कागजात अझै छालाको फाइलमा

कान्तिपुर संवाददाता

धनकुटा — प्रविधिले फड्को मारिसके पनि सरकारी कार्यालयको कागजपत्र जनावरको छालाले बनेको फाइलमा राखिएको सुन्दा अनौठो लाग्न सक्छ । धनकुटाको मालपोत कार्यालयको तामेली फाँटमा यसैगरी फाइलमा कागजात राखिएको छ ।

कागजात अझै छालाको फाइलमा

दुवैतर्फ जनावरको छालाले बनाइएको फाइलमा कागजपत्र राखिएका छन् । रजिस्ट्रेसनसम्बन्धी कागजपत्र सुरक्षाको दृष्टिले यसरी राखिएको मालपोत अधिकृत जितमान जिमीले बताए । शताब्दी पुराना कागजपत्र पनि राखिएका छन् ।

केही समययता भने कागजको बाक्लो फाइलमा कागजपत्र राखिंदै आएको जिमीले बताए । फाँटमा एक दशकदेखि कार्यरत रणबहादुर आलेले कुन जनावरको छाला हो भन्ने जानकारी नभएको बताए । ४५ वर्षदेखि लेखनदासको रुपमा कार्यरत मानप्रकाश खड्काले भने ‘कालो मृग’ को छाला रहेको बताए ।

विसं १९९७ को फायल देखाउँदै फाँटवाला आलेले भने, ‘कतिपय छालाका फाइल मुसाले काटेर क्षति पुर्‍याएको छ ।’ १९५० देखि रजिस्ट्रेसन गरिएको जग्गाका कागजपत्र खोज्न सेवाग्राही आउने गरेको जिमीले बताए । ‘पुराना कागजपत्रको सुरक्षा छालाको फाइलले गरेको छ’, उनले भने, ‘अझै पनि कम्प्युटरमा व्यवस्थित राख्न सकिएको छैन ।’

कागजपत्र कम्प्युटर प्रणालीमा राख्न कठिनाइ भएको सूचना अधिकारी रामबहादुर कार्कीले बताए । प्रत्येक वर्ष कम्तीमा ५० नयाँ फाइल थपिन्छ । तर स्क्यानिङ गरेर कम्प्युटरमा व्यवस्थित गर्न नसकिएको उनले जनाए । ‘जनशक्ति अभावमा कम्प्युटर प्रणालीमा राख्न सकिएको छैन,’ उनले भने, ‘वर्षौं पुराना फाइल भण्डारण हुँदा कतिपय कोठा भरिएका छन् ।’

प्रकाशित : श्रावण ३१, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?