कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

विदेशबाट फर्केपछि खेतीमा

कान्तिपुर संवाददाता

सुनसरी — पाँच वर्ष कोरियामा काम गरेर फर्केका तीन र ६ वर्ष अफगानिस्तानमा काम गरेर फर्केका एक युवा मिलेर बराहक्षेत्र नगरपालिका ९ ढोलबजियामा तरकारी खेती सुरु गरेका छन् । चार जनाले एक बिघा जग्गामा व्यावसायिक बेमौसमी तरकारी खेतीका लागि पहिलो चरणमा ७ लाख लगानी गरेका छन् ।

विदेशबाट फर्केपछि खेतीमा

ढोलबजिया बस्ने अमिर निरौला, रघुविर चंद्रबंशी, भरत खड्का र छविलाल चौधरी मिलेर तरकारी खेतीमा लागेका हुन् । कोरिया र अफगानबाट फर्केको दुई वर्षसम्म गाउँमा जीविकाका लागि के गर्ने भनेर अलमलिए पनि गत गत चैतदेखि अर्गानिक तरकारी खेती सुरु गरेको अमिर निरौलाले बताए ।


विदेशमा देखेको, भोगेको र सिकेको सीपलाई प्रयोग गरेर उन्नत प्रविधिमा आधारित तरकारी खेतीमा लगानी गरेको उनले बताए । कतिपय प्रविधिहरू उनीहरूले युटुव र गुगलमा खोजेर पनि प्रयोगमा ल्याएका छन् । ढोलबजिया क्षेत्रलाई आलु खेतीका लागि उपयुक्त माटो भएको मानिन्छ । यसै महिनादेखि उनीहरूले उन्नत तरिका अपनाएर आलु खेती पनि सुरु गर्ने भएका छन् । चार जनामध्ये निरौला वाणिज्य शास्त्र, चन्द्रबंशी शिक्षा संकाय, खड्का इन्जिनियरिङ र चौधरी प्रमाणपत्र तहसम्म पढेर पनि परम्परागत खेतीमा पोख्त हुन् । सरकारी जागिर पाउने सम्भावना नभएपछि उनीहरू आर्थिक उपार्जनका लागि वैदेशिक रोजगारीमा जान बाध्य भएका थिए । बैदेशिक रोजगारीबाट फर्केर आएपछि आफूहरूले कमाएको रकमले घरखेत जोडे । बाँकी रहेको रकम व्यावसायिक तरकारी खेतीमा लगानी गरेको निरौलाले बताए ।


निरौलाले भने, ‘वैदेशिक रोजगारीमा गएर फर्किएका अधिकांश युवाहरू उपत्यका, पोखरा, धरान, इटहरी दमकजस्ता सहरी क्षेत्रमा घडेरी किन्ने र घर बनाउनेमा खर्च गर्छन् तर हामीले गाउँमै चित्त बुझाएका छौं । कमाएको जति घडेरी र घर बनाउँदा सकिने भएकाले गाउँ नै रोजेका हौं, जहाँ बढी खर्च हँुदैन ।’


तरकारी खेतीका लागि व्यावसायिक पार्टनर छविलाल चौधरीको १ बिघा जग्गामा आधुनिक टनेल, ग्रिनेट, मल्चिङ प्रविधि प्रयोग गरेर बेमौसमी तरकारी खेती सुरु गरेका छन् । चौधरीले भने, ‘तरकारी खेतीमा हामीले टमाटर, रायो साग, खोर्सानी, वैगुन, काउली लगाएका छौं । मालिक पनि आफंै र कामदार पनि आफैं भएका छौं ।’ उनीहरू चारै जना र उनीहरूका परिवारका सदस्यहरू दैनिक १२ घण्टा तरकारी खेतीमा व्यस्त हुन्छन् ।


रघुविरले भने, ‘छ महिना अगाडि तरकारी खेतीका लागि टनेल बनाउँदा घर बनाएर पनि तरकारी खेती हुन्छ र ? भनेर धेरैले प्रश्न गरेका थिए । कसैले युटुव र गुगलमा हेरेर पनि तरकारी खेती गर्न सकिन्छ र भनेर उडाएका थिए । अहिले बराह क्षेत्रमा उन्नत तरिका अपनाएर तरकारी खेती गरेको देख्ने छिमेकीहरू ‘ए यस्तो पो रहेछ व्यावसायिक तरकारी खेती गर्ने तरिका भनेर सिक्न चाहन्छन् ।’


उनीहरूले उत्पादन गरेका तरकारीहरू स्थानीय बजार प्रकाशपुर, राजावास, चक्रघट्टी, चतरा र बक्लौरीमा खपत हुने गरेको छ । भारतमा उत्पादन भएका तरकारी महंँगो मूल्यमा किनिरहेका स्थानीय उपभोक्ताका लागि चार युवाले गाउँमै उत्पादन गरेको तरकारीले राहत दिएको छ ।


चौधरीले भने, ‘अर्काको भूमिमा ओटी (ओभर टाइम) को लोभमा १८ घण्टासम्म काम गरिएकाले आफ्नै खेतबारी काम गर्दा लाज मान्ने परम्पराको अन्त्य गर्न पनि जरुरी रहेको छ ।’ विदेशमा जस्तो पनि काम गर्ने तर स्वदेशको खेतबारीमा काम नगरेर नेपाली गरिब भएको भरत खड्काले बताए । उनले भने, ‘हामी हाम्रो देशलाई कृषिप्रधान देश भन्छौं, खै त तरकारी खेतीमा केही गरेर देखाउँछौं भन्दा नगरपालिका कृषि शाखाबाट कुनै प्रविधिक र कृषि औजार, उपकरण उपलव्ध गराउन मान्दैनन् ।’


उनीहरूका अनुसार नेपालमा सहज रूपमा जीएसएम प्लास्टिक टनेल, ग्रिनेट, मल्चिङ नपाउने भएकाले भारतीय बजारबाट किनेर ल्याउनु परेको छ । कृषकलाई भन्सार छुट दिने भने पनि आफूहरूले पूर्ण भन्सार कर तिर्नु परेको चौधरीले बताए ।

प्रकाशित : श्रावण ३०, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?