारीका रूपमा म एक जनाले केके गर्नु भ्याउनु ? नगरपालिका पुग्नुपर्‍यो । फर्किंदा ढिलो भयो । सहयोगी कर्मचारी बहिनी स्थलगत मुचुल्का उठाउन गएकीले उनी पनि ढिला भइन् । काम त सेवाग्राहीकै गरिहेका छौं ।’

सेवाग्राहीको चाप उतिकै बढेको भए पनि एक जना सचिव र सहयोगीले व्यक्तिगत घटना दर्ता, अनलाइन दर्ता चलानी, जग्गा नामसारी, नागरिकताको सिफारिस, घर जग्गाको चारकिल्ला प्रमाणित, नाता प्रमाणित, पेन्सन सिफारिस, सनाखतजस्ता १९ थरीका कागजपत्र बनाइदिने, छाप लगाएर वडाध्यक्षकोमा पठाउने गरेका छन् ।

उनले भने, ‘यी त वडाका प्रशासनिक काममात्र भए, वडाको बजेट बनाउने, विभिन्न विकास निर्माणका योजनाको खाका बनाउनेदेखि ओभरसियर इन्जिनियरले गर्ने प्राविधिकको काम पनि भ्याउनुपर्ने अवस्था छ । ढिलासुस्ती त हुने नै भयो । प्रत्येक फाँटका लागि बेग्ला बेग्लै कर्मचारी भए छिटो र गुणस्तरीय पनि हुन्थ्यो होला ।’

कर्मचारीको अभाव धरानको १५ वडामा मात्र छैन । २० वटै वडामा अभाव छ । नगरपालिकाको कार्यालयमा कर्मचारी अभाव छ । कार्यवाहक नगर प्रमुख मन्जु भण्डारीले भनिन्, ‘कर्मचारी अभाव छन् तर कुन–कुन महाशाखा र फाँटमा कस्ता कर्मचारी अभाव छन् भनेर संगठन संरचनाविज्ञ बोलाएर सर्भे गरिरहेका छौं । यसै साता प्रतिवेदन बनाएर मन्त्रालयमा बुझाउने छौं ।’ कर्मचारी अभावकै कारणले तीव्रताका साथ काम गर्न नसकिएको उनले बताइन् । प्रतिवेदनमा उल्लेख भएअनुसार कर्मचारी माग गर्ने तयारी भइरहेको कावा प्रमुख भण्डारीले बताइन् ।

इनरुवा नगरपालिकाले पनि कर्मचारी अभावको पीडा बेहोर्न बाध्य भएको छ । स्थानीय तहका निर्वाचित प्रमुखलाई स्थानीय सरकार प्रमुख भनिए पनि त्यो सरकार मातहत सेवाग्राही (जनता) को काम गर्ने, उनीहरूले ल्याएको कागज पत्रमा हस्ताक्षर गरेर प्रमाणित गर्ने अधिकृत तहका कर्मचारी अभाव भएको इनरुवाका प्रमुख राजन मेहेताले बताए ।

सुनसरीमा दुई उपमहानगरपालिकाहरू धरान र इटहरी, चार नगरपालिकाहरू बराहक्षेत्र, इनरुवा दुहवी, रामधुनी, छ गाउँपालिकाहरू कोसी, बर्जु, देवानगन्ज, गढी, हरिनगरा र भोक्रा गरी जम्मा १२ स्थानीय तह रहेका छन् । यी सबै स्थानीय तहमा हालसम्म पर्याप्त कर्मचारी नभएपछि विकास निर्माण र ‘समृद्धि सपना’ को खाकाले रूप लिन सकेका छैनन् ।

सुनसरीको सवैभन्दा पुरानो नगरपालिका मानिएको इनरुवा नगर प्रमुख मेहेताले भने, ‘हामीलाई स्थानीय सरकार प्रमुख भन्दिया छन् । न झन्डा छ न सरकार चलाउने डन्डा छ । जनप्रतिनिधि आएका छौं । कर्मचारी छैन । केही छैन, पहिला जस्तो थियो, त्यस्तै छ ।’ इनरुवामा बबिया, डुम्राहा, जल्पापुर, मधेसा, चाँदवेला गाविसहरू समायोजन गरिए पनि पुरानै कर्मचारीको भरमा स्थानीय सरकार चलाउनुपरेको उनले बताए ।

उनले नगरपालिकामा मुखिया र खरिदार तहका कर्मचारीको भने फौज नै रहेको बताए । अधिकार सम्पन्न, विकास र समृद्धिका लागि सरकारले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, न्यायिक समिति, नापी तथा मालपोत, भूमिसुधार, पशु, कृषि, बागवानी, वनका शाखाहरू बनाइदिए पनि ती शाखाहरूमा हालसम्म एउटा पनि विज्ञ अधिकृतले आफ्नो टेवल कुर्सी सम्हालेका छैनन् ।दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले पर्याप्त कर्मचारी नहुँदा सेवाग्राहीको काम ढिलो हुने गरेको बताए ।

प्रकाशित : श्रावण २०, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?