कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दैलोमै तरकारी

जितेन्द्र साह

विराटनगर — बिहानको ६ नबज्दै ढाकीभरि तरकारी बोकेर एकल महिला ७० वर्षीया बुलातीदेवी मण्डल विराटनगर प्रवेश गरी सक्छिन् । विराटनगरलाई दक्षिणपूर्वी भेकसँग जोड्ने हाटखोला चोकको मुख्य मार्ग छेउमा बसेर सागपातको मुठा बनाउँछिन्, अनि तरकारीले भरिभराउ ढाकीमाथि सजाएर घरघरै पुग्छिन् ।

दैलोमै तरकारी

मोरङको सीमावर्ती जहदा गाउँपालिका–४ की उनको डेढ दसकदेखिको दिनचर्या हो यो । मण्डलले यो पेसा आमाबाट सिकेर गर्न थालेको बताइन् ।

‘झिसमिसेमा गाउँमै किसानसँग तरकारी किन्छौं,’ उनले भनिन् । सहरसम्मको सवारी भाडा काटेर दैनिक सय/डेढ सय रुपैयाँ बच्ने गरेको मण्डलले सुनाइन् ।

‘अब बुढी भइसकेकोले ४/५ किलोभन्दा बढी बोक्न सक्दिनँ,’ उनले भनिन्, ‘पहिला योभन्दा दोब्बर बोक्थेँ ।’ रोचक के छ भने उनी उहिलेदेखि विराटनगर–७ स्थित उत्तरपूर्वी टोलको घरघरमा मात्र बेच्छिन् । यहाँको कुन घरमा कति सदस्य र कसलाई कुन तरकारी मन पर्छ भन्ने समेत उनलाई थाहा छ ।

नगद र उधारोमा बरोबरी काम गर्ने उनी निरक्षर भए पनि हिसाबकिताबमा गल्ती गर्दिनन् । ‘मुखैले सागसब्जीको दाम जोड्छु, उधारो लिनेको अनुहार र घर कहिल्यै बिर्सन्नँ,’ मण्डलले भनिन् । उनको घरमा छोरा, बुहारी र नातिनातिना पनि छन् । ‘हातखुट्टा चलुन्जेल छोराबुहारीमाथि भार बन्नु नपरोस्, चियाखाजाका लागि पनि उनीहरूसँग पैसो माग्न नपरोस्,’ उनले भनिन् ।

विराटनगरको घरका ढोकाहरूमा पुगेर तरकारी बेच्ने उनी एक्लो महिला होइनन् । स्थानीयले ढाकीबाली, ढकियावाली वा तरकारीबाली भनेर सम्बोधन गर्ने मण्डल जस्ता धेरै छन् । जहदा–४ की ५० वर्षीया राधादेवी महतोले २८ वर्षदेखि यो व्यवसाय गरिरहेकी छन् । उनी बजार, अस्पताल र सरकारी कार्यालयहरू भएको क्षेत्रको घरमा पुग्छिन् ।

महतो गाउँबाट हरेक दिन १० देखि ३० किलोसम्म तरकारी लिएर आउँछिन् । सुरक्षित थलो खोजेर थन्काउँछिन् । ढाकीमा राखेर थोरथोर बोकेर बेच्छिन् ।

आफूले तरकारी बेच्दै आएको घरबेटीसँग परिवारझैं नाता भएको उनले बताइन् । ‘कसैको घरमा जन्म वा विहे भएमा र कोही बिरामी परेमा समेत थाहा हन्छ, छोराछोरीको विहेवारी गर्दा निम्तो समेत दिन्छन्,’ महतोले भनिन् ।

तरकारीको ढाकी भुइँमा राख्ने र उठाउने बेलामा स्थानीयले गर्ने स्नेहपूर्ण सहयोगले समेत उनको भनाइलाई पुष्टि गर्छ । यो व्यवसाय गरेर चार सन्तान पालिरहेकी उनी बेइमान ग्राहकको चक्करमा नपर्ने हो भने यो राम्रै कमाइ हुने बताइन् ।

बोक्ने क्षमताअनुरूप एक जनाले सबै खर्च काटेर दिनहुँ औषत २ सयदेखि ५ सय रुपैयाँसम्म कमाउने गरेको उनले बताइन् ।

‘कतिपय ग्राहकले थोरथोर उधारो लिँदै हजारौ रुपैयाँ पुर्‍याउँछन, त्यसपछि आजभोलि भन्दै बेपत्ता हुन्छन्,’ महतोले भनिन्, ‘निकै बाँकी लिएका एक घरबेटी काठमाडौं कि अमेरिका गइहाले, कहाँ खोज्नु ?’

ढोकासम्मै तरकारी पुर्‍याउने यो महिला समूहमा मात्रै ६ जना छन् । उनीहरूले आपसी समझदारीमै तरकारी बेच्ने एरिया वा टोल निर्धारण गर्छन् । एउटाले बेच्ने टोल वा घरमा अर्कोले हतपती प्रवेश गर्दैनन् । यही समूहकी ४२ वर्षीया गीतादेवी मण्डलले सात वर्षदेखि महानगरको सरस्वती टोलमा मात्र तरकारी बेच्छिन् ।

नाबालक छोरीकी आमा उनी बिहान घरतिरको जिम्मेवारी श्रीमानले सम्हाल्ने गरेको बताइन् । अरूलाई पनि यसैगरी श्रीमान् वा घरपरिवारका अन्य सदस्यले मद्दत गरिरहेको हुनाले उनीहरूको जीवन सहज ढंगले चलिरहेको देखिन्छ ।

उनलाई पनि प्रत्येक घरबेटी र भाडामा बस्नेहरूको रुची थाहा छ । ‘अर्डरअनुरूप पनि तरकारी खोजेर ल्याइदिन्छु,’ उनले भनिन् ।

थोरै परिमाणमा बोकेर आउने हुनाले गाडी भाडाका कारणले आफूहरूको तरकारी महँगो भएको मण्डलले सहर्ष स्वीकारिन् ।

उनले भनिन्, ‘बुझ्नेले धेरै मोलमोलाई गर्दैनन् ।’ कम दाममा बेच्दा घाटा लाग्ने हुनाले बिक्री नभएको तरकारी फर्काएर घरमा पकाएर खाने गरेको मण्डलले सुनाइन् । ‘हाम्रो ग्राहकमा बढी जसो समय अभाव हुने व्यस्त कामकाजी महिलापुरुष, विद्यार्थी, व्यापारी, बिरामी, अशक्त र ताजा मन पराउने हुन्छन्,’ उनले भनिन् ।

विराटनगर बस्ने मोरङको सुनवर्षी नगरपालिका धोकडिया टोलकी किराना पसले ६० वर्षीया मायादेवी राजवंशीले हरेक बिहान यिनै ढाकी बालीबाट लट्टे, मुन्टा, लौका, घिरौला, परवल, भिन्डी, बोरी, पिँडालु, गोलभेडा र कर्कलालगायतका तरकारी छानीछानी किन्छिन् ।

यी दिदीबहिनीहरूले निकै दु:ख गरेर आफूहरूजस्ता ग्राहकसम्म तरकारी पुर्‍याइरहेको उनले बताइन् । राजवंशीले भनिन्, ‘जाडो, वर्षा र अत्यधिक गर्मीमा समेत ताजा तरकारी ल्याइदिन्छन्, उनीहरूले गरिरहेको दु:खको तुलनामा हुने नाफा त केही होइन ।’

प्रकाशित : भाद्र १, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?