कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

संकटमा सहयोगी बन्दै आमा समूह

कुम्भराज राई

ओखलढुंगा — सिद्धिचरण नगरपालिका २, ठूलाछापकी देवकुमारी कटवाल लडेर घाइते भइन् । उनको मेरुदण्डमा चोट थियो । अस्पतालले महिना दिनभन्दा बढी आराम गर्न परामर्श दिएपछि खेती गर्ने मौसममा उनलाई पर्नु पीर पर्‍यो । उनका पतिले श्रीमती आबद्ध आमा समूहलाई ‘अब कोदो रोप्न सहयोग गरे गर्नुस् नत्र त मैले कमण्डलु बोकेर माग्न हिँड्नुपर्ने भो’ भने ।

संकटमा सहयोगी बन्दै आमा समूह

त्यसपछि रुद्रकालिका आमा समूहको बैठक बस्यो । बैठकमा एक दिन बराबर दुई घण्टा सबैले कोदो रोपिदिएर सहयोग गर्ने निर्णय गरे । भोलिपल्टदेखि नै निर्णयअनुसार मिलेर कोदो रोपिदिए । केही दिनमै उनको मेलो सकियो । केही समयपछि समूहकै अर्की सदस्य चित्राकुमारी कार्कीको छोरा लडेर खुट्टा भाँचे । उनले पनि छोराको हेरचाह गर्दा कोदो रोप्न सकिनन् । उनलाई पनि समूहले मिलेर देवकुमारीकै जसरी सहयोग गरे ।


लगत्तै अर्की सदस्य होमकुमारी खडकाको पित्तको शल्यक्रिया गर्नुपर्‍यो । उनको खेती पनि समूहले मिलेर सोहीअनुसार गरिदिए । यसो गर्दै जाँदा यसले अभियानको रूप लियो । ‘एक दिन दुई घण्टे सहयोग अभियान’ अहिले लोकप्रिय बन्यो । ‘भैपरी आउँदा सहयोग गर्ने हामीले निर्णय गरेका थियौँ ।’ समूहकी अध्यक्ष यमुना खतिवडाले भनिन्, ‘अब त जुनसुकै काममा पनि यसरी नै मिलेर गर्ने भन्ने प्रस्ताव पारित भएको छ ।’


समूहमा ५० जना आमाहरू सदस्य छन् । समूहमा मिलेर काम गर्दा छिटो छरितो हुनुका साथै आफैंले गरेसरह राम्रोसँग गरिदिने भएकाले सबै सदस्य अभियानबाट खुसी छन् ।


आगामी दिनमा खासगरि सुत्केरी र गर्भवती भएको सदस्यको घरको खेतीपाती लगायतका काम अनिवार्य रूपमा ‘एक दिन दुई घण्टे सहयोग अभियान’ अनुसार गर्ने लक्ष्य रहेको अध्यक्ष खतिवडाले बताइन् ।


उनीहरूले यसअघि गाउँघर सरसफाइ राख्ने भन्दै प्रत्येक घरमा फोहोर संकलनका लागि ‘डस्टविन’ राख्ने काम गरेका थिए । गाउँघरमा मदिरा सेवन गरी झैझगडा र होहल्ला गर्नेलाई जरिवाना गर्ने गरेका छन् । पहिलोपटक १ हजार, दोस्रो पटक १ हजार ५ सय तेस्रोपटक २ हजार नगद जरिवाना गराउने चौथोपटक भेटिए प्रहरीकहाँ लगेर कारबाही गर्ने भनेपछि सदाझैं मदिरा सेवन गरी कुटपिट, झैझगडाको घटनामा समेत कमी आएको छ ।

प्रकाशित : श्रावण २५, २०७५ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?