गुणस्तरहीन पानी उद्योग पुन:सञ्चालन गराउने तयारी
मोरङ — क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले बन्द गरेको पिउने पानी उद्योगलाई मापदण्डविपरीत पुन: सञ्चालन गर्न दिने तयारी गरेको छ ।
उद्योग पुन:सञ्चालन गर्न दिनका लागि पानीको नमुना संकलन गरेर परीक्षण थालिएको छ । परीक्षणपछि पानीमा गुणस्तर कायम भए उत्पादन गर्न दिने तयारी गरेको हो ।
उक्त कार्यालयले विराटनगरका कोलीफर्म पाइएका ११ र पानीमा पिएचको मात्रा कम भएको ३ गरी १४ उद्योगलाई उत्पादन, बिक्री वितरणमा रोक लगाएको थियो । १५ दिनभित्र सबै मापदण्ड पूरा गर्न निर्देशन दिएको थियो ।
कार्यालय प्रमुख प्रमोद कोइरालाले प्रशोधन, उत्पादन, बिक्री वितरण बन्द गरिएको पानी उद्योगलाई पुन: सञ्चालन गर्न दिनेमा केही दुविधा रहेको बताए । ‘उत्पादन बन्द गरिएका १४ उद्योगमध्ये ७ ले सबै मापदण्ड पूरा गरेको भन्दै पुन: अनुगमन गरिदिन निवेदन दिएका छन्,’ उनले भने, ‘अनुगमन गरेर पानीको नमुना संकलन गरी परीक्षण गर्ने काम भइरहेको छ ।’
कोइरालाले उत्पादन बन्द उद्योगलाई मापदण्ड पूरा गरेपछि सञ्चालन गर्न दिने कि पानीको गुणस्तर सुधार भएपछि दिने भन्नेबारे सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासनलगायत सरोकारबालासँग छलफल गर्ने बताए । यसबारे विभागबाट पनि आवश्यक निर्देशन लिएर मात्रै अघि बढ्ने उनको भनाइ छ ।
बन्द उद्योगका सञ्चालकले भने गुणस्तरलाई लिएर प्रशोधन, उत्पादन, बिक्री वितरणमा रोक लगाइएको र अब पानीको गुणस्तर सुधार भइसकेपछि उद्योग सञ्चालन गर्न दिनुपर्ने माग गरिरहेका छन् । पानी उत्पादन महासंघ प्रदेश १ का अध्यक्ष पुण्यप्रसाद भट्टराईले अनुगमनका क्रममा पानीमा गुणस्तर नभएको पाइएको र त्यो सुधार गरेपछि तत्काललाई सञ्चालन गर्न दिनुपर्ने माग गरे ।
‘सबै उद्योगले असोजभित्र पिउने पानी उत्पादनसम्बन्धी निर्देशिका २०७४ अनुसार मापदण्ड पूरा गरेर अनुज्ञापत्र नवीकरण गराउनै पर्छ,’ उनले भने, ‘अनुज्ञापत्र नवीकरण गराउन नसक्ने उद्योग त्यसै अवैध हुने भएकाले तत्काललाई उद्योग सञ्चालन अनुमति दिनुपर्छ ।’ ‘पिउने पानी उत्पादनसम्बन्धी निर्देशिका २०७४ अनुसारको मापदण्ड पूरा गर्न प्रदेशभरका उद्योगीसँग अन्तरक्रिया छलफल गरेर चैत २२ गतेसम्मको ६ महिनाको म्याद दिएका थियौं,’ प्रमुख कोइरालाले भने, ‘६ महिनामा पनि मापदण्ड पूरा नगर्नेलाई पुन: समय दिनु उचित जस्तो पनि लाग्दैन तर उद्योगमा उद्योगीले लगानी गरेकाले समस्या छ ।’
प्रकाशित : भाद्र १, २०७५ ०८:५६