१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

भूकम्पप्रतिरोधी विद्यालय

कान्तिपुर संवाददाता

ओखलढुंगा — भूकम्पले क्षतिग्रस्त सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ५ स्थित जनजागृति आधारभूत विद्यालयमा नयाँ भवन बनाइएको छ । हिमाली हावापानी सुहाउँदो अत्याधुनिक र भूकम्पप्रतिरोधी दुई कोठे भवन निर्माण भई आइतबार औपचारिक उद्घाटन भएको हो ।

भूकम्पप्रतिरोधी विद्यालय

सोलु दुधकुण्ड नगरपालिकाकी उपप्रमुख कल्पना राई र अस्ट्रेलियन हिमालयन फाउन्डेशनकी कार्यक्रम प्रमुख छिरिङ लामा ओगरमनले संयुक्त रूपमा उद्घाटन गरे । ३९ लाख १८ हजार ४ सय ४८ रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको हो । विद्यालय भवन सोलुखुम्बुमा शैक्षिक क्षेत्रमा काम गरिरहेको ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) ले अस्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोगमा निर्माण भएको हो ।

भवन उद्घाटन कार्यक्रममा फाउन्डेसनकी कार्यक्रम प्रमुख ओगरमनले नवनिर्मित विद्यालय भवन अस्ट्रेलियाको उत्कृष्ट डिजाइन भएको र यो हिमाली हावापानी सुहाउँदो भएको बताइन् । उनले यही डिजाइनले अस्ट्रेलियामा उत्कृष्ट डिजाइनको पुरस्कार जितेको समेत बताइन् । आगामी दिनमा पनि नेपालको शैक्षिक क्षेत्रमा सहयोग गर्ने उनले बताइन् ।

रिड नेपालका महाप्रबन्धक उज्जवल अमात्यले २०७२ सालको भूकम्पपछि नेपालमा अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा ८७ वटा विद्यालय भवन निर्माण गरेको बताए । त्यसमध्ये सोलुखुम्बुमा १३ वटा अस्ट्रेलियन डिजाइनको भवन बनेको जानकारी दिए । प्रत्येक भवनमा दुईदुई वटा कोठा रहेको अमात्यले बताए ।

निर्माण भएका सबै भवनहरू भूकम्प प्रतिरोधी, साउन्ड प्रुफ, हावाहुरी तथा पानी पर्दा समेत पढाइमा बाधा नपुग्ने, जाडो मौसमका लागि समेत उपयोगी भएको रिड नेपालका इन्जिनियर सुमन राईले बताए । रिड नेपालले जन जागृति आधारभूत विद्यालय, सिंहकाली आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय, वासाखाली माध्यमिक विद्यालयमा, गार्मा माध्यमिक विद्यालय र चाँगेस्थान माध्यमिक विद्यालय केरुङका गरी जम्मा १३ वटा भवन निर्माण गरेको हो ।

प्रकाशित : श्रावण २२, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?