पहिरोले बस्ती जोखिममा

आनन्द गौतम

ताप्लेजुङ — मंगलबार रातिको वर्षापछि झरेको पहिरोका कारण फक्तालुङ गाउँपालिका ४ इखावुका विभिन्न स्थानमा चिरा परेको छ । साविकका १ र ३ नम्बर वडाका २२ परिवार विस्थापित भएका छन् ।

ताप्लेजुङको फक्तालुङ गाउँपालिका ४ इखावुमा मंगलबार रातिको पहिरोले पुर्‍याएको क्षति । तस्बिर : आनन्द । कान्तिपुर

उनीहरूको तत्काल आफ्नो घरमा बस्ने वातावरण नभएको रानी आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेम खतिवडाले बताए ।

उनका अनुसार खानीका १५ र साप्चुङका ७ परिवार जोखिममा छन् । जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले भने १४ परिवार विस्थापित भएको बताए । तापेथोक प्रहरी चौकीबाट प्रहरी टोली पठाइएको र उनीहरूले तथ्यांक संकलन गरेको भण्डारी बताए ।

Yamaha

खतिवडाका अनुसार एकदेखि अर्को बस्ती जोड्ने र बालबालिका स्कुल जाने गाउँका ११ वटा पैदलमार्ग अवरुद्ध भएको छ । बाटो नभएका कारण बुधबार र बिहीबार विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून भएको थियो । बुधबार दिउँसो १ बजे नै विद्यालय बन्द गरेर विद्यार्थीलाई शिक्षकले टोलटोलमा पुर्‍याएको खतिवडाले बताए ।

बुधबार राति गाउँलेहरू डाँडाका घरमा सरेर एकै ठाउँ बसेका थिए । तर कम वर्षा भएकाले थप क्षति हुन नपाएको स्थानीय बताउँछन् । वर्षा भए जुनसुकै बेला पनि भाग्नुपर्ने अवस्था रहेको उनीहरूको कथन छ ।


मंगलबारकै जस्तो वर्षा भए गाउँ नै सखाप हुने अवस्था रहेको खतिवडाको भनाइ छ । उनका अनुसार रातभर दर्केर वर्षा भएको थियो । तर सदरमुकाम फुङलिङमा भने त्यो रात सामान्य वर्षा भएको तथ्यांक छ । पूर्वाञ्चल हावापानी फिल्ड कार्यालयका अनुसार १५ मिलिमिटर मात्रै वर्षा भएको थियो ।

यसअघि यो वर्ष ९० मिलिमिटरसम्म वर्षा भएको छ । इखावु सदरमुकामबाट करिब ४० किलोमिटर दूरीमा छ । खानी र साप्चुङवाको पहिरो सिरेगु डाँडाको टुटेबाट सुरु भएको छ । टुटे यी बस्तीको शीर हो । पहिरोले जमानसिंह तामाङको पूरै घर पुरेको छ । एक हल गोरु घाइते भएको तामाङले बताए । प्रत्येक टोलमा पानीको मूल फुटेको र त्यही पानीले ठाडाखोला बढाएर पहिरोको रूप लिएको जमानसिंह बताउँछन् ।

जिल्ला विपत् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी रेडक्रसको टोलीले सहयोग गर्ने बताउँछन् । सिंवामा रहेको टोलीले विस्थापितका लागि पाल, कम्बल लगायत व्यवस्था गर्ने जनाए । प्रहरीटोली बुधबारै पुगेर अवस्था अवलोकन गरेकाले त्यसैका आधारमा सहयोग गर्ने उनले बताए । यता, सिरिजंगा गाउँपालिका ७ याम्फुदिनका अविरमान राई र उनका छिमेकी गरी दुई परिवार विस्थापित भएको वडाध्यक्ष टसी लामाले बताए ।

पुगेनन् जनप्रतिनिधि
फक्तालुङ गाउँपालिकाका जनप्रतिनिधि पीडितको अवस्था बुझ्न पुगेका छैनन् । मंगलबार रातिको वर्षाले गाउँबासी विस्थापित भए र बुधबार राति सुरक्षित ठाउँ खोजेर बाहिरै बसे । गाउँपालिकाको केन्द्रमै रहेको प्रहरी चौकीको टोली विवरण संकलनका लागि बुधबारै पहिरो प्रभावित क्षेत्र पुगे ।

त्यहीं भएका गाउँपालिका अध्यक्ष सरोज एभेङ भने बिहीबार दिउँसोसम्म पनि प्रभावित क्षेत्रमा देखा परेनन् । गाउँपालिका केन्द्र र पहिरो गएको क्षेत्रको दुई घण्टा पैदल दूरीमा छ । पहिरोले गाउँबासीको बिचल्ली भएका बेला बुधबार उनी पहिरोको पारिपट्टि छिरुवाबाट ओहोरदोहोर गरिरहेका थिए । अध्यक्ष एभेङले शुक्रबार मात्रै अवलोकनमा जाने बताए ।

‘साथीहरूलाई सुरक्षित ठाउँमा बस्नुहोस् भनेको छु,’ टेलिफोनमा एभेङले भने, ‘भोलि गाउँ कार्यपालिकाको बैठक भएकाले शुक्रबार मात्रै जान लागेका हौं ।’ उनले तत्काल ठूलै क्षति गरिहाल्ने अवस्था नभएकाले वडाध्यक्षसँग त्यस्तो सल्लाह गरेको बताए । विपत् व्यवस्थापन समितिको बैठकले निर्णय गरेर राहत सामग्री प्रदान गर्ने उनले बताए ।

गर्भवती जोगाउन रातभर प्रयास
चिकित्सकले असोजमा मात्रै प्रसूति हुने समय दिइएकी फक्तालुङ गाउँपालिका ४ खानीकी फूलमाया तामाङलाई बुधबार पहिरोले त्रसित बनाएपछि व्यथाले चाप्यो । गाउँलेले स्ट्रेचरमा बोकेर सिंवा स्वास्थ्य चौकीतर्फ दौडाए । उनले एउटा बच्चालाई बाटैमा जन्मदिइन् । तैपनि व्यथाले छाडेन । सिंवा स्वास्थ्य चौकीमा पुर्‍याउँदा स्वास्थ्यकर्मीले पेटमा अर्को पनि बच्चा भएको बताए ।

जिल्ला अस्पतालसँग समन्वय गरेर स्वास्थ्यकर्मीले डेढ घण्टासम्म प्रयास गरे तर सम्भव भएन । स्वास्थ्य चौकी इञ्चार्ज प्रेमकुमारी लिम्बूका अनुसार बच्चाको हात पहिला निस्किएपछि अवस्था जटिल बन्यो र जिल्ला अस्पतालमा रेफर गरे । सदरमुकाम जोड्ने सडक हाङदेवा खोलाले बिगारेपछि यातायात अवरुद्ध भएको थियो ।

प्रमुख जिल्ला अधिकारी भण्डारीले सानिमा हाइड्रोपावरका कर्मचारीसँग समन्वय गरे र मिक्वाखोलाको थुम्वामा रहेको गाडी सिस्ने खोलासम्म पठाए । सदरमुकाम फुङलिङबाट पठाएको एम्बुलेन्सले हाङदेवा खोलाबाट जिल्ला अस्पताल ल्यायो र महिलाको ज्यान बच्यो । अस्पतालका अनुसार दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रकाशित : भाद्र १, २०७५ ०८:५७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गुणस्तरहीन पानी उद्योग पुन:सञ्चालन गराउने तयारी

कान्तिपुर संवाददाता

मोरङ — क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले बन्द गरेको पिउने पानी उद्योगलाई मापदण्डविपरीत पुन: सञ्चालन गर्न दिने तयारी गरेको छ ।

उद्योग पुन:सञ्चालन गर्न दिनका लागि पानीको नमुना संकलन गरेर परीक्षण थालिएको छ । परीक्षणपछि पानीमा गुणस्तर कायम भए उत्पादन गर्न दिने तयारी गरेको हो ।

उक्त कार्यालयले विराटनगरका कोलीफर्म पाइएका ११ र पानीमा पिएचको मात्रा कम भएको ३ गरी १४ उद्योगलाई उत्पादन, बिक्री वितरणमा रोक लगाएको थियो । १५ दिनभित्र सबै मापदण्ड पूरा गर्न निर्देशन दिएको थियो ।

कार्यालय प्रमुख प्रमोद कोइरालाले प्रशोधन, उत्पादन, बिक्री वितरण बन्द गरिएको पानी उद्योगलाई पुन: सञ्चालन गर्न दिनेमा केही दुविधा रहेको बताए । ‘उत्पादन बन्द गरिएका १४ उद्योगमध्ये ७ ले सबै मापदण्ड पूरा गरेको भन्दै पुन: अनुगमन गरिदिन निवेदन दिएका छन्,’ उनले भने, ‘अनुगमन गरेर पानीको नमुना संकलन गरी परीक्षण गर्ने काम भइरहेको छ ।’

कोइरालाले उत्पादन बन्द उद्योगलाई मापदण्ड पूरा गरेपछि सञ्चालन गर्न दिने कि पानीको गुणस्तर सुधार भएपछि दिने भन्नेबारे सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासनलगायत सरोकारबालासँग छलफल गर्ने बताए । यसबारे विभागबाट पनि आवश्यक निर्देशन लिएर मात्रै अघि बढ्ने उनको भनाइ छ ।

बन्द उद्योगका सञ्चालकले भने गुणस्तरलाई लिएर प्रशोधन, उत्पादन, बिक्री वितरणमा रोक लगाइएको र अब पानीको गुणस्तर सुधार भइसकेपछि उद्योग सञ्चालन गर्न दिनुपर्ने माग गरिरहेका छन् । पानी उत्पादन महासंघ प्रदेश १ का अध्यक्ष पुण्यप्रसाद भट्टराईले अनुगमनका क्रममा पानीमा गुणस्तर नभएको पाइएको र त्यो सुधार गरेपछि तत्काललाई सञ्चालन गर्न दिनुपर्ने माग गरे ।

‘सबै उद्योगले असोजभित्र पिउने पानी उत्पादनसम्बन्धी निर्देशिका २०७४ अनुसार मापदण्ड पूरा गरेर अनुज्ञापत्र नवीकरण गराउनै पर्छ,’ उनले भने, ‘अनुज्ञापत्र नवीकरण गराउन नसक्ने उद्योग त्यसै अवैध हुने भएकाले तत्काललाई उद्योग सञ्चालन अनुमति दिनुपर्छ ।’ ‘पिउने पानी उत्पादनसम्बन्धी निर्देशिका २०७४ अनुसारको मापदण्ड पूरा गर्न प्रदेशभरका उद्योगीसँग अन्तरक्रिया छलफल गरेर चैत २२ गतेसम्मको ६ महिनाको म्याद दिएका थियौं,’ प्रमुख कोइरालाले भने, ‘६ महिनामा पनि मापदण्ड पूरा नगर्नेलाई पुन: समय दिनु उचित जस्तो पनि लाग्दैन तर उद्योगमा उद्योगीले लगानी गरेकाले समस्या छ।’

प्रकाशित : भाद्र १, २०७५ ०८:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT