३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

‘प्रदेशको नाम तोक्न केन्द्रले हस्तक्षेप गर्न मिल्दैन’

अर्जुन राजवंशी

दमक — प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेशको नामाकरण र स्थायी राजधानीको विषयमा निर्णय गर्ने अधिकार प्रदेश सरकारलाई रहेको बताएका छन् ।

‘प्रदेशको नाम तोक्न केन्द्रले हस्तक्षेप गर्न मिल्दैन’

उनले प्रदेश १ का ९३ सांसद नाम र राजधानी तोक्ने विषयमा अन्तिम निर्णय गर्न सक्षम रहेको समेत दाबी गरे ।


६ दिन अघि पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एक कार्यक्रममा प्रदेश १ को नाम किराँत रहने बताएका थिए ।

दाहालको उक्त भनाईप्रति आपत्ति जनाउँदै मन्त्री कार्कीले प्रदेशको नामाकरणको विषयमा केन्द्रीय स्तरबाट हस्तक्षेप हुन नहुने टिप्पणी गरे ।


‘प्रदेश १ को नाम के राख्दा उचित हुन्छ भन्ने निर्णय गर्न ९३ सांसद सक्षम छन्’ उनले भने,‘अहिले आएर यो विषयमा केन्द्रले हस्तक्षेप गर्न मिल्दैन । त्यस्तो गर्नु थियो भने पहिला नै गर्नुपथ्र्यो ।’

शनिबार गृहनगर झापाको गौरादहमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री कार्कीले प्रदेशको नाम र स्थायी राजधानीको विषय प्रदेशको बर्खे अधिवेशनबाट टुंगो लागाउने बताएका छन् ।


उनले नामाकरण र राजधानी तोक्ने विषयमा केही ढिलाई भएपनि अब, ढिलाई नगर्ने बताए । नाम र राजधानीका विषयमा विभिन्न पक्षबाट प्रस्तावहरु आउने क्रम जारी छन् ।


ती प्रस्तावमाथि छलफलहरु पनि चलिरहेका छन् । उनले अहिले चर्चामा रहेकै नामहरुमध्येबाट एउटा नाममाथि निर्णय हुन सक्ने बताए । उनले प्रदेश नामका लागि सगरमाथा, मेची, कोशी, विराट, किरात, सप्तकोशीलगायतका नामहरु प्रस्तावका रुपमा आएको बताए ।


‘हामी प्रदेश नामाकरणको विषयमा करिब करिब अन्तिम अवस्थामा आईपुगेका छौं । साउनमै टुंगो लगाउने हाम्रो तयारी थियो । तर, सकिएन । अब बर्खे अधिवेशनले नाम र राजधानीको विषय टुंगो लगाउछ’ उनले भने ।

प्रकाशित : श्रावण २६, २०७५ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?