२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

आधा बस्ती नागरिकताविहीन

‘न बालबालिका पढाउन पाइयो न जागिर खान’
अर्जुन राजवंशी

दमक — दमक नगरपालिका ९ झरना बस्तीका आधा जनसंख्यासँग नागरिकता छैन । यसले गर्दा बालबालिका शिक्षाबाट वञ्चित छन् । विद्यालय गइरहेका बालबालिका बीचैमा पढाइ छाड्न बाध्य छन् ।

आधा बस्ती नागरिकताविहीन

विभिन्न संस्थाको सहयोगमा सीपमूलक तालिम लिए पनि व्यवहारमा उतार्न पाएका छैनन् । गाडी चलाउन सिकेका छन् । तर, चालक अनुमतिपत्र बनाउने आधार छैन ।

‘नागरिकता कति ठूलो चिज रहेछ,’ २९ वर्षीय कुमुद टोप्फोले भने, ‘हामीले प्रत्यक्ष भोगिरहेका छौं ।’ बुबा धुमा र आमा रहिल टोप्फो दुवैको नागरिकता छ । तर, जन्मका आधारमा बनेका । बुबाआमाको नागरिकता र आवश्यक अन्य कागजात देखाएर नागरिकता बनाउने कैंयौ पटकको उनको प्रयास विफल भयो । उनको १७ महिनाको छोरा छ । आफ्नो नागरिकता नहुँदा छोराको जन्म दर्ता प्रमाणपत्र बनाउन सकेको उनले दु:ख सुनाए ।

बन्धु मिन्सले भत्किएको फुसको घरलाई ऋण गरेर सानो पक्काको बनाए । छोरालाई विदेश पठाएर ऋण तिर्ने उनको योजना थियो । तर, विदेश पठाउनुअघि नागरिकता बनाउन जाँदा, २० वर्षीय छोरा विवेकको नागरिकता बनेन । अहिले बन्धु र उनकी श्रीमती नजिकैको हिमालय महालक्ष्मी चिया बगानमा र विवेक दमक बजारमा मजदुरी गर्छन् ।

३५ वर्षीय अशोक उराव १५ वर्षदेखि टयाक्टर चलाउँछन् । तर, उनीसँग चालक अनुमति पत्र (लाइसेन्स) छैन । नागरिकता नभएकाले उनले लाइसेन्स पनि बनाउन सकेका छैनन् । लाइसेन्स नहुँदा उनी हिमालय महालक्ष्मी चिया बगानभित्र मात्रै टयाक्टर चलाउन बाध्य छन् ।

झरना बस्तीमा ४ सय ९५ घरपरिवारको बसोबास छ । बस्तीका २ सयभन्दा बढी उरावसँग जन्म दर्ता र नागरिकता नरहेको सनव राउवले बताए । ‘यो बस्ती नै अनागरिक व्यक्तिहरूको जस्तो हुन लागिसक्यो । मुख्य कुरा नागरिकता नै नभएपछि हाम्रो के महत्त्व भयो र,’ उनले भने ।

नागरिकताका लागि पटकपटक सरकारी कार्यालय धाएको ४० वर्षीय सुमन उरावले सुनाए । ‘बुढो हुन लागिसकेँ । अहिलेसम्म नागरिकता बनेको छैन,’ उनले भने, ‘नागरिकता नहुँदा धेरै कुरामा समस्या भोग्नु पर्दो रहेछ ।’ नागरिकता नहुँदा आफूहरूको धन सम्पती पनि खतरामा रहेको कुमुख टोप्फोले बताए । ‘मजदुरी गरेरै भए पनि परिवार चलाएर दुई/चार पैसा जोगाउने गरेका छौं । तर, के गर्नु । नागरिकता नहुँदा बैंकमा पैसा राख्न पनि नमिल्दो रहेछ,’ उनले भने ।

नागरिकताका लागि स्थानीय नेता तथा टाठाबाठाहरूलाई पटकपटक भन्ने गरे पनि समस्याको समाधान कतैबाट ननिस्किएको उनले बताए । कारितास नेपालको सहयोगमा उनले ६ महिनाको अटोमेकानिकको तालिम लिएका छन् । सीपअनुसार जागिर खोज्दा नागरिकता नै आवश्यक परेको अनुभव सुनाए ।

प्रकाशित : श्रावण २९, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?