१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

करोडौं खर्च, अवस्था उस्तै

रौतापोखरी
डिल्लीराम खतिवडा

रौतापोखरी (उदयपुर) — दुई दशकभन्दा बढीदेखि पटकपटक गरी करोडौं रुपैयाँ लगानी गरिए पनि पर्यटकीय तथा धार्मिकस्थल रौतापोखरीको विकास हुन सकेको छैन । सरकारी तथा गैरसकारी क्षेत्रबाट बर्सेनि ठूलो रकम खर्च हुने गरेको छ ।

करोडौं खर्च, अवस्था उस्तै

रौतापोखरीको विकास गर्ने भन्दै सरकारी तथा गैरसरकारी संस्थाले २५ वर्षयता ३ करोड ५० लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको देखिन्छ । तर अवस्थामा भने उस्तै छ । बरु विकासका नाममा प्राकृतिक पोखरीको सौन्दर्यमा ह्रास आएको स्थानीयको भनाइ छ । पोखरीको वरीपरि दर्जन बढी सूचना बोर्ड राखिएका छन् । सरकारी तथा गैरसरकारी संघसंस्थाले राखेका ती बोर्डमा आफूले पोखरीका लागि सहयोग गरिएको रकम उल्लेख छ ।

‘पोखरीको वरिपरि शृंगारपटार गरेर मात्रै विकास हुँदैन,’ स्थानीय गंगा रानामगरले भने, ‘यसको पूर्वाधार र संरक्षणको काम हुनुपर्‍यो ।’ यो स्थान आउजाउ गर्ने सडक व्यवस्थित पार्न ध्यान नगएको उनको भनाइ छ । समुद्र सतहदेखि ५१ सय फिटको उचाइमा रहेको रौतापोखरी क्षेत्र प्राकृतिक सुन्दर छ । यो धार्मिक दृष्टिले पनि महत्त्वपूर्ण स्थान मानिँदै आएको छ । उदयपुर सदरमुकाम गाईघाट बजारबाट ४४ किमि उत्तर पहाडी क्षेत्रमा पर्ने रौतापोखरी धार्मिक आस्थाको केन्द्र र प्राकृतिक रमणीय दृश्यले भरिपूर्ण भएकै कारण पर्यटकीय क्षेत्र बन्ने प्रशस्त सम्भावना छ ।

‘रौतापोखरीको पर्यटन विकास गर्ने हो भने बाह्रैमहिना यातायातका साधन चल्न सक्ने बनाउन आवश्यक छ,’ स्थानीय सुभद्रा कार्कीले भनिन्, ‘गुरुयोजना निर्माण गरी थप व्यवस्थित गर्न जरुरी देखिन्छ ।’ भौतिक पूर्वाधार र सडकको स्तर वृद्धि हुन नसक्दा पर्यटकीय स्थल ओझेलमा परेकोमा स्थानीय चिन्तित छन् । रौतापोखरीसम्म कच्ची सडक पुगेको छ । तर व्यवस्थित नहुँदा सवारी साधन सञ्चालनमा समस्या छ । ‘पर्यटनका लागि प्रचुर सम्भावना बोकेको रौतापोखरीको संरक्षणमा खासै चासो राखेको देखिएन,’ रौता पोखरीमै भेटिएका हेटौंडाका रामशरण पुडासैनीले भने, ‘बर्सेनि हजारौं पर्यटक आउने यी स्थल जोड्ने कच्ची सडकको स्तरोन्नति गरिएको रहेनछ ।’

सडकको स्तरोन्नति र भौतिक पूर्वाधार तयार भए पर्यटक आगमन बढ्ने उनले बताए । ‘अब रौतापोखरीको प्रवद्र्धन र विकास गरिने खर्च गर्न गाउँपालिकाको स्वीकृत लिनुपर्ने छ,’ रौतामाई गाउँपालिका प्रमुख गजेन्द्रबहादुर खड्काले भने, ‘अब गाउँपालिकाको स्वीकृति लिएर मात्रै काम गर्न पाइनेछ र खर्च पारदर्शी गरिनेछ ।’

प्रकाशित : श्रावण २८, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?