कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दुर्गमको तरकारी बारीमै

डिल्लीराम खतिवडा

रौतामाई (उदयपुर) — दुर्गम क्षेत्रका किसानले उत्पादन गरेको अर्गानिक तरकारी र। फलफूल बजारसम्म पुर्‍याउन नसक्दा बारीमै कुहिन थालेको छ । सडक सञ्जालमा बजारमा जोडिन नसकेकाले समस्या भएको हो ।

दुर्गमको तरकारी बारीमै

दुर्गम पहाड र लेकाली क्षेत्रका किसानले बाह्रै महिना हरियो साग, धनिया, मुला, काउली, बन्दा, टमाटार, आलु, काक्रालगायत तरकारी र फलफूल उत्पादन गर्छन् । सुन्तला, कागती, नास्पाती, अम्बा र भुइँस्याउ (ग्राउन्ड एप्पल) जस्ता फलफूल पनि किसानले प्रशस्तै खेती गरेका छन् । तर बजार पुर्‍याउन नसक्दा ती तरकारी र फलफूल बारीमै कुहिने गरेको किसानको गुनासो ।


बजारसम्म पुर्‍याउन नसक्दा फलफूल र तरकारी भाईभैंसीको कुँडो र मदिरा बनाउन प्रयोग हुने गरेको छ । उदयपुरका ४ नगरपालिका र ४ गाउँपालिका समेत ८ वाटै स्थानीय तहको पहाडी क्षेत्रमा प्रशस्त तरकारी र फलफूल खेती हुनेछ ।


८ मध्ये रौतामाई र लिम्चुवुङ्गा गाउँपालिकको पहाडी क्षेत्रमा सवैभन्दा बढी किसान तरकारी खेती गर्ने गरेका छन् । दुर्गम पहाडी क्षेत्रको पनि रौतामाईको अधिकांश क्षेत्रमा वर्षांैयता किसान तरकारी खेती गर्दै आएका थिए ।


तर त्यसरी गरिएको खेती आफैंलाई प्रयोग गर्न र पाहुनालाई कोसेलीका रूपमा प्रयोग गरिन्थ्यो । अहिले कृषिमा आधुनिकीकरणसँगै किसानले व्यावसायिक रूपमा खेती गर्न सुरु गरेका छन् । ५ वर्षयता रौतामाईमाको पहाडी क्षेत्रमा किसानले व्यावसायिक तरकारी खेती सुरु गरेको कषि अभियान्ता गंगा रानामगरले बताए । ‘


किसानलाई खेतीमा अभिप्रेरित गर्न समय लाग्यो,’ गंगाले भने, ‘अहिले सयांै किसान व्यावसायिक आधुनिक खेतीका लागि तयारी भए, खेती पनि सुरु गरे ।’ अहिले किसानले अर्गानिक उत्पादन गरिरहेका छन् तर बजार पुर्‍याउन नसक्दा समस्या भएको उनले बताए ।


रौतामाईको किसानको उत्पादन गर्ने मुख्य बजार भनेको सदरमुकाम गाईघाट बजार नै हो । तर ४४ किलोमिटर दूरीको बजार आवतजावत गर्ने सडक नै स्तरीय छैन । स्तरीय नभए पनि सवारी साधन सञ्चालन भइरहेका छन् । सवारी साधन चलेपनि किसानको उत्पादन बजार पुर्‍याउन महँगो भाडा तिर्नुपर्दा झनै समस्या भएको किसान प्रेम रानामगरले बताए ।


‘एक क्रेट टमाटार गाईघाट पुर्‍याउन ३ सय रुपैयाँँसम्म भाडा तिर्नुपर्ने हुन्छ,’ किसान रानामगरले भने, ‘२० किलोग्रामको क्रेटको ३ सय तिर्नुपर्दा प्रतिकिलो १५ रुपैयाँँ भाडा मात्रै लाग्छ ।’ न्यूनतमा २० रुपैयाँँ प्रतिकिलोको गोलभेडा १५ रुपैयाँँ भाडा तिर्नुपर्दा ३५ रुपैयाँ किलो लागत पर्ने उनले वताए ।


‘आफनै जिल्लाको ग्रामीण क्षेत्रबाट ल्याउँदा ३५ रुपैयाँ किलो पर्ने गोलभेडा उपभोक्ता किन्न चाहदैनन्,’ चार वर्षयता व्यावसायिक खेतीमा सलग्न रौतामाई ६ नामनताका किसान तिलकबहादुर रानामगरले भने, ‘धरान, धनकुटा र इलामबाट ल्याएको गोलभेंडा गाईघाट बजारमा २५ देखि ३० रुपैयाँ किलो पाइन्छ ।’ सडक मार्ग सहज हुँदा धरान, धनकुटा र इलामबाट ल्याएको तकारी सस्तो भएकाले स्थानीय उत्पादनले बजार नपाउने उनले बताए ।


सडक संजाल विस्तार हुन नसक्ने र भएको सडक समेत गुणस्तरीय किसानमैत्री हुन नसक्दा समस्या भएको किसानले गुनासो गरेका छन् । विभिन्न संघसंस्थाले बिक्री प्रवद्र्धन गरिदिने आश्वासनसँगै किसानलाई खेती गर्ने प्रविधिको जानकारी गराएका थिए । तर ती संघसंस्थालेपछि वास्तै नगरेपछि दुर्गमका किसानले उत्पादन गरेको तरकारी र फलफूलले बजार पाउन समस्या भएको हो । त्यसैले उत्पादित ग्राउन्ड एप्पल रक्सी बनाउने र गाईवस्तुको खोले कुडोमा प्रयोग गर्ने गरेको किसान बताउँछन् ।

‘किसानलाई ग्राउन्ड एप्पल खेती गरे वार्षिक लाखौं आम्दानी गर्न सकिन्छ भनियो,’ नामेटारका किसान एकबहादुर मगरले भने, ‘सामान्य खेती गरे पनि वर्षमा लाखौं कमाइ हुन्छ भनियो ।’ तर त्यसको बजार र महत्त्व बारे खासै जानकारी नहँुदा अहिले गाईभैंसीको खोले र रक्सी बनाउन प्रयोग भइरहेको उनले बताए । नामेटारमा तरकारी उत्पादन भइरहँदा रौतामाई कै १ क नम्बर वडाको माझखर्क, भालेवास, यारी खोला, रतने, ठाँडा खोलाका किसानले ग्राउन्ड एप्पलको खेती गरिरहेका छन् । न्यूनतम वार्षक ५ क्यइटेलदेखि ५० क्युइटेलसम्म यहाँका किसानले ग्राउन्ड एप्पल उत्पादन
गरिरहेका छन् ।


‘गाउँभरि नै ग्राउन्ड एप्पलको उत्पादन भइरहेको छ,’ बजारीकरणको प्रयास गरिरहेका अगुवा किसान तिलकले भने, ‘तर बजार छैन, यातायताको साधन नहुँदा र उत्पादित ग्राउन्ड एप्पल बजार नै नभएकाले समस्या भएको छ ।’ त्यसैले किसानले रक्सी बनाउन प्रयोग गरिरहेको उनले बताए ।


धरान, विराटनगर, इटहरी लगायतका पूर्वका बजारमा यसको माग भए पनि दुर्गमा उत्पादित ग्राउन्ड एप्पलले बजार नपाएको किसानले गुनासो गरेका छन् । ‘धरान, विराटनगर, वीरगन्ज र काठमाडांैमा माग भए पनि गाउँमा उत्पादन गरिएको ग्राउन्ड एप्पल त्यहाँ पुर्‍याउन सकिएन,’ तिलकले भने ।


औषधीय गुण भएको ग्राउन्ड एप्पल, मानवीय स्वास्थ्यलाई ख्याल गरी उत्पादन गरिएको अर्गानिक तरकारी र फलफूल बजार पुर्‍याउन नसक्दा समस्या भएको रौतामाई गाउँपालिका प्रमुख गजेन्द्रबहादुर खड्काले बताए । ‘किसानलाई बजारसम्म उत्पादित सहजै पुर्‍याउन गाउँपालिकाले योजना बनाउँदै छ,’ प्रमुख खडकाले भने, ‘रौतामाई गाउँपालिका क्षेत्रका किसानले उत्पादन गरेको वस्तुको बजारीकरणका लागि पहल भइरहेको छ ।’

प्रकाशित : श्रावण ३०, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?