संकटमा सहयोगी बन्दै आमा समूह

कुम्भराज राई

ओखलढुंगा — सिद्धिचरण नगरपालिका २, ठूलाछापकी देवकुमारी कटवाल लडेर घाइते भइन् । उनको मेरुदण्डमा चोट थियो । अस्पतालले महिना दिनभन्दा बढी आराम गर्न परामर्श दिएपछि खेती गर्ने मौसममा उनलाई पर्नु पीर पर्‍यो । उनका पतिले श्रीमती आबद्ध आमा समूहलाई ‘अब कोदो रोप्न सहयोग गरे गर्नुस् नत्र त मैले कमण्डलु बोकेर माग्न हिँड्नुपर्ने भो’ भने ।

त्यसपछि रुद्रकालिका आमा समूहको बैठक बस्यो । बैठकमा एक दिन बराबर दुई घण्टा सबैले कोदो रोपिदिएर सहयोग गर्ने निर्णय गरे । भोलिपल्टदेखि नै निर्णयअनुसार मिलेर कोदो रोपिदिए । केही दिनमै उनको मेलो सकियो । केही समयपछि समूहकै अर्की सदस्य चित्राकुमारी कार्कीको छोरा लडेर खुट्टा भाँचे । उनले पनि छोराको हेरचाह गर्दा कोदो रोप्न सकिनन् । उनलाई पनि समूहले मिलेर देवकुमारीकै जसरी सहयोग गरे ।


लगत्तै अर्की सदस्य होमकुमारी खडकाको पित्तको शल्यक्रिया गर्नुपर्‍यो । उनको खेती पनि समूहले मिलेर सोहीअनुसार गरिदिए । यसो गर्दै जाँदा यसले अभियानको रूप लियो । ‘एक दिन दुई घण्टे सहयोग अभियान’ अहिले लोकप्रिय बन्यो । ‘भैपरी आउँदा सहयोग गर्ने हामीले निर्णय गरेका थियौँ ।’ समूहकी अध्यक्ष यमुना खतिवडाले भनिन्, ‘अब त जुनसुकै काममा पनि यसरी नै मिलेर गर्ने भन्ने प्रस्ताव पारित भएको छ ।’

Yamaha


समूहमा ५० जना आमाहरू सदस्य छन् । समूहमा मिलेर काम गर्दा छिटो छरितो हुनुका साथै आफैंले गरेसरह राम्रोसँग गरिदिने भएकाले सबै सदस्य अभियानबाट खुसी छन् ।


आगामी दिनमा खासगरि सुत्केरी र गर्भवती भएको सदस्यको घरको खेतीपाती लगायतका काम अनिवार्य रूपमा ‘एक दिन दुई घण्टे सहयोग अभियान’ अनुसार गर्ने लक्ष्य रहेको अध्यक्ष खतिवडाले बताइन् ।


उनीहरूले यसअघि गाउँघर सरसफाइ राख्ने भन्दै प्रत्येक घरमा फोहोर संकलनका लागि ‘डस्टविन’ राख्ने काम गरेका थिए । गाउँघरमा मदिरा सेवन गरी झैझगडा र होहल्ला गर्नेलाई जरिवाना गर्ने गरेका छन् । पहिलोपटक १ हजार, दोस्रो पटक १ हजार ५ सय तेस्रोपटक २ हजार नगद जरिवाना गराउने चौथोपटक भेटिए प्रहरीकहाँ लगेर कारबाही गर्ने भनेपछि सदाझैं मदिरा सेवन गरी कुटपिट, झैझगडाको घटनामा समेत कमी आएको छ ।

प्रकाशित : श्रावण २५, २०७५ ११:५४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा गुड्यो छुकछुके रेल

कान्तिपुर संवाददाता

जनकपुर — भारतको जयनगरदेखि नेपालको खजुरीसम्मको साढे ८ किमिमा बुधबार ब्रोडगेज रेल गुडेको छ । झन्डै पाँच वर्षपछि नेपाली भूमिमा पुन: रेल सञ्चालन गरिएको छ । भारत सरकारको सहयोगमा सञ्चालित जनकपुर रेलवे विस्तार तथा स्तरोन्नति आयोजनाले परीक्षणका लागि रेल गुडाएको हो ।

दुवै देशका प्राविधिकले परीक्षण सफल भएको जनाएका छन्। भारतीय निर्माण कम्पनी इरकोनका साइट प्रमुख रवि सहाय तथा रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका इन्जिनियर विनोद ओझाले परीक्षण सञ्चालन शतप्रतिशत सफल भएको बताए। ‘बिहान जयनगरबाट खजुरीसम्म रेल इन्जिन सञ्चालन गरियो। अपराह्न ५३ बैगन (माल तथा यात्रु बोक्ने बोगी) ब्लास्ट (रेल लिक निर्माणमा प्रयोग हुने गिट्टी) सहितको मालगाडी चलाइयो,’ इरकोनका साइट प्रमुख सहायले फोनमा भने।

परीक्षण सञ्चालनकै क्रममा भारतबाट ५ हजार टन ब्लास्ट नेपाल ओसारिएको थियो। यसअघि रेल लिक, स्टेसन भवन, पुलपुलेसा लगायतमा प्रयोग हुने निर्माण सामग्री सडकबाटै ओसारिँदै आइएकामा अब रेल मार्गबाटै ल्याइने जानकारी उनले दिए। ‘वर्षाको मौसममा सडक हिलाम्य भएकाले निर्माण सामग्री ओसार्न कठिन भएको थियो। अब रेल मार्ग प्रयोग गर्दा सजिलो हुनेछ,’ सहायले भने।

उनका अनुसार यात्रुहरूको सुरक्षालाई दृष्टिगत गरी पहिले इन्जिन तथा त्यसपछि मालवाहक रेल सञ्चालन गरिनेछ। ‘हाम्रो उद्देश्य सुरक्षित यात्रा हो। ५ हजार टन भारी बोकेको मालवाहक रेल गुड्ने लिकमा यसभन्दा झन्डै आधा भार भएको यात्रुवाहक रेल सञ्चालन गर्न झन् सुरक्षित हुन्छ,’ उनले भने।

५ वर्षअघिसम्म भारतको जयनगरबाट महोत्तरीको बिजुलपुरासम्म (५२ किलोमिटर) नैरो गेज रेल सञ्चालन हुँदै आएको थियो। आयोजनाअन्तर्गत नैरो गेज (दुईदेखि अढाई फिट फराकिलो रेल लिक) विस्थापित गरी ब्रोडगेज (पाँचदेखि साढे पाँच फिट फराकिलो) लिकको स्तरोन्नति गरिँदै छ। ५२ किमिमा सञ्चालित जनकपुर रेलवेलाई विस्तार गरी ६९ किमिसम्म सञ्चालन गर्ने लक्ष्य छ।

यस्तै झन्डै पाँच दशकसम्म कोइलाबाट सञ्चालित रेल गत तीन दशकदेखि डिजेलबाट सञ्चालन हुँदै आएको थियो। स्तरोन्नतिपछि पनि डिजेल इन्जिन नै सञ्चालन हुने भारतीय निर्माण कम्पनीका साइट प्रमुख सहायले जानकारी दिए। उनका अनुसार यो रेल डीइएमडब्लू (डिजल इलेक्ट्रिक मल्टिपल युनिट प्रणाली) अर्थात दुवैतर्फ इन्जिन भएको तथा डिजेल र इलेक्ट्रिक दुवै इन्धनका स्रोतबाट समेत सञ्चालन हुन सक्छ।

भारत सरकारको ७ अर्ब बढी लगानीमा सञ्चालित जनकपुर रेलवे विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत प्रस्तावित जयनगर–बर्दीवास ब्रोडगेज सञ्चालनमा आउन अझै दुई/तीन वर्ष लाग्ने भए पनि जनकपुर–कुर्थामा यसै वर्षको अक्टोबरसम्म सञ्चालन भइसक्ने दुवै देशका प्राविधिकहरूको दाबी छ।

भारतीय निर्माण कम्पनी इरकोनका सिभिल अतिरिक्त म्यानेजर दीपककुमारले प्रस्तावित परियोजनाअन्तर्गत निर्माण हुने ब्रोडगेजमाथि सय किलोमिटर प्रतिघण्टाको दरले रेल कुदाउने तयारी भइरहेको जानकारी दिए। यसअघि जयनगर–जनकपुर–बिजुलपुरामा सञ्चालित नैरो गेजमा २० देखि २५ किमि प्रतिघण्टाको गतिमा रेल गुड्ने गरेको थियो। ब्रोडगेज रेल सञ्चालनमा आएपछि जयनगरदेखि कुर्थासम्मको ३५ किमि दूरी आधा घण्टामा पूरा हुनेछ। बर्दिबाससम्मको ६९ किमि एक घण्टामा पूरा हुने उनको दाबी छ।

जयनगर–कुर्थासम्मको ३५ किलोमिटरको निर्माण ९५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका इन्जिनियर ओझाले बताए। उनका अनुसार ३५ किमिमध्ये ३२ किमिमा रेल ट्रयाक ओछ्याउने काम पूरा भइसकेको छ। स्टेसन भवन, आवास र पुललगायतको निर्माण कार्य पनि अन्तिम चरणमा छ। भारतबाट ल्याइएको विशेष मेसिनबाट ट्रयाक जोड्ने र बोल्डर सम्याउनेलगायत काम भइरहेको उनले जानकारी दिए।

प्रकाशित : श्रावण २५, २०७५ ११:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT