२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

पहिरोले चिरैचिरा

१४ परिवार विस्थापित
रमेशचन्द्र अधिकारी

धनकुटा — अविरल वर्षा भएसँगै जिल्लाका कतिपय बस्ती पहिरोको जोखिममा परेका छन् । साँगुरीगढी गाउँपालिका ६ मझुवा र मुक्तेन गाउँ बढी जोखिममा छन् ।

पहिरोले चिरैचिरा

५ वर्षअघि ती गाउँछेवै गएको पहिरोले चिरा पारेको जमिन बग्न थालेपछि बस्ती प्रभावित बनेको स्थानीयले बताए । मझुवा र मुक्तेन गाउँका १ सय २६ घर पहिरोबाट जोखिममा छन् । दुबै गाउँका १४ परिवार विस्थापित भइसकेको साँगुरीगढी गाउँपालिकाका प्रमुख कुमारजङ्ग याखाले बताए ।


मझुवाको साचा खोलामा आएको बाढीसँगै आसपासका बस्ती जोखिममा परेका हुन् । पहिरोले स्थानीय खड्ग मगर, अमृत मगर, खिला मगर र उत्तम मगरको घर पहिरोले पुरिएको छ । विस्थापित भएका छन् ।


स्थानीय अमृत मगरको १० मध्ये ७ रोपनी खोलाले बगाइसकेको छ । ‘घरबार नै पहिरोले गुम्यो’, उनले भने, ‘सुरक्षित ठाउ‘ खोज्दै आफन्तको शरणमा बस्दै आएको छु ।’ मझुवा बस्ती आसपास कमेरे माटो भएकाले कमजोर धरातल रहेको स्थानीयको भनाइ छ । साचा खोलाको पहिरो वर्षेनी फैलिँदै गएपछि क्रमश: बस्तीसम्म आइपुगेको स्थानीय यमबहादुर मगरले जनाए ।


मुझवासँगै जोडिएको मुक्तेन गाउँ पनि उच्च जोखिममा छ । कतिपय परिवारले आफ्नो थातथलो छोडिसकेको साँगुरीगढी गाउँपालिका ६ का वडाध्यक्ष दिपक मगरले बताए ।


गाउँमा हिउँद र वर्षा दुवै याममा जोखिम निम्तिने गरेको छ । हिउँदमा सुख्खा पहिरो र वर्षात्मा बाढीसँगै लेदो माटो बग्नेक्रम गर्दा स्थानीयवासीले कुनै बखत पहिरोमा परिने त्रास रहेका गुनासो पोखे । विगतमा केही मिनेटमा छिचोल्न सकिने उक्त स्थान हाल पहिरो फैलिदै जाँदा झन्डै एक घण्टा लाग्ने स्थानीयले अमृत मगरले बताए । गाउँका धेरै स्थानमा पहिरो भए पनि दुईस् थानमा ठूलो भूभाग बगिसकेको छ ।


साचा खोलादेखि झन्डै एक सय मिटर दूरीमा रहेको भेडेटार—छ नम्बर बुधबारे सडक समेत जोखिममा पुगिसकेको छ । बस्तीमा सडक सञ्जाल जोड्न नसक्दा स्थानीयले भारी बोकेर सामान ढुवानी गर्न बाध्य छन् । यसैगरी मुक्तेनमा प्रावि तहसम्म मात्र पढाइ हुने गर्दछ । अन्य तहको अध्ययनका लागि बालबालिकाले पहिरो गएको स्थानमा जोखिम मोलेर अन्यत्र पठनपाठन गर्न जानुपर्ने बाध्यता छ ।


यसैगरी वर्षाका कारण अरुण नदीमा पानीको सतह बढेपछि आसपासका बस्ती जोखिममा छन् । धनकुटाको लेगुवा र भोजपुरको जरायोटारका नदी आसपासका बस्ती उक्त जोखिममा छन् । नदीकिनारमा रहेका पसल तथा होटल यसबाट प्रभावित रहेको स्थानीयले बताए । वर्षाले साँगुरीगढी गाउँपालिकास्थित गर्जुवा खोला आसपासका बस्तीसमेत जोखिममा छन् ।

दुई वर्ष अघिदेखि नै प्रशासनले त्यहाँ रहेका बस्ती स्थानान्तरण गरिने भनिए पनि हालसम्म कार्यान्वयनमा आएको छैन । यस्तै वर्षाका समयमा चिसाङ र सति खोलामा आएको बाढीले ६ नम्बर बुधबारे बजार पनि जोखिममा पर्दै आएको छ । बजारको माथिल्लो भाग भएर बग्ने खोलाको कारण बजार क्षेत्र जोखिमपूर्ण बनेको बजार व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले जनाए । खोलामा स–साना होमपाइप मात्र रहेकाले बाढी आउनासाथ बजार क्षेत्रमा असर पुर्‍याउने स्थानीयको भनाई छ ।


४ घर उच्च जोखिममा
संखुवासभा– चैनपुर नगरपालिका २ चित्लाङमा वर्षाका कारण ४ घर परिवार पहिरोको उच्च जोखिममा परेको छ । धन्सार हुँदै चित्लाङजाने मोटरबाटो पहिरोले तानेको छ । जसका कारण घनश्याम गौतम, हरिनारायण गौतमको घर उच्च जोखिममा छ । पहिरोले हेमलाल गौतम र दिनेश गौतमको घर पनि क्षति पुर्‍याएको भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक माधवप्रसाद गौतमले जानकारी दिए ।

चैनपुरमा रहेको बाल मन्दिरको वाल समेत पहिरोले तानेको छ । सडक आवत जावतमा समस्या भएको छ । सडकमा आवतजावत गर्न स्थानीय र विद्यार्थीलाई समस्या भएको बाल मन्दिरका शिक्षिका ववि श्रेष्ठले बताईन् ।

प्रकाशित : श्रावण ३०, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?