३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बीपी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन पहल

कान्तिपुर संवाददाता

सुनसरी — वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्साशास्त्र अध्ययन, अनुसन्धान र बिरामी उपचारका लागि विश्वविद्यालयका रूपमा स्थापित गर्न सकिने सरोकारवालाले बताएका छन् ।

बीपी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन पहल

यसका लागि प्रतिष्ठान सक्षम भएकाले सरकारले मार्ग प्रशस्त गर्नुपर्ने प्रतिष्ठानका पदाधिकारीले बताएका छन् । नेपालमा हाल सञ्चालित करिब दुई दर्जन मेडिकल कलेजहरू त्रिवि, काठमाडांै विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएका छन् । प्रतिष्ठान वैधानिकता नपाएको ‘डिम्ड युनिभर्सिटी’ भएको र चिकित्साशास्त्रका लागि आफ्नै पाठ्यक्रम, संकायहरू भएको भौतिक पूर्वाधार र संरचना रहेको भारतको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सको मोडलमा सञ्चालित स्वास्थ्य शैक्षिक संस्था हो ।

प्रतिष्ठान करिब ५ सय ७५ बिघा जमिनमा फैलिएको छ । ८ सय बेड छन् । ४ सय बेडको अस्पताल बन्दै छ । प्रतिष्ठानमा ५ सयभन्दा बढी स्पेसियालिटी र सुपर स्पेसियालिटी सेवा दिने चिकित्सक, ६ सय नर्स, ७ सय कर्मचारी छन् । उपकुलपति प्राडा राजकुमार रौनियारले भने, ‘प्रतिष्ठानलाई चिकित्सा शिक्षा विश्वविद्यालय बनाउने योजना स्थापनाकालदेखि बनाएको र अहिले आएर भौतिक पूर्वाधार, संरचना, जनशक्ति, स्रोतसाधानले ‘तन्नेरी’ भएकाले गत साता सम्पन्न ४१ औं सञ्चालक परिषद् सिनेटको बैठकमा सरकारको ध्यानाकर्षण गरिएको हो ।’

कुलपति प्रधानमन्त्री केपी ओली र सहकुलपति स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन चासो दिएको एक पदाधिकारीले बताए । प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्यमन्त्री यादवले प्रतिष्ठानको बसेको सिनेट बैठकले विश्वविद्यालय बनाउने एजेन्डाको सुझाव आफूले पाएको बताए ।

उनले भने, ‘सिनेटले निर्णय गर्दैमा विश्वविद्यालय नबन्ने भएकाले प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाउने नबनाउने भन्ने अधिकार सरकारले अन्तिम निर्णय गर्ने हो । प्रतिष्ठान आफैंमा डिम्ड युनिभर्सिटी भएकाले यसबारे सरकारले थप छलफल गर्छ ।’

प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले प्रतिष्ठानलाई युनिभर्सिटी बनाउने वा नबनाउने विषयमा संसद्मा पेस गर्ने सरकारले आश्वासन दिएको बताए । उनले सरकारले हरेक प्रदेशमा एक विश्वविद्यालय बनउने नीतिअनुसार ‘वयस्क’ भएको प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाउनुको विकल्प नरहेको बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वरजिस्ट्रारसमेत रहेका प्रतिष्ठानका नर्सिङ कलेजका प्राध्यापक श्याम लम्साल प्रतिष्ठानले आफ्नै बलबुताले चिकित्सा विज्ञानमा अन्तर्राष्ट्रिय साख बनाइसकेको र उपचार सेवा, शिक्षा र अनुसन्धानका कार्यक्रममा निजी पहिचान बनाइसकेको अवस्थामा विश्वविद्यालय बनाउनु उचित हुने बताए ।

प्रकाशित : श्रावण २४, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?