कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

‘मेचीपारि’ डुंगाको भर

कान्तिपुर संवाददाता

झापा — मेचीपारिको नेपाल’ भनिने भद्रपुर १ डोलाबस्तीका स्थानीय श्रीप्रसाद महतोलाई वर्षायाम कसरी बिताउने भन्ने चिन्ता हुन्छ । हरेक वर्ष गाउँका दुई सय परिवार समान चिन्ताले पिरोलिन्छन् । मेची खोलामा उर्लने भेलका कारण मेचीपारिका बासिन्दा बन्धकझैं बन्नुपर्छ ।

‘मेचीपारि’ डुंगाको भर

यसपालि मेची पुरानै धारमा बगेका कारण गाउँमा समस्या भएको हो । ‘पहिला त एउटा मात्रै मेची बग्थ्यो, अहिले दुइटा बगिरहेको छ’, महतोले भने, ‘तीन चार महिना त बन्धकजस्तै हुन्छाैं ।’

उनका अनुसार स्थानीयलाई सदरमुकाम भद्रपुर पुग्न पनि समस्या छ । किनमेल र औषधि उपचारका लागि भद्रपुरसम्म जान गाह्रो छ । ‘नेपालतिर जान नसक्दा भारतीय बजार पुगेर किनमेल गरिन्थ्यो’, महतोले भने, ‘यसपालिदेखि त भारततिर पनि जान सकिएको छैन ।’

स्थानीयको समस्या बुझेर भद्रपुर नगरपालिकाले यस वर्षदेखि डुंगा सञ्चालन सुरु गरेको छ । डुंगा सञ्चालनको जिम्मा स्थानीय मिमलाल राजवंशीले पाएका छन् । उनी स्थानीयलाई नि:शुल्क सेवा गर्छन् । राजवंशी भन्छन्, ‘स्थानीयको सहजीकरणका लागि नगरपालिकाले तलब दिएर खटाएको हो ।’

लामो समयदेखि यो गाउँ जोड्ने पुल बन्न सकेको छैन । झोलुंगे पुल निर्माणका लागि ठेक्का लागेको ३ वर्ष बितिसक्यो । अहिलेसम्म पुल बन्न सकेको छैन । ‘१८ महिनाभित्र काम सक्ने कम्पनीको शर्त थियो’, स्थानीय सूर्य गुप्ता भन्छन्, ‘पुल बन्ने कुरा कथा जस्तै भइसक्यो ।’ ठेकेदारले गत वर्ष काम सुरु गरेका थिए । तर, बाढीले जगै बगाइदियो । ‘पुल छैन, डुंगाको सहारा मात्रै छ’, गुप्ताले भने ।

डोलो गाउँका पूर्ववडा अध्यक्ष जीतलाल राजवंशीले मेचीपारि सरकारको उपस्थिति ज्यादै न्यून रहेको बताए । ‘यो गाउँलाई राज्यले सधंै उपेक्षा मात्रै गर्‍यो’, जीतलालले भने, ‘हामीलाई नेपाल नै ठान्दैन सरकारले ।’

उनका अनुसार बेवास्ताका कारण लामो समयदेखि झोलुंगे पुल अलपत्र छ । २०२० सालताका मेची नदी बगेको स्थान अहिले भारतीय भूभागमा छ । यो स्थानबाट पनि यसपटकदेखि मेची छिरेको छ । गाउँलेलाई यसैले बढी सास्ती दिएको छ ।

प्रकाशित : श्रावण २६, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?