१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बिरामीको चाप बढेपछि बीपी प्रतिष्ठानले सिटी अस्पताल निर्माण गर्दै

प्रदीप मेन्याङ्बो

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको चाप अत्यधिक भएपछि ओपीडी सेवासहितको थप एक सय शैयाको छुट्टै सिटी अस्पताल विस्तार गरिने भएको छ । 

बिरामीको चाप बढेपछि बीपी प्रतिष्ठानले सिटी अस्पताल निर्माण गर्दै

प्रतिष्ठानमा दैनिक ३ हजार बिरामी उपचारका लागि आउने गरेका छन् । हाल ८ सय शैया भएपनि आकस्मिक कक्षबाट रिफर भएका बिरामी र स्त्री तथा प्रसुति विभागलगायतमा शैया र अन्य युनिटबाट रिफर भएका नयाँ बिरामीले शैया पाउन पालो पर्खनु परेको छ ।


ती मध्ये धरान र नजिकैका गाँउ, नगर आसपासका बिरामीको संख्या दैनिक सरदर पाँच सय बढी हुने गरेको छ । कतिपय सामान्य उपचार गर्दा निको हुने बिरामी पनि प्रतिष्ठानको स्पेशल र सुपर स्पेसियालिटि ओपीडीमा पुग्ने भएकाले चाप व्यवस्थापन गर्न थप एक सय शैयासहितको अस्पताल विस्तार गर्ने तयारीमा जुटेको उपकुलपति प्रा.डा राजकुमार रौनियारले बताए ।


अस्पताल विस्तारकैलागि स्वास्थ्य मन्त्रालय पुगेका उनले भने, ‘बिरामीको चाप थेग्न गाह्रो भो । बिरामीको चापलाई व्यवस्थापन गर्न भनेर नै प्रतिष्ठानको स्वामित्वमा रहेको धरानको छाताचौकस्थित १ विघा १४ कठ्ठा जग्गामा एक सय शैयाको अस्पताल विस्तारको तयारी सुरु गरेका छौं । सरोकारवालाहरुसँग समन्वय गर्न प्रतिष्ठानका कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङलाई जिम्मेवारी दिएको छु । उनले स्थलगत अध्ययन र परामर्श गरिरहेका छन् ।’


अस्पताल विस्तारकालागि समन्वय गर्ने जिम्मेवारी पाएपछि तामाङले पुरानो अस्पतालको नामले चिनिने उक्त स्थानको स्थलगत निरीक्षण गरी धरान उपमहानगरपालिकासँग परामर्श लिन सुरु गरेका छन् ।


उक्त जमिनमा हाल स्वास्थ्य चौकी र यसअन्तर्गत सञ्चालित ५ शैयाको बर्थिङ सेन्टर, पुनस्र्थापना गृह, ५ सुकुम्वासी परिवार, सवारी पार्किङ, प्रतिष्ठानकै चिकित्सकहरुबाट सञ्चालित मृगौला रोग सम्बन्धि केएचडीसी कार्यक्रम, नगरस्तरीय वातावरण समन्वय समिति, प्रतिष्ठानको कर्मचारी बस्ने आवास गृह र जीर्ण भवन लगायत रहेका छन् ।


उनले प्रतिष्ठानको योजनाबारेमा धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारी, प्रमुख कार्यकारी अधिकृत सुमन घिमिरे र वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडासँग छलफल गरेका छन् । त्यहाँ रहेका सबैको न्यायोचित व्यवस्थापन गरिने बताइएपछि उपमहानगरलगायत सबै पक्ष सकरात्मक रहेको तामाङले बताए ।


तामाङले उक्त अस्पतालमा पनि तत्काल विशेषज्ञसहितको स्त्री रोग, मेडिसिन ओपीडी, ल्याब, एक्सरे र अल्ट्रासाउण्डको सेवा सञ्चालन गर्न प्रक्रिया सुरु गरिएको बताए ।

प्रकाशित : श्रावण २५, २०७५ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?