कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हेर्दाहेदै धूवाँको मुस्लो

महानगर कार्यालयमा विस्फोट
विनोद भण्डारी

विराटनगर — विराटनगर महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुलीको कार्यकक्षअघि सेवाग्राही बस्ने स्थानमा आइतबार दिउँसो बम विस्फोट भएको छ । विस्फोटबाट फर्निचर, झयालका सिसा र भवनका भित्तामा क्षति पुगेको छ ।

हेर्दाहेदै धूवाँको मुस्लो

पहिलो तलामा भएको विस्फोटको असरले आँगनमा पार्किङ गरिएको पराजुली चढ्ने को१झ ४९४ नम्बर गाडीको सिसा फुटेको छ । विस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । महानगरपालिकाका कर्मचारी सामान्यत: दिउँसो २ बजे खाजा खान बाहिर निस्कन्छन् । त्यही समय पारेर विस्फोट गराइएको थियो । विस्फोट भएको स्थान कर्मचारी र सेवाग्राही ओहोरदोहोर गर्ने मुख्य क्षेत्र हो ।

विस्फोटका समयमा पराजुलीको कार्यकक्षमा वडा १४ को बाल माविको छेउमा स्वास्थ्य चौकी निर्माण गर्न जग्गादाता उपेन्द्रप्रसाद यादवले अढाई कठ्ठा जमिन नि:शुल्क हस्तान्तरण गर्दै थिए । वडाध्यक्ष बलदेव यादवका अनुसार हस्तान्तरण गरी प्रमुख पराजुलीसहित सबै बाहिर निस्कन खोज्दाखोज्दै ठूलो आवाज आएको थियो । त्यसबेला उपप्रमुख इन्दिरा कार्की पराजुलीको कार्यकक्षमा प्रवेश गर्दै थिइन् । ‘धूवाँले कपाल सबै सेतो भएको थियो, आवाजले एउटा कानको जाली नै फुटेजस्तो भयो । भित्तामा ठोक्किएर घुँडामा सामान्य चोट लाग्यो,’ विस्फोटको धूवाँले छोपिएपछि आत्तिएकी कार्कीले भनिन्, ‘धन्न बाँचियो ।’

अचानक ठूलो आवाज आउँदा कार्यालयको विद्युत् सर्ट भएर इन्भर्टर र वातानुकलन उपकरण (एसी) विस्फोट भएको अनुमान गरिएको नगर प्रमुख पराजुलीले बताए । भन्छन्, ‘पछि बारुदको गन्ध र धूवाँको मुस्लो आएपछि बम विस्फोट भएको थाहा भयो ।’घटनाको भत्र्सना गर्दै पराजुलीले संविधान र वर्तमान राज्य संरचना नमान्नेहरूले विस्फोट गराएको हुन सक्ने बताए । आफूलाई कसैबाट पनि धम्की नआएको उल्लेख गर्दै उनले जनताका प्रतिनिधि बसेर जनताकै काम गर्नेलाई लक्षित गरी विस्फोट गराउनु निन्दनीय भएको बताए । उनले कमजोर सुरक्षाका कारण दिउँसै महानगर कार्यालयको मुख्य क्षेत्रमा विस्फोट भएको दाबीसमेत गरे ।

विस्फोट कसले र किन गराएको भन्ने पुष्टि हुन नसकेको मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले बताए । विस्फोटमा संलग्न भएको आशंकामा सोधपुछका लागि ८ जनालाई नियन्त्रणमा लिएको जानकारी दिँदै उनीहरूको नाम भने सार्वजनिक गर्न नमिल्ने बताए । तालिम प्राप्त कुकुरबाट समेत घटनास्थलको निरीक्षण गराइएको छ ।


घटनास्थलमा टिनका टुक्रा भेटिएकाले टिनको डब्बामा विस्फोटक पदार्थ राखेर विस्फोट गराएको आशंका केसीको छ । उनका अनुसार महानगरको सीसीटीभी फुटेजको पनि अध्ययन भइरहेको छ ।

गोइतको दाबी
यसैबीच, महानगरमा भएको विस्फोटको आफूहरूले गरेको दाबी तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) ले गरेको छ । प्रदेश २ स्थित जिल्लाका कान्तिपुर संवाददाताहरूलाई विज्ञप्ति प्रेषित गर्दै अध्यक्ष जयकृष्ण गोइतले यस्तो दाबी गरेका हुन् । ‘प्रदेश नम्बर १ को राजधानी, मोरङ जिल्ला सदरमुकाम विराटनगर महानगरपालिकाको कार्यालयमा हामी २ जिल्ला सप्तरी, सिरहामा मात्र सीमित छैनौं भन्ने जानकारी दिन प्रेसर कुकर बम विस्फोट गराएका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : श्रावण २८, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?