३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लापरबाहीले बिरामीको मृत्यु भएको आरोप

कान्तिपुर संवाददाता

मोरङ — विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा चिकित्सकको लापरबाहीले बिहीबार उपचारका क्रममा प्रसूतिको बिरामी मृत्यु भएको आरोप लागेको छ ।पीडित परिवारले उपचारमा संलग्न चिकित्सकलाई सार्वजनिक गरेर कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेपछि अस्पताल तनावग्रस्त भएको हो । अस्पतालमा परिससरमा होहल्ला गर्दै आन्दोलनमा उत्रेपछि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

लापरबाहीले बिरामीको मृत्यु भएको आरोप

सुनसरीको इटहरी १३ खनारकी २५ वर्षीया सगिरसा खातुनको उपचारका क्रममा मृत्यु भएको छ । खातुनको काका ससुरा मो. समिम अख्तरले गत बिहीबार बिहान ८ महिनाको गर्भ भएकी बुहारीलाई नियमित जाँचका लागि अस्पताल ल्याएको र चिकित्सकले रक्तचाप बढेको भन्दै भर्ना गरेको जानकारी दिए ।


‘उपचारपछि स्वास्थ्य अवस्था सामान्य भएको चिकित्सको भनाइपछि मंगलबार अपरान्ह अस्पताल प्रशासनलाई डिस्चार्ज गर्न हामीले आग्रह गरेर घर गयौं,’ उनले भने, ‘अस्पताल प्रशासनले डिस्चार्ज नै नगरी बेलुका शल्यक्रिया गरेर ८ महिनाको बच्चा निकालिदिए ।’ बिरामीसँग नेपाली भाषा बुझ्न नसक्ने उनकी सासू जहिरन खातुनलाई अस्पताल प्रशासनले तत्काल शल्यक्रिया नगरे आमा र बच्चा दुबैको ज्यान जाने डर देखाएर सहीछाप गराएको उनले सुनाए ।


समिमले मंगलबार राति प्रसूति र बच्चा दुबैको स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै चिकित्सकले आईसीयूमा भर्ना गरेको बताए । ‘सेतो रगत तत्काल ल्याउन नसके बिरामी बचाउन नसकिने भएपछि आफूहरूले चौतर्फी बुझेर धरानबाट ल्याएर दियौं,’ उनले भने, ‘बिहीबार बिहान स्वास्थ्यकर्मीहरूले बुहारीको पेट सुनिएको जानकारी गराएपछि चिकित्सकसँग सल्लाह गर्दा ९० प्रतिशत मृत्यु भइसकेको र १० प्रतिशत मात्रै बाँचेकाले तत्काल विराट नर्सिङ होममा रेफर गर्नुपर्ने बताउनुभयो ।’ केही समयपछि मृत्यु घोषणा गरेर चिकित्सकहरू अस्पतालबाट भागाभाग भएको उनको भनाइ छ । सगिराको हजुरबुबा मो रहमुलले चिकित्सकले भनेअनुसार सबै कुरा गर्दासमेत चिकित्सकहरूले पैसाको लोभमा शल्यक्रिया गरेर उनलाई मृत्युको मुखमा पुर्‍याएको आरोप लगाए ।


स्थिति तनावग्रस्त भएपछि अस्पतालमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । बिहीबार तीनपटक अस्पताल प्रशासनसँग वार्ता भए पनि सहमति हुन नसकेको अस्पताल प्रशासनले जनायो ।


अस्पताल प्रशासनका अरबिन्द मण्डलले सगिरालाई साउन ९ गते पनि अस्पतालमा स्वास्थ्य जाँचका लागि आएको तर उच्च रक्तचाप भएकाले भर्ना गराएर उपचारका लागि सल्लाह दिएको बताए । भर्ना गर्न नमानी घर लगेको र गत बिहीबार पुन: रक्तचाप बढेपछि उपचारका लागि भर्ना गराएको उनले बताए । ‘गर्भवतीको रगतमा हेमोग्लोबिन र प्लेटलेट्सको मात्रा कम भएकाले कुपोषित पनि भएको अवस्थामा रक्तचाप बढ्दै गएर एक्लम्सिया भयो,’ उनले भने, ‘एक्लम्सिया औषधिले नियन्त्रण हुन नसकेपछि शल्यक्रिया गरेर बच्चा निकाल्नुको विकल्प नभएर शल्यक्रिया गरियो ।’ उनले गर्भवतीमा एक्लम्सिया रोग भएपछि बिरामीलाई छटपछि लाग्नु, बर्बराउनु जस्ता लक्षण देखिने गरेको र त्यो औषधिले नियन्त्रण नभएपछि शल्यक्रिया गरेर बच्चा निकाल्ने अभ्यास रहेको सुनाए । मण्डलले प्रसूतिलाई अस्पतालका चिकित्सकहरूले सम्पूर्ण प्रयास गर्दागर्दै पनि बचाउन नसकेको बताए ।

प्रकाशित : श्रावण २५, २०७५ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?