बिरामीको चाप बढेपछि बीपी प्रतिष्ठानले सिटी अस्पताल निर्माण गर्दै

प्रदीप मेन्याङ्बो

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको चाप अत्यधिक भएपछि ओपीडी सेवासहितको थप एक सय शैयाको छुट्टै सिटी अस्पताल विस्तार गरिने भएको छ । 

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान । तस्बिर : कान्तिपुर

प्रतिष्ठानमा दैनिक ३ हजार बिरामी उपचारका लागि आउने गरेका छन्। हाल ८ सय शैया भएपनि आकस्मिक कक्षबाट रिफर भएका बिरामी र स्त्री तथा प्रसुति विभागलगायतमा शैया र अन्य युनिटबाट रिफर भएका नयाँ बिरामीले शैया पाउन पालो पर्खनु परेको छ।

Yamaha

ती मध्ये धरान र नजिकैका गाँउ, नगर आसपासका बिरामीको संख्या दैनिक सरदर पाँच सय बढी हुने गरेको छ। कतिपय सामान्य उपचार गर्दा निको हुने बिरामी पनि प्रतिष्ठानको स्पेशल र सुपर स्पेसियालिटि ओपीडीमा पुग्ने भएकाले चाप व्यवस्थापन गर्न थप एक सय शैयासहितको अस्पताल विस्तार गर्ने तयारीमा जुटेको उपकुलपति प्रा.डा राजकुमार रौनियारले बताए।

अस्पताल विस्तारकैलागि स्वास्थ्य मन्त्रालय पुगेका उनले भने, ‘बिरामीको चाप थेग्न गाह्रो भो। बिरामीको चापलाई व्यवस्थापन गर्न भनेर नै प्रतिष्ठानको स्वामित्वमा रहेको धरानको छाताचौकस्थित १ विघा १४ कठ्ठा जग्गामा एक सय शैयाको अस्पताल विस्तारको तयारी सुरु गरेका छौं। सरोकारवालाहरुसँग समन्वय गर्न प्रतिष्ठानका कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङलाई जिम्मेवारी दिएको छु। उनले स्थलगत अध्ययन र परामर्श गरिरहेका छन्।’

अस्पताल विस्तारकालागि समन्वय गर्ने जिम्मेवारी पाएपछि तामाङले पुरानो अस्पतालको नामले चिनिने उक्त स्थानको स्थलगत निरीक्षण गरी धरान उपमहानगरपालिकासँग परामर्श लिन सुरु गरेका छन्।

उक्त जमिनमा हाल स्वास्थ्य चौकी र यसअन्तर्गत सञ्चालित ५ शैयाको बर्थिङ सेन्टर, पुनस्र्थापना गृह, ५ सुकुम्वासी परिवार, सवारी पार्किङ, प्रतिष्ठानकै चिकित्सकहरुबाट सञ्चालित मृगौला रोग सम्बन्धि केएचडीसी कार्यक्रम, नगरस्तरीय वातावरण समन्वय समिति, प्रतिष्ठानको कर्मचारी बस्ने आवास गृह र जीर्ण भवन लगायत रहेका छन्।

उनले प्रतिष्ठानको योजनाबारेमा धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारी, प्रमुख कार्यकारी अधिकृत सुमन घिमिरे र वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडासँग छलफल गरेका छन्। त्यहाँ रहेका सबैको न्यायोचित व्यवस्थापन गरिने बताइएपछि उपमहानगरलगायत सबै पक्ष सकरात्मक रहेको तामाङले बताए।

तामाङले उक्त अस्पतालमा पनि तत्काल विशेषज्ञसहितको स्त्री रोग, मेडिसिन ओपीडी, ल्याब, एक्सरे र अल्ट्रासाउण्डको सेवा सञ्चालन गर्न प्रक्रिया सुरु गरिएको बताए।

Esewa Pasal

प्रकाशित : श्रावण २५, २०७५ १५:२२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रदेश सरकारको बिदाको निर्णय प्रजिअहरुले मानेनन्

प्रदीप मेन्याङ्बो

सुनसरी — प्रदेश १ सरकारले बिहीबार विश्व आदिवासी दिवसको अवसरमा सार्वजनिक विदाको घोषणा गरेपनि स‌ंघीय सरकार अन्तर्गतका अधिकारीहरुले विदालाई अस्वीकार गरेका छन् ।

प्रदेश सरकारले २३ गते विश्व आदिवासी दिवसको अवसरमा सार्वजनिक विदा दिन आन्तरिक मामिला मन्त्रालयले प्रदेशभरका १४ वटै जिल्ला प्रशासनलाई परिपत्र पठाइसकेको थियो।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, मोरङका रमेश केसी, सुनसरी प्रेमप्रकाश उप्रेतीलगायतले संघीय सरकारको गृहमन्त्रालयले निर्देशन नदिएसम्म आदिवासी जनजाति दिवसको नाममा र्सावजनिक विदा नमान्ने बताएका छन्। सुनसरीका प्रजिअ उप्रेतीले भने, ‘यो विदा प्रदेश सरकार अन्तर्गतका कार्यालयकालागि हो। संघीय सरकार मातहतका कर्मचारी र कार्यालयकालागि विदा छैन। यसर्थ हामीले विदा मान्न सकेनौं।’

प्रदेश १ का सभामुख प्रदीप भण्डारीले प्रदेश सरकारले ४ वटा विदा थपेको निर्णय राजपत्रमा मै प्रकाशित गरेको बताए। उनका अनुसार आदिवासी जनजाति दिवस, जनैपूर्णिमा, तराई र पहाडको होली पर्वमा सार्वजनिक विदा गरिएको छ। उनले भने, ‘प्रदेश सरकारले गरेको निर्णयलाई कसले मान्यो कसले मानेन भन्ने चाही थाहा भएन।’

प्रदेश सरकारले आफ्नो राजपत्रमा प्रकाशित गरिसकेको निर्णयलाई संघीय सरकार मातहत रहेका प्रशासनका कार्यालय र कर्मचारीले अस्वीकार गर्नु संघीयताको अभ्यासमा ठेस पुगेको र केन्द्रीय सरकार र प्रदेश सरकारबीच तालमेल नमिलेको संकेत देखिएको प्रदेश १ को सार्वजनिक विदाको प्रकरणले देखाएको छ। प्रशासन कार्यालय र कमचारीहरुले आदिवासी जनजातिको नाममा दिएको विदाको अवज्ञा गरेकोमा जनजाति अगुवाहरु रुष्ट भएका छन्।

उनीहरुले प्रदेश सरकारको निर्णय र निर्देशन नमानेका प्रजिअको बरियता स्पस्ट हुनुपर्ने र आदिवासी जनजाति समुदायको हितमा गरिएको सार्वजनिक विदा जस्ता सामान्य विषयलाई फाल्तु सम्झेर चुनौती दिने काम अशोभनीय भएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित : श्रावण २४, २०७५ ११:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT