कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

औद्योगिक समस्या समाधानमा सरकार गम्भीर : प्रधानमन्त्री

कार्यदल बनाएर समस्याको अध्ययन गरिने
माधव घिमिरे

विराटनगर — प्रधानमन्त्री केपी ओलीले औद्योगिक–व्यापारिक क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उद्योगी–व्यवसायीसँगको भेटमा उनले शनिबार सो कुरा बताएका हुन् ।

औद्योगिक समस्या समाधानमा सरकार गम्भीर : प्रधानमन्त्री
‘निजी क्षेत्र र सरकार दुई होइन एउटै पाटा हुन्, हामी सबै समस्या क्रमिक रुपमा समाधान गर्नेछौं,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भेटमा सहभागी उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भने, ‘तत्काल समाधान गर्नुपर्ने काम तुरुन्तै र दीर्घकालिन रुपमा गर्ने कार्य नीति नियम परिवर्तन गरेर गर्छौं ।’

प्रधानमन्त्री ओलीले निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको भन्दै असल साझेदारका रुपमा काम गर्ने बताएका थिए । यसका लागि एउटा कार्यदल बनाउने प्रतिवद्धता प्रधानमन्त्रीले व्यक्त गरेको घिमिरेले बताए ।

कार्यदलमा उद्योग संगठन मोरङका र मोरङ व्यापार संघका अध्यक्षसमेतको सहभागिता हुने भएको छ । कार्यदलले सबै समस्या समाधानका लागि गर्नुपर्ने विवरण पेस गरेपछि समाधानका लागि पहल थाल्ने सहमति भएको संघका अध्यक्ष पवन सारडाले बताए ।

भेटका अवसरमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्योग–व्यवासाय क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका थिए । समस्या समाधान गर्दै अघि बढेर जिम्मेवार भई आर्थिक विकासमा मद्दत गर्नुपर्ने उनले बताएका थिए ।

करिब तीन घन्टा भएको छलफलमा उद्योग–व्यापार क्षेत्रका प्रतिनिधि, मन्त्रीहरु, सभासदहरु, विभिन्न मन्त्रालयका सहसचिव, विद्युत प्राधिकरणका पदाधिकारीलगायतको सहभागिता थियो ।

ब्यापार संघ अध्यक्ष सारडाले निजी क्षेत्र सरकारसँग काँध मिलाएर काम गर्न तयार रहेको बताएका थिए । संगठनका अध्यक्ष घिमिरेले उद्योगी ब्यवसायीको तर्फबाट संयुक्त रुपमा तयार पारिएको समस्या, सुझाव र अपेक्षासम्बन्धी सुझाव प्रतिवेदन पढेर सुनाएका थिए ।

प्रकाशित : श्रावण २०, २०७५ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?