१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

सतुवा किलोको १३ हजार

आनन्द गौतम

ताप्लेजुङ — फुङलिङ नगरपालिका ५ का सबिन बानियाँले गाउमै सतुवा प्रतिकिलो १३ हजारसम्ममा खरिद गरे । यो अघिल्लो वर्षको तुलनामा ४ हजार रुपैयाँले कम हो । बिक्री गरिनसकेका उनले कति मूल्यमा बेच्छन् टुंगो छैन ।

सतुवा किलोको १३ हजार

पाथीभरा याङवरक गाउँपालिका २ थेचम्बुकी हिमकला पौडेलले पनि सतुवा खरिद गरिरहेकी छन् । खरिद गरेको मूल्यभन्दा निर्यात गर्ने मूल्य कम भएकाले गोदाम गरेकी उनी मूल्य बढ्नासाथ झापा विर्तामोड लाने तयारीमा छिन् । उनका अनुसार अहिलेको मूल्य ११ हजार रुपैयाँ मात्रै छ । गत वर्ष भने उनले किसानलाई नै १७ हजार रुपैयाँ दिएकी थिइन् ।

सविन र हिमकलाले संकलन गरेको सतुवाको बजार भनेको चीन हो । यो कहिले ताप्लेजुङको ओलाङचुङगोला, कहिले संखुवासभाको किमाथांका त कहिले झापाबाट काठमाडौं हुँदै चिनियाँ बजार पुग्छ । पछिल्ला वर्ष यसको सामान्य खेती पनि हुन थालेको छ । किसानले बिरुवा लगाउन थालेका छन् । अहिलेसम्मको संकलन भने एक तिहाइभन्दा बढी जंगलबाटै हुन्छ । संकलकले वन कार्यालयवाट संकलन पुर्जी लिएर जंगलमा गएर संकलन गर्छन् ।

यति मूल्य पर्ने सतुवा केमा प्रयोग गरिन्छ, यकिन कुरा यहाँका कसैलाई पत्तो छैन । उत्पादन गर्ने किसान, संकलन गर्ने व्यापारी र संकलन अनुमति दिने वन कार्यालयका अधिकारी बेखबर छन् । जिल्ला वन अधिकृत विष्णुलाल घिमिरे चीनमा ‘स्वाइन फ्लु’ को औषधि बनाउन प्रयोग गरिन्छ भनेर आफूले पढेको तर यकिन विवरण नभएको बताउँछन् ।

जिल्ला वन कार्यालय तेह्रथुमले प्रकाशन गरेको जानकारी पुस्तिकामा आयुर्वेदिक प्रणालीअनुसार एसियाली देशहरूमा गानो र जराको भाग पेटका जुका मार्न प्रयोग हुने उल्लेख छ ।

‘उत्पादन तथा संकलन गर्ने किसान, जडीबुटीसँग जोडिएका स्थानीयवासी र व्यापारीले बिक्री हुने देशसम्म पहुँच राख्न सक्दैनन्,’ अलैंची किसान सञ्जालका अध्यक्ष शिवकुमार गुरुङले भने, ‘केन्द्रकाहरू अध्ययनका लागि भनेर जान्छन्, त्यसको सन्देश तलसम्म आउँदैन ।’ अलैंची, चिराइतोमा पनि यस्तै समस्या रहेको गुरुङ बताउँछन् । सतुवा चीन हुँदै अमेरिकासम्म गएको सुनेको तर आधिकारिक जानकारी नभएको व्यापारी बानियाँ बताउँछन् ।

१८ सयदेखि ३ हजार मिटर उचाइमा पाइने सतुवा गत आर्थिक वर्षमा ४ हजार ४ सय २५ किलो संकलन भएको वन कार्यालयको तथ्यांकमा उल्लेख छ । त्योमध्ये असार मसान्तसम्म २२ सय किलोको छुटपुर्जी दिइएको छ । २ सय ५० किलोको दिन बाँकी छ ।

प्रतिकिलो २० रुपैयाँले संकलन हुने राजस्व ८८ हजार ५ सय रुपैयाँ जम्मा भएको छ । ताप्लेजुङलगायत यस्तै हावापानी भएका पहाडी जिल्लामा उत्पादन हुन्छ । विश्व संरक्षण संघ (आइयुसिएन) ले जोखिम अवस्थामा परेको प्रजातिको सूचीमा राखेको यो नेपालसहित एसियाका भारत, भुटान, म्यानमार, श्रीलंका, चीन, लाओस, थाइल्यान्डमा पाइने साइटिस सूचीमा उल्लेख छ ।

आधा मिटर अग्लो हुने यसको जमिनमुनि फल्ने गानो बिक्री हुँदै आएको छ । चारमध्ये एक भाग छोडेर तीन भाग संकलन गर्नुपर्ने भए पनि संकलकले सबै एकैपटक उखेल्ने गरेका छन् ।

‘यो वर्ष आएपछि अर्को वर्ष मूल्य आउँछ, आउँदैन पत्तै हुँदैन, त्यसैले भेटेजति संकलन गर्छन्,’ फुरुम्बुका इन्द्रनारायण भट्टराईले भने, ‘थाहा हुँदो हो त किसानले दिगो खेती गर्थे ।’

प्रकाशित : श्रावण ३१, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?