१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

घाम डुबेपछि ‘मोबाइल अफ’

दीपेन्द्र शाक्य

संखुवासभा — नुमका दुर्गाबहादुर पराजुली दिनभर मोबाइल प्रयोग गर्छन् । घाम लागुन्जेल उनको मोबाइलमा ‘टावर’ आउँछ । जब साँझ पर्छ मोबाइलले काम गर्न छाड्छ ।

घाम डुबेपछि ‘मोबाइल अफ’

फेरि मोबाइल प्रयोग गर्न परे उनले भोलिपल्ट घाम पर्खनुपर्छ । ‘घाम अस्ताएसँगै हाम्रो क्षेत्रमा वितरण गरिएको नेपाल टेलिकमका स्काइ र नमस्तेका टावर जान्छ,’ उनले भने, ‘प्राय: हुस्सु बढी लाग्ने र घाम नलाग्ने भएकाले टेलिकमले राखेको सोलार पर्याप्त चार्ज नहुँदा समस्या छ ।’


दुर्गम गाउँहरूमा रहेको टेलिकमको बीटीएस टावर अझै सोलार पावरको भरमा रहेको छ । केन्द्रीय प्रसारण लाइनको बिजुली विस्तार नभएका कारण दुर्गममा रहेका सात वटा वीटीएसका टावर घाम अस्ताए सँगै बन्द हुने गरेको छ ।


बिजुली नपुगेका स्थानमा टेलिकमका मोबाइल प्रयोग गर्ने ग्राहकहरूले मौसमको भरमा सेवा पाउँछन् । दिनभर घाम लागेन भने सोलार चार्ज नभएका कारण सेवाग्राही मोबाइल सेवा सञ्चालनमा आउँदैन । बेलुकी घाम अस्ताएपछि बिहान ८ बजेअघि दुर्गमका बासिन्दा सञ्चारबाट विच्छेद हुने गरेको पराजुलीले बताए ।


चीनको सीमावर्ती किमाथाङ्का नाकामा रहेको टावरबाट पनि २४ घण्टा सेवा प्रवाह हुँदैन । स्थानीय बासिन्दा छिमेकी देश चिनको सिमकार्ड प्रयोग गर्न बाध्य छन् । सोलारका भरमा रहेका वीटीएस टावरहरू रहेको स्थानमा व्याट्री पुरानो भएकाले पनि समस्या भएको टेलिकम खाँदबारी शाखाका प्रमुख राधारमण भट्टराईले जनाए । ‘ब्याट्री पुरानो भएको छ,’ उनले भने, ‘लामो समयसम्म काम गर्दैन, परिवर्तनका लागि माथिल्लो निकायमा पत्राचार गरेको छु । नयाँ ब्याट्री राखेपछि यो समस्या केही हदसम्म हट्छ ।’


नयाँ ब्याट्री राखे पनि घामको भरमा मात्र २४ सैं घण्टा सेवा दिन गाह्रो हुने भट्टराईले बताए । हिमाली क्षेत्रमा खासै घाम नलाग्ने भएकाले समस्या भएको उल्लेख गर्दै उनले बिजुली नपुगेसम्म यस्तै समस्या भइरहने बताए । खाँदबारी शाखाले भोजपुरसहित १७ स्थानबाट सञ्चार सेवा प्रवाह गरिएको छ ।


जिल्लाका छ स्थानका बीटीएस टावर सोलरबाटमात्र सञ्चालन हुँदै आएका छन् । चिचिला गाउँपालिकाको छ्याङुटी, मकालु गाउँपालिकाको भाटभोटेनी, भोटखोला गाउँपालिकाको बाक्ले, भोटखोलाको माक्पालुङ, सिलिचुङ गाउँपालिकाको रमितेमा सोलारपावरका भरमा वीटीएस प्रणालीमार्फत मोबाइल सेवा सञ्चालन भएको छ ।


भोटखोलाको किमाथाङामा रहेको टावर प्रत्यक्ष भिसेट (स्यार्टलाइट) मार्फत सञ्चालनमा रहेको शाखाका प्रमुख भट्टराईले जानकारी दिए । संखुवासभाबाट नै भोजपुरको साल्पासिलिछो गाउँपालिकाको कुलुङमा पनि सोलारकै भरमा वीटीयसबाट सेवा प्रदान गरिरहेको छ । शाखाले जीएसएम ८, सीडीएमए ५ र ल्याडलाइन सेवा ५ स्थानबाट सञ्चालन गरिरहेको उनले बताए ।


खाँदबारीबाट भोजपुरको षडानन्द नगरपालिकाको दिङ्लामा ल्याडलाइन वितरण गरिएको छ । षडानन्दको झ्याउँपोखरी र साल्पासिलिछोको कुलुङ्मा जीएसएम सेवा सञ्चालनमा छ । शाखाले १ हजार ९ सय २ बाट ल्याडलाइन फोन वितरण गरेको छ । सबैभन्दा धेरै खाँदबारीमा १ हजार १ सय ८० उपभोक्ता छन् । ल्याडलाइन वितरण भएको स्थानमा टेलिकमले एडीएसएल सेवा समेत वितरण गरेको उनले बताए । खाँदबारीले भोजपुरको दिङ्लामा पनि ल्याडलाइन वितरण गरेको छ ।

प्रकाशित : श्रावण ३०, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?