लेकमा भस्मे फाँड्दै, औलका जग्गा बाँझै
ताप्लेजुङ — फक्तालुङ गाउँपालिका ६ लेलेप लावाजिनका रामकुमार राईलाई भस्मे नफाँडी जीविका चल्दैन । सदरमुकाम फुङलिङवाट डेढ दिनको पैदलमा घर भएका उनी भस्मे फाँडेर पहिलो वर्ष मकै छर्छन् ।
त्यही वर्ष चिराइतो लगाउँछन् । बाली लगाउने महिनाचाहिँ अन्तर हुन्छ ।
माघ/फागुनमा फाँडेको भस्मेमा चैत वैशाखमा मकैको दाना रोप्छन् । साउन भदौमा चिराइतोको दाना रोप्छन् ।
मकैको कमाइ पहिलो वर्षको मात्रै खान पाइन्छ । दोस्रो वर्षदेखि झाँडी धेरै हुने भएकाले मकै गोड्न सकिँदैन । त्यसपछि भने चिराइतोको पर्खाइमा बस्नुपर्छ । चिराइतोको कमाइ तीन वर्षपछि मात्रै खान पाइन्छ ।
तीन वर्षपछि टिप्न योग्य हुन्छ । पछिल्ला वर्ष चिराइतोको मूल्य घटेपछि उत्पादनका लागि धेरै क्षेत्रफलमा बाली लगाउनुपर्छ । त्यसका लागि भस्मे पनि धेरै फाँड्नुपर्छ ।
रामकुमार मात्रै नभएर यो बस्तीका प्राय: सबैले भस्मे नफाँडी जीविका चल्दैन । भस्मे फाँड्ने जमिन भने उही हुन्छ । चिराइतो उठाएपछि त्यही ठाउँमा फेरि फाँड्छन् र बाली दोहोर्याउँछन् ।
लेलेपको लावाजीन मात्रै नभएर फक्तालुङ गाउँपालिकाअन्तर्गत रहेका साविकका इखावु, तापेथोक, लेलेपका लेकाली क्षेत्रका बासिन्दाले भस्मे फाँड्छन् । लेकाली क्षेत्रमा यसरी भस्मे फाँडिरहँदा औलका अधिकांश जग्गा भने बाँझिइरहेका छन् ।
फक्तालुङसँग जोडिएको फुङलिङ नगरपालिकाको गुँहेली, भाटे, नाङगे लगायतको क्षेत्रका जमिन बाँभmिइरहेका छन् । जनावरको प्रकोप र खेती गर्ने मान्छे नभएका कारण सिंगो जमिन बाँझै छोडेर हिँड्ने गरेका हुन् ।
फक्तालुङ गाउँपालिकामै पनि कतिपय स्थानको जमिन बाँझो हुन थालेको जनप्रतिनिधि बताउँछन् । ‘अब बिस्तृत अध्ययनको तयारीमा छौं,’ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङले भने, ‘गाउँपालिकाभित्र पनि व्यवस्थित बसोबास भने छैन ।’ यो जिल्लाकै ठूलो गाउँपालिका पनि हो । यसले जिल्लाको आधाभन्दा बढी भू–भाग ओगटेको छ ।
अहिले स्थानीय तहमै सरकार भए पनि बस्ती व्यवस्थापनको योजना छैन । निर्वाचनपछिको एक वर्ष विताएका स्थानीय तहले यससम्बन्धी कुनै योजना पनि ल्याएका छैनन् । भस्मे फाँड्नेले एकान्तमा बस्नुपर्छ । एउटादेखि अर्को बस्तीमा पुग्न चार/पाँच घण्टासम्म लाग्छ । विकट स्थानमा एक्लो परिवार बसेर जीउनुपर्ने बाध्यता रहेको छ ।
जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लाको करिब पाँच हजार हेक्टर जमिन बाँझो रहेको छ भने बाँझिने क्रम पनि बढिरहेको छ ।